कर्मशीलको कथा

‘कालो कोट’ मा बहस गर्ने रहर बोकेका ७२ वर्षे यी छात्र

नेपालगञ्ज – एउटा सानो कोठामा पलङ, टेबल र कुर्ची छन् । खाना पकाउने ग्यास कोठाको अर्को कुनामा छ । पलङको दुईतिर भित्तामा अध्ययनको समय तालिका टाँसिएको छ । कोठामा एउटा बोर्ड राखिएको छ । पढेर आएपछि मार्करले लेखेर अभ्यास हुन्छ, त्यहाँ ।

यो कोठामा ७२ वर्षे जोशिला विद्यार्थी बस्छन् । नाति–नातिनासँग रमाउने उमेरमा दाङका बलभद्र वली ‘कालो कोर्ट’ लगाउन कस्सिएका छन् । कोठामा बसेर कुराकानी सुरु गर्दा वलीले दैनिकी सुनाए । उनी बिहान ४ बजे उठ्छन् । चिया बनाएर खान्छन् । एकछिन बाहिरतिर डुल्छन् ।

अनि, ६ बजेको कक्षा लिन महेन्द्र बहुमुखी क्याम्पस पुग्छन् । ‘मोबाइलमा चार बजेको घण्टी पनि लगाएको छु । मेरो त यस्तो बानी भइसक्यो कि चार बज्न दुई–चार मिनेट बाँकी रहँदा नै बिउँझिन्छु’, वलीले ठट्टा गरे, ‘म उठिसकेपछि अलार्म बज्छ ।’

वली दश बजेतिर क्याम्पसबाट कोठामा फर्किन्छन् । त्यसपछि खाना पकाएर खान्छन् । दिउँसो समय तालिका अनुसार पढ्छन् । साँझ ८ बजेतिर खाना पकाएर खान्छन् र फेरि दश बजेसम्म पढ्छन् ।

दाङको बबई गाउँपालिका–३, रामपुर (घट्टेखोला) निवासी वलीले दाङबाटै २०७४ सालमा डिग्री गरेका थिए । त्यसअघि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट २०७२ सालमा स्नातक गरे । ‘कालो कोर्ट लगाएर अदालतमा बहस गर्ने’ वलीको इच्छा छ ।

वली यस्ता विद्यार्थी हुन् कि अहिलेसम्म एउटा पनि कक्षा छोडेका छैनन् । वलीकै कारण महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा १५ वर्षपछि कानून संकायको कक्षा चलेको छ । यसअघि विद्यार्थी त भर्ना हुन्थे, पढ्न आउँथेनन् । परीक्षा दिनमात्रै आउँथे ।

मंसिरमा वली नेपालगञ्ज आए । क्याम्पसमा भर्ना हुन गए । नियमित पढाई हुन त कम्तिमा दशजना विद्यार्थी उपस्थित हुनुपर्ने क्याम्पस प्रशासनले जानकारी दियो । कक्षामा पढ्न नआए पनि एलएलबीमा भर्ना हुने विद्यार्थीको संख्या त एक हजार एक सय ८८ थियो । वलीले सबैको नाम र फोन नम्बर टिपेर ल्याए ।

कोठामा आएर सबैलाई फोन गरे । नियमित कक्षा लिन आउनु प¥यो भने । प्रायः सबै जागिरे रहेछन् । नजिक नजिक भएकाले आउँछु भने । केही आए पनि । वलीको पहलमा पछिल्लो दुई महिनादेखि क्याम्पसमा एलएलबीको कक्षा नियमित चलेको छ । वलीले कक्षा लिन आएका विद्यार्थीको उपस्थिति पनि गराएका छन् । अहिलेसम्म ९७ जना विद्यार्थीले कक्षा लिएका छन् । वली भन्छन्, ‘कक्षामा दैनिक त २० देखि ५५ जनासम्म उपस्थित हुने गरेका छन् ।’

