पृथ्वी बचाऊ

म त्यस्तै ८ वर्षकी हुँदी हुँ, जतिबेला मैले पहिलोपटक ‘ग्लोबल वार्मिङ’ वा ‘जलवायु परिवर्तन’ भनिने केही सुनेँ। यो मान्छेले आफ्नै बाँच्ने तरिकाबाट सिर्जेको केही होजस्तो लाग्थ्यो। ऊर्जा बचत गर्न मलाई बत्ती निभाउन भनिन्थ्यो। स्रोतसाधन बचत गर्न कागजहरु पुनर्प्रयोग गर्न भनिन्थ्यो। म अनौठो मान्दै यो सम्झिन्छु- मान्छे, जो अरु प्राणीजस्तै एक प्रजाति हो, पृथ्वीको जलवायु परिवर्तन रोक्न सक्षम हुनसक्थ्यो। किनभने यदि हामी थियौँ र साँच्चै ‘ग्लोबल वार्मिङ’ भइरहेको थियो भने हामी योबाहेक अरुबारे कुरै गर्दैनथियौँ। टिभी खोल्नेबित्तिकै सबै कुरा त्यसकै हुन्थे। हेडलाइन, रेडियो, समाचार- सबै त्यसैका हुन्थे, मानौँ विश्वयुद्ध नै भइरहेको छ र हामी अरु केही पढ्ने वा सुन्ने नै थिएनौँ। तर, यो विषयमा कहिल्यै कोही बोलेकै छैन।

यदि अनवीकरणीय प्राकृतिक ऊर्जा (फोसिल फ्युल्स) प्रयोग गर्नु त्यत्ति खराब हो र त्यसले हाम्रो अस्तित्वमा खतरा पैदा गरिरहेको छ भने हामी कसरी पहिलेजसरी नै निरन्तर चलिरहेका छौँ? किन त्यहाँ कुनै प्रतिबन्ध भएन? किन त्यसलाई गैरकानुनी बनाइएन?

११ वर्षकी हुँदा म बिमार परेको थिएँ। डिप्रेसनमा गएको थिएँ। खानबोल्नै बन्द गरेँ। २ महिनामा १० किलो वजन गुमाएँ। पछि पत्ता लाग्यो मलाई ‘एस्पर्गर्स सिन्ड्रोम’, ‘ओसिडी (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर)’ र ‘चयनात्मक मूकता’ जसको अर्थ हुन्छ- ‘आवश्यक पर्दा मात्र बोल्नु’ भएको रहेछ। अहिलेको समय पनि तिनैमध्ये एक हो। ‘स्पेक्ट्रम’मा भएका हामीलाई सबैथोक बुझिने नै लाग्छ। हामी (अटिजम भएकाहरु) झुटो बोल्न माहिर छैनौँ र सामाजिक खेलहरुमा सहभागी हुन त्यति मन पराउँदैनौँ, जसका लागि हामी बाहेकका मानिसहरु मरिहत्य गर्छन्। म विविध तवरले यस्तै सोच्छु, हामी ‘अटिजम’ भएकाहरु सामान्य हौँ अनि बाँकी सबै अनौठा। विशेषगरी जब दीर्घकालीन संकटका कुरा आउँछन्, सबै भनिरहेका हुन्छन्, ‘जलवायु परिवर्तन एउटा अस्तित्वकै त्रास हो’, ‘सबैभन्दा महत्वपूर्ण मुद्दा हो’- यद्यपि सबैजना पहिले जस्तै गरिरहेछन्। यदि उत्सर्जन रोकिनुपर्छ भने हामीले उत्सर्जन गर्न नै रोक्नुपर्छ।

म यसमा स्पष्ट छु। जहाँ अस्तित्वको कुरा आउँछ, त्यहाँ अलमल्ल हुनु हुँदैन। हामी सभ्यतातर्फ जाऊँ या नजाऊँ, हामीले परिवर्तन गर्नैपर्छ। स्वीडेनजस्ता धनी देशहरुले प्रतिवर्ष १५ प्रतिशतले उत्सर्जन घटाउनुपर्छ। त्यसो हुँदा हामी २ डिग्री सेल्सियसभन्दा कमको लक्षित ‘वार्मिङ’मा बस्न सक्छौँ। आइपिसीसीको रिपोर्टले भर्खरै देखाएको छ, १.५ डिग्री सेल्सियस घटाउने लक्ष्य राख्दा मात्रै पनि त्यसले जलवायु प्रभावलाई महत्वपूर्ण ढङ्गले घटाउँछ। तर, उत्सर्जन घटाउनुले के माने राख्छ, त्यो हामी कल्पनामात्र गर्न सक्छौँ।

