वीरेन्द्रनगरमा गर्मी बढेसँगै खानेपानीमा ४८ घण्टे ‘फ्लोसेडिङ्ग’

सुर्खेत– गर्मी बढेसँगै वीरेन्द्रनगरमा खानेपानी अभाव हुन थालेको छ। मुहानहरू सुक्न थालेपछि सुर्खेत उपत्यकामा खानेपानी समस्या देखिएको हो। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थालाई माग अनुसारको खानेपानी आपुर्ती गर्न यतिबेला हम्मेहम्मे परेको छ।

संस्थाले मुहानबाट ४० प्रतिशतले पानीको आपुर्ती घटेको जनाएको छ। आपुर्ती घटेसँगै अब ४८ घण्टामा एक पटक मात्रै धारामा पानी आउने भएको छ। स्रोतबाट उपलब्ध पानीलाई व्यवस्थित गर्दै समानुपातिक खानेपानी वितरण गर्नका लागि संस्थाले ‘फ्लोसेडिङ्ग’ लागु गर्न लागेको छ।

खानेपानीका मुहानहरू सुक्न थालेपछि हाल भैरहेको वितरण समय तालिकामा परिवर्तन गरिएको हो। संस्थाले ४८ घण्टे तालिका अनुसार पानी वितरण गर्न थालेको छ।

नगरका सबै स्कीमहरूमा ४८ घण्टामा एक पटक मात्रै पानी वितरण गरिने सुर्खेत उपत्यकाका खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए। उनका अनुसार हाल इत्राम खोला, झुप्रा खोला, खोर्के खोला , खरी र बोरीखोलाको पानी वीरेन्द्रनगरमा वितरण गरिएको छ।

वीरेन्द्रनगरमा दिन प्रतिदिन खानेपानीको माग बढ्दै छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर उपत्यकामा जनसंख्याको चाप बढेसँगै पानीको माग पनि बढेको छ। तर पर्याप्त स्रोत नहुँदा उपत्यकावासीले खानेपानी अभावको समस्या झेल्दै आएका छन्। गर्मीयाममा त पानीको हाहाकार नै हुने गरेको छ। कुनै समय संस्थाले ९६ घण्टाको फरकमा पानी विरण गरेको उदाहरण समेत छ।

हाल एक सय ७८ लिटर प्रतिसेकेन्ड खानेपानी माग हुँदै आएको वीरेन्द्रनगरमा गर्मी लागेसँगै संस्थाले ९६ लिटर प्रतिसेकेन्ड पानी आपुर्ती गरिरहेको छ। माग भन्दा झण्डै ८२ लिटर प्रतिसेकेन्ड पानी अभाव भएपछि आपुर्तीका लागि समस्या भएको हो। हाल सबैभन्दा बढी खरि र बोरीखोलाबाट ३० लिटर प्रतिसेकेन्ड पानी आएको छ।

गर्मीयाममा हरेक वर्ष वीरेन्द्रनगर उपत्यकावासीले खानेपानीको समस्या भोग्दै आएका छन्। विगतका वर्षहरूमा ९६ घण्टाको अन्तरमा मात्रै धारामा पानी आउने गरेको उदाहरण पनि छन्। तर अहिले भने ४८ घण्टा मात्रै अभाव व्यहोर्नुपर्ने इन्जिनियर तिवारीले बताए। ‘प्रत्येक दिन दुई लिटर प्रतिसेकेन्ड पानीका दरले मुहानहरू सुक्दै गएका छन्’, उनले भने,‘विगतका वर्षहरू भन्दा यो वर्ष खानेपानीका मुहान धेरै सुकेका छन्।’

वैशाखको पहिलो हप्ता परेको पानीले स्रोत थपिए पनि दोस्रो हप्तादेखि मुहानमै पानी कमी आएको छ। संस्थाको अभिलेख अनुसार वीरेन्द्रनगरका १७ हजार घरधुरीलाई हाल पानी उपलव्ध गराउँदै आएको छ। थप २ हजार धारा थप्न लागिएको छ।

खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि भेरी नदिको पानी वीरेन्द्रनगर ल्याउने योजना संस्थासँग छ। जसका लागि यो आर्थिक वर्षमा टेन्डर आह्वान हुने उनले जानकारी दिए। संस्थाले भेरीको पानी ल्याउन तीन चरणमा ठेक्का आह्वान गर्नेछ।

यस्तै, तत्कालिन खानेपानी अभाव टार्न संस्थाले खानेपानी आयोजना निर्माणलाई तीव्र पारेको छ। वीरेन्दनगर–९ मा रहेको भसाना बाँधबाट प्रतिसेकेन्ड ५ लिटर पानी उपयोगका लागि आयोजना निर्माणको काम भइरहेको छ। रतुको दुन्दुरे खोलाको पानी पनि वीरेन्द्रनगर ल्याउन लागिएको छ।

जसका लागि पहिलो प्याकेजमा इन्टेक र पानी प्रशोधन केन्द्र बनाउन टेन्डर आह्वान हुदैछ। दुन्दुरे खोलाको आयोजना निर्माण भए २० लिटर पानी प्रतिसेकेन्ड वीरेन्द्रनगरमा पुग्ने उनले जानकारी दिए। संस्थाले स्कीम क्षेत्रमा पर्ने सार्वजनिक धारा र नीजि धाराका लागि फरक–फरक समयमा पानी वितरण गर्न लागेको हो।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्