कविता

हत्या

सुन त,
एउटा कहानी सुनाउँछु है,
सुन्छौ?

मेरो परिचित मित्रले
आफ्नै सन्तानको हत्या गर्‍यो नि!
थाहा छ?
ती सन्तानहरु को थिए!
नितान्त आफ्नै
सपना, लक्ष्य, भावना,
इच्छा, आकांक्षा, माया
अनि भविष्य।

विज्ञापन

कठोर हो ऊ,
अफ्नै सन्तानहरुको निर्ममतापूर्वक हत्या गर्ने।

क्रूर हो ऊ,
सन्तानहरुलाई हुर्काउनुपर्ने चुनौतीसँग
आत्मसमर्पण गर्ने।

कायर हो ऊ,
आफ्ना सन्तानको दायित्वबाट पन्छिन खोज्ने।

तर
उसले आफ्नो सन्तानको घाँटी निमोठ्दा
चर्किएको उसको छाती,
निराशाले भरिएको उसको आँखा देख्यौ?
अनि
अफ्ना प्राणप्रिय सन्तानहरुलाई
गुमाउनुपर्दाको पीडा देख्यौ?
अहँ
तिमीले देखेनौ।

म देख्न सक्छु उसको त्यो पीडा,
महसुस गर्न सक्छु उसको त्यो अन्योल,
उसको दु:ख आफ्नै सम्झन्छु

अझ पनि,
तर ऊ पटक्कै मान्दैन,
त्यसैले,
हत्यारा हो ऊ,
लाछी हो ऊ,
विश्वासघाती हो ऊ,
जति नै बहसमा अल्झिरहूँ,
अब उसका सन्तानहरुले पुनर्जन्म लिने छैनन्।
किनकि
ऊ हत्यारा साबित भैसक्यो।

तर,
अर्को एक मौका तिमीलाई
आऊ,
एक अर्कालाई साथ दिँदै
सदाझैँ
मिलेर हुर्काऊँ आफ्ना सन्तानहरु।
मिलेर मेटाऊँ तिम्रो शिरमा लगेको
हत्याराको कलङ्क।

अझ पनि
तिम्रो कल्पना मेरो कल्पना हुनसक्छ।
तिम्रो र मेरो भविष्य  एक हुनसक्छ।
तिम्रो भावना मेरो भावना हुनसक्छ।
अनि
तिम्रो सहानुभूतिले
मेरो जीवन बन्न सक्छ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्