तपाईँलाई लाग्दो हो, मिडिया र हाम्रा नेताहरु अरु केही बोल्दैनन्। तर, उनीहरु जलवायु परिवर्तनको कुरा कहिल्यै उठाउँदैनन्। न कसैले भन्छ- हरितगृह ग्यास पहिले नै वायुमण्डलमा मिसिइसक्यो। न यो वायु प्रदूषणले नै ‘वार्मिङ’लाई लुकाइरहेको छ। त्यसैले जब हामी इन्धन बाल्न रोक्छौँ, त्योभन्दा अगाडि नै अतिरिक्त गर्मी बढिसकेको छ जुन सायद ०.५ देखि १ डिग्री सेल्सियसले सामान्यभन्दा अधिक तापक्रम हो। अझै भन्ने हो भने न त कसैले नै यो सत्य भन्छ कि हामी छैटौँ सामूहिक विनाशको बीचमा छौँ, जहाँ हरेक दिन २ सय प्रजाति लोप भइरहेका छन्। आज प्रजाति लोप हुने दर सामान्यभन्दा हजारदेखि दश हजार गुणाले बढिरहेको छ।

न त कोही एकैजनाले समता र जलवायु न्यायको पक्षमा बोल्छ, जुन ‘पेरिस सम्झौता’मा प्रष्टै लेखिएको छ र त्यो विश्वव्यापी तवरमै लागू गराउनु जरुरी छ। यसको मतलव धनी देशहरुले आजको उत्सर्जन गतिबाट आगामी ६ देखि १२ वर्षमा शून्य उत्सर्जनमा आउनुपर्छ, जसका कारण गरिब देशका मान्छेहरुले पनि हामीसँग पहिल्यै भएका केही पूर्वाधारहरु, जस्तै: रोड, स्कुल, अस्पताल, विद्युत, खानेपानी आदि निर्माण गर्दै आफ्नो जीवनशैली उकास्न सकून्।

नाइजेरिया, इन्डिया जस्ता देशहरुले जलवायु संकटबारे चासो राखून् भनेर हामी कसरी आश गर्न सक्छौँ जब हामी सबैथोक भएका देशहरु नै यसबारे एक सेकेण्ड सोच्दैनौँ वा पेरिस सम्झौताबारे प्रतिवद्ध हुँदैनौँ भने?

साँच्चै ‘ग्लोबल वार्मिङ’ भइरहेको थियो भने हामी योबाहेक अरुबारे कुरै गर्दैनथियौँ। टिभी खोल्नेबित्तिकै सबै कुरा त्यसकै हुन्थे। हेडलाइन, रेडियो, समाचार- सबै त्यसैका हुन्थे, मानौँ विश्वयुद्ध नै भइरहेको छ र हामी अरु केही पढ्ने वा सुन्ने नै थिएनौँ। तर, यो विषयमा कहिल्यै कोही बोलेकै छैन।

किन हामी उत्सर्जन घटाइरहेका छैनौँ? किन तिनीहरु वास्तवमै वृद्धि भइरहेका छन्? के हामी जानिजानी सामूहिक पतन निम्त्याइरहेका छौँ? हामी दानव हौँ? होइनौँ, पक्कै होइनौँ। मानिसहरु जे गरिरहेका थिए, त्यो गरिरहेका छन् किनभने बहुसंख्यक मानिसलाई आफ्नो दैनिक जीवनको परिणामबारे थाहा छैन र उनीहरुलाइ तीव्र परिवर्तन आवश्यक छ भन्ने पनि थाहा छैन। हामी सोच्छौँ हामीलाई थाहा छ र सबैलाई थाहा छ। तर थाहा छैन। हामीलाई कसरी थाहा होस्?

किनभने यदि साँच्चै संकट थियो र यो हाम्रै उत्सर्जनको कारणले भइरहेको थियो भने पक्कै हामीले केही संकेत देख्ने थियौँ। बाढीले डुबाएका शहर र हजारौँ मृत शरीरहरु मात्र होइन, पूरै राष्ट्रले नै भवनहरु भत्किन सघाइरहेको छ। हामीले केही प्रतिबन्ध देख्ने थियौँ। तर छैन। यो विषयमा कोही बोल्दै बोल्दैन। कुनै आकस्मिक बैठक छैन, हेडलाइन छैन, ब्रेकिङ न्युज छैन। हामी संकटमा परेको जसरी कसैले काम गरेकै छैन। जलवायु वैज्ञानिक वा पर्यावरण राजनीतिज्ञहरु नै पनि मासुभात र दूधघ्यू खाँदै विश्व डुलिरहेका छन्।

यदि म सय वर्ष बाँचे भने सन् २१०३ मा जीवितै हुनेछु। जब तपाईँहरु भविष्यबारे सोच्नुहुन्छ, सन् २०५० भन्दा पछाडि सोच्नु नै हुँदैन। त्यतिबेला म मेरो जीवनको उत्कृष्ट आधाभन्दा कम उमेर मात्र बाँचेको हुनेछु। त्यसपछि के हुन्छ? सन् २०७८ म ७५ औँ जन्मोत्सव मनाइरहेको हुनेछु। यदि मेरा छोरानाति भए भने उनीहरुले पनि त्यो दिन मसँगै बिताउने छन्। उनीहरुले मलाइ तपाईँहरु जो अहिले २०१८ मा हुनुहुन्छ, काबारेमा सोध्छन् होला- तपाईँहरुले किन केही गर्नुभएन जबकि त्यतिन्जेल केही गर्ने समय थियो?

