नदीले जग्गा बगर बनायो, बगरको मालपोत बुझाउँदै स्थानीय

दाङ-लमही नगरपालिका वडा नम्बर–४ बुतकौवा निवासी शान्तिप्रसाद चौधरीको एकविगाह जग्गा २०६० सालमा राप्ती नदीमा आएकाे बाढीले कटान गर्‍यो।

बाढीका कारण बस्ती डुबान र कटानमा परेपछि चौधरीको परिवार विस्तापित भयो। नदीले अनियन्त्रित रुपमा जग्गा कटान गर्न थालेपछि गाउँ नै विस्थापित हुनपर्ने अवस्था आयो।

नदीले अहिले पनि जग्गा कटान गरिहेको छ। हरेक बर्ष बुटकौवा, घुम्ना, गुज्रेहवा, सेम्रहवा, बलरामपुर गाउँ डुबान र कटानमा पर्दै आएका छन्। राप्ती नदीले डुबान र कटान गरेपछि भटेनीया, राजपुर, बुटकौवा गाउँका बासिन्दा बसाई सर्न बाध्य भए।

कटान र डुबानको समस्या समस्या अहिलेसम्म पनि उस्तै छ। ‘हाम्रो गाउँ जोगाउन कुनै पनि तटबन्धको कार्यक्रम परेन’, चौधरीले भने,‘हरेक बर्ष बाढी आउँदा तर्सिन्छौँ। हारगुहार गर्छौँ। तर, तटबन्धको योजना पर्दैन।’

बुटकौवा, घुम्ना लगायतका गाउँ नदीको उत्तरतर्फ छन्। नदीको दक्षिणतर्फ तटबन्ध भइरहँदा उत्तरतर्फको बस्ती जोगाउने तटबन्ध कार्यक्रम छैन। ‘दक्षिणतर्फ ठूलो ड्याम छ। बाढी आयो भने त्यहाँ ठोकिन्छ र हाम्रो बस्तीतर्फ सोझिन्छ’, स्थानीय अगुवा हल्लुप्रसाद चौधरीले भने,‘हामी अन्यायमा पर्‍यौँ। अब बाढी आयो भने त हाम्रो उठिबास हुने भयो।’

बुटकौवा, घुम्ना लगायत गाउँको करिब ८० विघा जमिन नदीले बगरमा परिणत गरेको छ। बगरमा परिणत भएको जग्गाको स्थानीयले अझै मालपोत बुझाउँदै आएका छन्।

जनताको तटबन्ध कार्यालय लमहीले राप्ती नदीमा तटबन्ध कार्यक्रम सञ्चालन गरेको छ। तर, नदी कटान एवं डुबानको समस्या समाधान गर्न तटबन्धको कार्यक्रम सञ्चालन गर्नेतर्फ अझै ध्यान पुगेको देखिँदैन। ‘दक्षिणतर्फ तटबन्ध हुन थालेपछी हामीले हाम्रो क्षेत्रमा पनि तटबन्ध हुनु पर्‍याे भन्यौँ। तीन किलोमिटर क्षेत्रमा तटबन्ध गर्ने सहमति पनि भयो। तर, सहमति अनुसार कुनै काम भएन,’ स्थानीय तिलकराम चौधरीले भने, ‘आश्वासन दिने तर काम नहुने प्रवृतिले हामी ठगिएका छौँ।’

बुटकौवा गाउँको डुवान तथा कटानको समस्या समाधन गर्न प्रदेश सभा सदस्य रेवतरमण शर्माको अगुवाईमा जनताको तटबन्ध कार्यालय लमहीको ध्यानकर्षण गराइएको छ।

राप्ती नदी क्षेत्रमा जनताको तटबन्ध कार्यालयले कार्यक्रम गरिरहेकाले तत्कालीन र दिर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी काम अघि बढाउन कार्यालयका ईञ्जिनियर रामचरित्र चौधरीलाई भेटेर ध्यानाकर्षण गराइएको छ। ‘यसै बर्ष जोखिम कम गर्नेगरी काम गरीहाल्नु पर्ने स्थिती छ’, शर्माले भने, ‘दिर्घकालीन रुपमा त ड्याम नै बनाएर अघि बढ्नुको विकल्प छैन्।’

ईञ्जिनियर चौधरीले यस बर्ष बजेट नभएको र अर्थ मन्त्रालयलबाट बजेटको सुनिश्चिता भएपनि निकासा नहुँदा काम गर्न असजिलो भएको बताए। ‘बजेट प्राप्त भएमा काम गर्न तयार छौँ तर बजेट नै निकासा भएको छैन’,चौधरीले भने, ‘बजेट र कार्यक्रम आयो भने बुटकौवामा तटबन्ध हुन्छ।’

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्