अमेरिका र इरानबीच तनाब: अमेरिकाद्वारा खाडी क्षेत्रमा युद्धपोत र मिसाइल तैनाथ

एजेन्सी– इरानसँगको बढ्दो तनाबकाबिच अमेरिकाले मध्यपूर्वमा पैट्रियट मिसाइल रक्षा प्रणाली तैनाथ गर्ने भएको छ।

यस्तै अमेरिकाले ‘युएसएस’ युद्धपोतलाई खाडी क्षेत्रमा रहेको युएसएस अब्राहम लिंकन लडाकु समूहमा सामेल गरिसकेको छ। जसले विमान, जमिन र पानीमा हमला गर्न सक्ने छ।

अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार अमेरिकाले कतारमा रहेको एक अमेरिकी सैन्य क्याम्पमा वम वर्षक विमान युएस बि–५२ पठाइसकेको छ।

विभागले मध्यपूर्वमा रहेको अमेरिकी सेनालाई इरानको सम्भावित खतराबाट बचाउनको लागि यस्तो कदम उठाएको बताएको छ। तर यसबारे स्पष्ट रुपमा केही जानकारी दिइएकाे छैन।

इरानले यी सब कुरा बकवास भएको बताएको छ। उसले अमेरिकाको यस तैनाथीलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै यसकाे उद्देश्य आफ्नो देशलाई डराउनु भएको बताएको छ।

यसभन्दा पहिले, अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आफ्नो युरोप यात्राको क्रममा पत्रकारसँग भनेका थिए,‘हामीले इरानको तर्फबाट भइरहेकाे उक्साउने खालको व्यवहार देखेका छौँ र हामी आफूमाथि हुने कुनैपनि प्रकारको हमलाको लागि उसलाई जिम्मेवार ठान्ने छौँ।’

यद्यपी पोम्पियोले इरानको कुन ‘उक्साउने व्यवहार’ को बारेमा कुरा गरेका हुन् भन्ने बारे स्पष्ट भनेनन्।

अमेरिका आफ्ना सहयोगी देशहरुलाई इरानबाट तेल नकिन्न बाध्य बनाएर इरानको अर्थ व्यवस्थालाई धरासायी बनाउन चाहन्छ भने इरानले आफू कुनैपनि हालतमा नझुक्ने बताइरहेको छ।

अमेरिका अघल्लो वर्ष मात्रै इरान सहित ६ देशबिच भएको परमाणु सम्झौताबाट बाहिरिएको थियो। राष्ट्रपति ट्रम्प २०१५ मा तत्कालिन राष्ट्रपति बाराक ओबामाका पालामा इरानसँग भएको सम्झौताबाट खुशी थिएनन्। यसकारण पनि उनी इरानसँग भएको उक्त सम्झौताबाट बाहिरिएको बताइएको छ।

यस्तै अमेरिकाले यमन र सिरिया युद्धमा इरानको भूमिकाको पनि आलोचना गर्दै आएकाे छ।

ट्रम्प प्रशासनले इरान सरकारलाई नयाँ सम्झौता गर्नको लागि बाध्य बनाउने आशा गरेको छ। नयाँ सम्झौताको दायरामा केवल इरानको परमाणु कार्यक्रम मात्रै हुने छैन् साथमा व्यालेष्टिक मिसाइल कार्यक्रम पनि हुनेछ।

यसबाट मध्यपूर्वमा इरानको ‘अशिष्ट व्यवहार’ नियन्त्रण हुने अमेरिकाको भनाई रहेको छ।

यस्तै इरानले अमेरिकी प्रतिबन्धलाई गरैकानुनी भएको बताएको छ।

इरानी मिडियाका अनुसार, अमेरिकाको घोषणाको जवाफमा इरानका विदेश मन्त्री मोहम्मद जवाद जरीफले इरानसँग अमेरिकी प्रतिबन्धको जवाफ दिनको लागि कैयौँ विकल्प रहेको बताएका छन्

विदेश मन्त्री जवाद जरीफले इरान कैयाैँ विकल्पमाथि विचार गरिरहेको र यसमा ‘परमाणु अप्रसार सन्धी’ बाट बाहिरिन सक्नेसम्म रहेको बताएका छन्। साथै उनले इरानलाई तेल बेच्नबाट रोकियो भने यसको परिणाम गम्भिर हुने चेतावनी समेत दिएका छन्।

–बिबीसी हिन्दीबाट 

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्