पोखरामा आधुनिक पशु बधशाला निर्माण गरिने, व्यवस्थापनकाे जिम्मा निजी क्षेत्रलाई

समझदारी पत्रमा हस्ताक्षर पछि मन्त्री लेखबहादुर थापामगर र मेयर मानबहादुर जिसी। तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार।

पोखरा-सहरमा आधुनिक बधशालाको निर्माणबारे चासो बढीरहेको बेला गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिकाले आधुनिक बधशाला निर्माण प्रक्रिया अघि बढाउने भएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पोखरा महानगरपालिकाको सह–लगानीमा अत्याधुनिक बधशाला निर्माणको प्रक्रिया अघि बढाइएको हो।

चालु आर्थिक वर्ष २०७५/०७६ भित्रै प्रदेश मन्त्रालयबाट ३ करोड र महानगरबाट २ करोड बजेट विनियोजन गरी पोखरा २१ स्थित दोबिल्लामा बधशाला निर्माणको लागि समझदारी भएको छ।

प्रदेश मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर र पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भयो।

बहुवर्षीय आयोजना अन्तर्गत निर्माण हुने बधशालालाई अत्याधुनिक बनाउन आवश्यक अध्ययन भइरहेको मेयर जिसीले बताए। ‘दोबिल्लामा १ सय ४० रोपनी जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘भारतबाट सम्बन्धित क्षेत्रका विज्ञहरु डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्ने क्रममा छन्।’ केही साताभित्रै अध्ययन सकेर आएको डिपिआर अनुसार फिल्डमा काम देखिने गरी प्रक्रिया अघि बढ्ने मेयर जिसीले जानकारी दिए। दोबिल्लामा भएको सार्वजनिक जग्गामा बधशाला निर्माण हुने उनले बताए।

बधशाला निर्माण सरकारी लगानीमा भएपनि सञ्चालन निजी क्षेत्रलाई दिइने तयारी छ। महानगरको स्वामित्व हुने भएपनि निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मा दिँदा छरितो र व्यावसायिक हुने विश्वास छ।

विनियोजित बजेट समयभित्रै सञ्चालनका लागि यथाशिघ्र टेन्डर आह्वान गरिने मेयर जिसीले जानकारी दिए। बधशाला व्यवस्थापन सम्बन्धी आवश्यक कानुन नबनाइसकेको भएपनि प्रक्रियासाथै अघि बढ्ने उनले बताए।

महानगरले बनाउने कानुनमा व्यावसायिक व्यक्तिलाई बधशालाको प्रयोग अनिवार्य गराउने गरी मस्यौदा बनाउन लागिएको जनाइएको छ। खुला रुपमा हुने पशु बध नियन्त्रण गरिने भएको छ। स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि हुँदै गएपछि व्यक्तिगत प्रयोजनका लागि समेत मानिसहरुले बधशालाको अनिवार्यता महसुस गर्ने मेयर जिसीले विश्वास व्यक्त गरे। प्रदेश सरकार र पोखरा महानगरले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा पशु बधशालाको योजना सार्वजनिक भएको थियो। कार्यक्रम अनुसारकै बजेट कार्यान्वयनमा प्रदेशले महानगरसँग समन्वय गरेको मन्त्री लेखबहादुर थापामगरले जानकारी दिए।

समझदारी पत्रमा महानगर र मन्त्रालयको दायित्व बाँडफाँड गरिएको छ। बधशाला निर्माणका लागि महानगरले आवश्यक जग्गा व्यवस्था गर्ने, डिपिआर तयार गर्ने, उपकरण लगायतका पूर्वाधार खरिद गर्नेछ।

प्रदेशले महानगरले तयार गरेको डिपिआर माथि विज्ञहरुको राय लिई सहमति दिने, अनुगमन गर्ने, समस्या आएमा सुधारका लागि सुझाव दिने उल्लेख छ। निर्माण हुने बधशाला आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको मेयर जिसीले सुनाए। पहिलो चरणमा खसीबोका बधशाला निर्माण गरिने र त्यसपछि लगत्तै राँगाभैँसी बधशाला व्यवस्थापन गरिने उनले बताए।

पशुको प्रकृति अनुसारको छुटाछुट्टै बधशाला निर्माण हुने मेयर जिसीले जानकारी दिए।

 

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्