अमेरिकाले मध्य पूर्वमा परमाणु सुरक्षा प्रणाली र लडाकु पानी जहाज पठायो

इरानसँगको सम्बन्धमा तनाव आइरहेका बेला अमेरिकाले मध्य पूर्वमा मिसाइल सुरक्षा प्रणाली पठाएको छ । यस्तै एउटा लडाकु पानी जहाज पनि अमेरिकाले मध्य पूर्वमा तैनाथ गर्ने भएको छ ।

द युएसएस एरलिङ्गटन, जसमा लडाकु बहान र विमान रहेका छन् । यो गल्फमा रहेको द युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुपमा सामेल हुने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कतारमा रहेको बेसमा युएस बी–५२ बमर्स पनि पुगेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकाविरुद्ध इरानबाट हुन सक्ने चुनौतिको प्रतिकारको तयारीका रुपमा पछिल्ला कदम रहेको उल्लेख गरिएको छ ।

अमेरिकी सेनालाई इरानको तर्फबाट चेतावनी आएको भनिएको छ । अमेरिकाले चेतावनीका बारेमा विस्तृत जानकारी दिएको छैन, तर इराकले यसलाई निराधार भन्दै खारेज गरेको छ ।

सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताको प्रमुख प्रतिबद्धताबाट केही दिनअघि इारन पछि हटेको थियो । अमेरिकाले आफू सम्झौताबाट बाहिरिएको बताएको वर्ष दिनपछि इरानले मुख्य प्रतिबद्धताबाट पछि हड्ने जनाएको हो ।

इरानको परमाणु कार्यक्रमलाई सीमित गर्ने उद्देश्यसहित सन् २०१५ मा अमेरिकासहितका शक्ति राष्ट्र र इरानबिच सम्झौता भएको थियो । तर सम्झौता अनुसार आफूमाथि लाग्दै आएको प्रतिबन्ध कम नभएको इरानको आरोप छ ।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि सम्झौता उल्लंघनको आरोप लगाउँदै त्यसबाट बाहिरिएको घोषणा गरेका थिए । यसले गर्दा इरान र अमेरिकाबिचको सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्