अहिले हामीले केही गर्नु वा नगर्नुले मेरो र मेरा सन्ततिहरुको सिङ्गो जीवनमै प्रभाव पार्छ। अहिले हामी केही गरौँ वा नगरौँ, म र मेरा पिँढीले त्यसलाई भविष्यमा उल्ट्याउन सक्दैनौँ।

त्यसैले जब यो वर्ष अगस्टमा विद्यालय लाग्यो, मैले ‘अब पुग्यो’ भन्ने निर्णय गरेँ। स्विडिस संसद भवन बाहिरको चौरमा बसेँ। जलवायुका लागि विद्यालय हड्ताल गरेँ। केही मानिसहरु भन्थे, म विद्यालय जानुपर्थ्यो। केही मानिसहरु भन्थे, जलवायु वैज्ञानिक बन्न मैले पढ्नुपर्छ, जसले गर्दा म यी जलवायु संकटका समस्या हल गर्न सकूँ। तर, जलवायु संकट पहिल्यै समाधान भैसक्यो; तथ्य र समाधानका उपाय हामीसँग पहिल्यै छन्। मात्र हामी ब्युँझेर परिवर्तन गर्नुपर्‍यो। जुन भविष्य छिट्टै नासिँदै छ, त्यसका लागि म किन पढूँ! जब कसैले केही नै गर्दैन भने त्यो भविष्य बचाउनुको के अर्थ? जब त्यही विद्यालयले सिकाएका सबैभन्दा महत्वपूर्ण तथ्यहरुले हाम्रो समाज र राजनीतिज्ञहरुका लागि कुनै अर्थ राख्दैन भने विद्यालयमा तथ्यहरु पढ्नुको के अर्थ?

केही मानिस भन्छन्- स्वीडेन एउटा सानो देश हो र यसले के गर्छ भन्ने कुराले खासै अर्थ राख्दैन। तर मलाई लाग्छ- यदि केही केटाकेटीहरु केही हप्ता विद्यालय नगएरै विश्वभरि ‘हेडलाइन’ बनिरहेका छन् भने कल्पना गर्नुस्, यदि हामी सबैले साँच्चै चाहेको भए के-के गरिसकेका हुन्थ्यौँ!

म मेरो भाषणको अन्त्यमा छु र यहाँ नै मानिसहरु प्रायः आशाका कुरा, सोलार प्यानल, हवाइ उर्जा, सर्कुलर (पुनर्प्रयोगमुखी) अर्थव्यवस्थाका कुरा गर्न सुरु गर्छन्। तर, म त्यसो गर्दिन। हामीसँग हौसला प्रदायक सकारात्मक विचारहरु बेच्न ३० वर्ष थियो। म क्षमा चाहन्छु, त्यसले कुनै काम गरेन। यदि गर्थ्यो भने उत्सर्जनहरु पहिले नै घटिसकेका हुन्थे। तर, घटेका छैनन्।

हामीलाई आशा चाहिन्छ, साँच्चै नै चाहिन्छ। तर हामीलाई आशाभन्दा धेरै चाहिएको एउटा कुरा हो- काम। जब हामी काम गर्न सुरु गर्छौँ, आशा जहाँतहिँ हुन्छ। त्यसैले आशा गर्नुको साटो काम गरौँ। त्यसपछि, त्यसपछि मात्रै आशा पलाउँछ। आज हामी हरेक दिन १० करोड ब्यारेल तेल खपत गरिरहेका छौँ। यसलाई बदल्ने कुनै रणनीति छैन। ती तेल जमिनमै रहन दिने कुनै नियम छैन। त्यसैले नियमसँग खेलबाड गरेर हामी यो पृथ्वी बचाउन सक्दैनौँ। नियम त परिवर्तन हुनुपर्छ। हरेक थोक परिवर्तन हुनुपर्छ र यो आजैबाट सुरु हुनपर्छ।

(जलवायु परिवर्तनबिरुद्धकी १६ वर्षीया  स्विडिस अभियन्ता थुनबर्ग @@GretaThunbergले टेडटक्समा व्यक्त गरेको अभिव्यक्तिको उषाकिरण रेग्मी @1Ajammariले गरेको भावानुवाद। थुनबर्गको अभिव्यक्तिको पूर्ण अंश यहाँ सुन्न सकिन्छ।)

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्