पाकिस्तानको पाँच तारे होटलमा बन्दुकधारीको आक्रमण

पाकिस्तानको बलुचिस्तानमा रहेको एक सुविधा सम्पन्न होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

बलुचिस्तानको ग्वादरमा रहेको पाँच तारे होटल जावेर पर्ल कन्टिनेन्टलमा बन्दुकारीले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन बन्दुकधारीले गरेको आक्रमणमा कम्तिमा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सुरक्षाकर्मी रहेका छन् । रमजान तथा बिदाका कारण होटलमा पाहुना थिएनन् र कर्मचारी पनि कम भएकाले हताहती धेरै नभएको होटलका एक प्रवक्ताले बताएको बिबिसीले उल्लेख गरेको छ ।

स्थानीय पृथकतावादी समूह बलुचिस्तान लिब्रेशन आर्मी (बिएलए) ले आक्रमणको जिम्मा लिएको छ । चीनसहितका विदेशी शक्तिबाट देशमा भइरहेको लगानीको विरोध र त्यस्ता लगानीलाई निशाना बनाउने क्रममा आक्रमण गरिएको दाबी बिएलएले गरेको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका चार बजेर ५० मिनेट जाँदा होटलमा आक्रमण भएको हो । होटलको ढोकामा बन्दुकधारीलाई रोक्ने प्रयास गरेका सुरक्षाकर्मीको आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् ।

बन्दुकधारी अझै पनि होटल भित्रै छन् र सुरक्षाकर्मीसँग भिडन्त भइरहेको छ । होटलमा आक्रमण भएका बेला कति मानिस थिए भन्ने यकिन भने भउको छैन ।

प्रहरी, फ्रन्टियर कोर र अरु सुरक्षाकर्मीले होटलमा घेरा हालेको बलुचिस्तानका गृहमन्त्रीले मीर जियाउल्लाहले बताएको बिबिसीले उल्लेख गरेको छ । आक्रमणका बेला होटलमा कोही पनि विदेशी नागरिक नरहेको उनले दाबी गरेका छन् ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्