बंगुर र बाख्रा पालन व्यवसायमा रमाउँदै युवा

दाङ– बाउ, बाजे कसैले बंगुर पालेनन् । तर, लमही नगरपालिका वडा नम्बर ३ कौडीया निवासी कृष्ण पन्थीले बंगुरमा आम्दानीको ठूलो सम्भावना देखे । अनि सुरु गरे बंगुर व्यवसाय ।

यो व्यवसायबाट आम्दानी लिन थालिसकेका कृष्णले आफ्नै देशमा धेरै सम्भावना देखेका छन् । १९ वर्षको उमेरमा उनी मलेसिया गएका थिए । त्यहाँ तीन वर्ष बिताए । चाउचाउ उद्योगमा काम गर्ने उनी मुस्किलले ४ घण्टा सुत्न पाउँथे । बाँकी समय काममा बिताउनु पर्ने कृष्णलाइ विदेशको दुःखले सताइरह्यो ।

महिनाको २७ हजार भन्दा धेरै कमाइ भएन । तीन वर्ष विदेश बसेका कृष्ण १ वर्ष अघि घर फर्किए । विदेश नजाने सोंचका साथ उनले बंगुर व्यवसाय सुरु गरे । ब्राह्मणको छोरा । घर परिवारले बंगुर पालेको निको मानेनन् । घर परिवारको साथ बिनै उनले यो व्यवसाय थाले । अहिले उनको खोरमा २१ माउ र ८ ओटा बच्चा छन् ।

१५ लाख बढीको लगानी लागेको छ । आफै दाना उत्पादन गरेर बंगुरलाइ खुवाउने गर्छन । ‘१९ वर्षको उमेरमा विदेश गएँ । सोंचे जस्तो भएन । मुस्किलले चार घण्टा समेत सुत्न नपाइने’उनले भने–‘विदेशबाट फर्केको एक वर्ष भयो । अब जाँदैन ।’

यस्तै लमही–३ जखेरा निवासी लोकमणी बञ्जाडेले बाख्रा पालन गरेका छन । बाख्रा बिक्री गरेर भएको आम्दानीले छोरा छोरीको पढाई लेखाइमा सजिलो भएको उनले बताए ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्