ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्युपछि तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

धनगढी– मोहनापुल–अत्तरिया सडक खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२१७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर चालकको मृत्यु भएपछि ठक्कर दिने ट्रक तोडफोड र आगजनी गरिएको छ। आक्रोसित स्थानीयले सडक अवरुद्धको प्रयास गरेका छन्।

आक्रोशित स्थानीय सडकमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतकाे नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण सुरु भएसँगै दुर्घटना बढ्दै गएका छन्। सडकमा निर्माणाधिन अवस्थामा रहेका कल्भर्टमा पनि पटक–पटक सवारी दुर्घटना भईसकेका छन्। निर्माण सुरु भईसकेपछि ६ जनाले ज्यान गुमाईसकेका छन्।

१४ किलोमिटरको दुरीमा पछिल्लो एक बर्षमा मात्रै ६ जनाले ज्यान गुमाएका हुन्। आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैर जिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको आरोप स्थानीयको छ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्