अझ रमाइलो त के छ भने वलीले कुनै शिक्षक पढाउन आएनन् भने फोन गरेर ‘किन नआएको’ भनेर प्रश्न गर्छन् । बिहीबार कार्यविधि कानून पढाउने लोकबहादुर शाह कानून दिवसको कार्यक्रममा सहभागी हुन दाङ गएकाले पढाउन आएनन् ।

वलीले फोन गरेर ‘तपाईँ आज किन नआएको’ भनेर प्रश्न गरे । शाह भन्छन्, ‘मलाई मात्रै होइन, जो शिक्षक पनि पढाउन आएनन् भने वलीले फोन गरि किन नआएको भनेर प्रश्न गर्छन् ।’ शाहका अनुसार, वली कक्षामा अनुशासित तरिकाले बस्ने, उठेर मर्यादित तरिकाले प्रश्न गर्ने गर्छन् । ‘हजुरबा उमेरका वलीको अनुशासन लोभ लाग्दो छ, नेपालगञ्जका चर्चित कानून व्यवसायीसमेत रहेका शाहले भने, ‘७२ वर्षका व्यक्तिको पढ्ने जाँगर देख्दा हामीलाई पनि जोश पैदा गरेको छ ।’

नेपालगञ्जमा कोठा भाडामा लिएर पढ्न बसेका वलीलाई घरपरिवारले बुढेसकालमा किन दुःख गरेको भनेर कराउँछन् । छोरी अधिवक्ता नै छन् । उनले किन दुःख गर्नुहुन्छ बुवा भनेर सम्झाँउछिन् । छोरा लेखनदास छन् । उनले बेकारमा किन पढ्नु प¥यो भन्छन् । वली भने, ‘जुवातास खेलेर गाउँमा समय फाल्नु भन्दा ज्ञानका लागि पढ्नु राम्रो होइन र ? हामीजस्ता बुढाले पढ्दा युवाहरुमा पनि जोश जाँगर आउँला नि ।’

वलीको विगत पनि स्थिर छैन । २०२३ सालमा लोक सेवा आयोगको कार्यालयमा पियन भएका वली २०२४ सालमा मालपोत कार्यालयमा अस्थायी बैदार भए । २०२५ सालमा लोकसेवाबाट बैदारमा नाम निकालेर अदालतमा काम थाले । यो बेला ६ महिना भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा मुखिया भएर काम गरे । २०२७ देखि २०४२ सालसम्म शिक्षक भए । त्यसपछि वली जागिर छोडेर राजनीतितिर सोझिए । २०४३ सालमा दाङको पुरन्धारा गाउँ पञ्चायतको प्रधानपञ्च भए । बहुदल आएपछि पार्टीतिर लागे ।

एमालेबाट २०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गरे । त्यति बेला हारे । वली भन्छन्, ‘त्यतिबेला कांग्रेसको जगजगी थियो ।’ २०५४ सालमा वलीले फेरि गाविस अध्यक्षमा चुनाव लडे । यसपाली भने जिते । दुई हजार चार सय मत ल्याए । त्यसअघि प्रधानपञ्चमा एक हजार पाँच सय मत ल्याएका थिए । २०४९ मा एक हजार आयो ।

राजनीतिक चश्का लागेका वली एमाले छोडेर राप्रपातिर हानिए । २०६४ सालको चुनावमा राप्रपाबाट सांसदको उम्मेदवार बने । दुर्भाग्य, यो पल्ट पाँच सय पचास मात्रै मत आयो । राप्रपाबाट नै २०७४ सालको स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा चुनाव लडे । यसपटक त झन् एक सय पचास मत आयो । यो चुनावपछि वली फेरि एमाले तिरै फर्किए ।

नेकपाको जिल्ला कमिटि सदस्य रहेका वलीलाई नेकपा बनेपछि पनि जिल्ला कमिटिमै राख्ने आश्वासन मिलेको छ । अहिलेसम्म जिल्ला कमिटि नबनेकाले उनी जिल्लामा पर्छन् कि पर्दैनन् थाहा छैन । ‘जिल्ला कमिटिमा राखे भने बस्छु । नत्र बस्दिन, वलीले भने, पढाईतिरै लागेको छु । पढाई सक्छु । वकालत गर्ने धोको छ ।’

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्