एक कर्मठ नर्सको कथा

‘आँखै अगाडि धेरैको प्राण गयो, राति सपनामा तर्साए, तर काम छोडिएन’

काठमाडौँ – धेरै बिरामीको उस्तै बानी हुन्छ, उनीहरु सुई लगाउँदा डराउँछन् । बिरामीले ‘तपाईले सुई लगाएर हुँदैन म त अर्कैबाट लगाउने’ पनि भन्छन् नर्सलाई।

त्यस्तै अवस्थामा बिरामीले आफूलाई खोज्दा संसारकै खुशी पाएको अनुभुति गर्छिन् उनी। ३५ वर्षीया रमा पौडेल उप्रेतीले नर्सिङ पेशा २०६२ सालदेखि सुरु गरेकी हुन्। पिसीएल नर्सिङ सकिए लगतै रमाले वीरगञ्जको एक अस्पतालबाट आफ्नो सेवा सुरु गरेकी थिइन्। केही समय वीरगञ्जमा काम गरेपछि उनीले चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पतालमा काम थालिन् ।

उनीले आफूलाई यतिमै सीमित राख्न चाहिनन्। ब्याच्लर इन नर्सिङ पढ्न काठमाडौँ पसिन्। पढाई सकिने बित्तिकै उनले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा काम सुरु गरिन्। शिक्षण अस्पतालमै स्थायीमा नाम निकालेको तीन वर्ष भएको उनले बताइन्।

नेपालका राम्रा अस्पतालहरु मध्यमै पर्छ शिक्षिण अस्पताल। ‘शिक्षिणमा नाम निकालेर काम गर्न कसलाई पो रहर नहोला र’ भन्दै उनले छेउमै उभिरहेका श्रीमानतिर पुर्लुक्क हेर्दै भनिन्, ‘शिक्षिण अस्पतालमा थाईमा नाम निकाल्नु मेरो आफ्नो भन्दा पनि उहाँको (श्रीमान) सपना थियो, जुन पूरा भयो।’ उनले यति भन्दा उनका श्रीमान मुसुक्क मुस्कुराए।

२०५६ सालमा एसएलसी दिएपछि रमा पनि उनका साथीहरु जस्तै के पढ्ने भन्नेमा अन्योलमा थिइन्। उनका दाइले एग्रिकल्चर पढेका थिए। त्यो देख्दा उनलाई पनि कता कता त्यही पढ्न मन लाग्यो। उनलाई लाग्थ्यो टेक्निकल सब्जेक्ट पढ्यो भने छिटो जागिर पाइन्छ र आफ्नो खुट्टामा आफै उभिन सकिन्छ। उनले एग्रिकल्चर नै पढ्ने निधो गरिन्।

तर उनको एग्रिकल्चर पढ्ने र छिटो जागिर खाने सपना परिर्वतन भयो। दाइले त्यही विषय पढेकाले अन्य कुनै विषय पढौँ भन्ने भाव उनको मनमा आयो र त्यसको विकल्प थियो स्टाफ नर्स।

उनले भनिन्, ‘मनमा रहर वा कुनै सपना बोकेर मैले नर्सिङ पढ्की होइन, जागिर खाने अनि आफ्नो खुट्टामा उभिनका लागि यसलाई रोजेकी थिएँ, यसमा कुनै पश्चाताप भने छैन।’

आफूले नर्सिङ पढिरहेको समयमा अस्पतालहरुले भोलेन्टेरिङ गर्छु भन्दा काम नदिने गरेको उनले बताइन्। त्यो समयमा काम गर्न नपाइने काम पायो भने पनि अस्पतालहरुले आफ्नालाई मात्रै राख्ने गरेको उनले बताइन्।

अस्पतालमा आफन्त नभएका कारण उनले कुनै अस्पतालमा पनि भोलेन्टेरिङ गर्न पाइनन्। उनले पढिरहँदा अस्पतालमा सिक्ने मौका नपाएकाले पढाई सकिने बित्तिकै वीरगञ्जको अस्पतालका काम सुरु गरिन्। उनले विरगञ्जमा एक वर्ष काम गरिन्। भोलेन्टेरिङ गर्दा सरकारी अस्पतालमा बिरामी र नर्सको अनुपात मिल्दैन भनेर नर्सलाई धेरै जिम्मेवारी नदिइने उनले बताइन्। त्यो बेला रमालाई पनि जिम्मेवारीले त्यति धेरै बाँधेर राखेन। तर उनले सधैँ सिक्ने कोशिश भने गरिरहिन्।

रमालाई क्यान्सर अस्पतालमा काम गर्न धेरै गाह्रो भयो। उनले भनिन्, ‘त्यो समयमा म कामदेखि फ्ररस्टेड भए, मलाई अस्पतालको हस्पिसियूमा राखिएको थियो। जहाँ लास्ट स्टेजका बिरामीलाई राख्ने गरिन्छ।’ त्यहाँ राखिएका धेरै बिरामीको मृत्यु हुने गरेको उनले बताइन्। आफ्नो आँखा अगाडि त्यसरी बिरामीहरु मरेको देख्दा नराम्रो लग्थ्यो। मरेका बिरामी सपनामा देखिन थाले। उनलाई डरले सताउँदै गयो। प्रत्येक दिन बिरामी मरेको देख्दा आफ्नो काम प्रति वाक्क लागेको उनले बताइन्।

उनले भनिन्, ‘डराएले गर्दा जागिर नै छोड्दिम जास्तो भयो।’ उनको समस्या बुझेर अस्पतालले ६ महिना पछि अर्को वार्डमा सिफ्ट समेत गरिदिएको थियो।

हस्पिसियूमा आउने धेरै जसो बिरामी घर जानै पाउँदैनथे, उनीहरुलाई रेडिएसन, केमो भन्दा भन्दै मृत्यु नै हुन्थ्यो । बचाउने कोशिष गर्दा गर्दै बिरामीको मृत्यु हुने गरेको उनले बताइन्।

सुरु–सुरुमा काम गर्न अनि बिरामीको सेवा गर्न पाउँदा रमा रमाउने गर्थिन्। उसो त रमा अहिले पनि आफ्नो कामसँग रमाउने गर्छिन्। त्यो समयमा भने उनीमा धेरै उत्साहा थियो नयाँ कामको। उनले काम सुरु गरेपछिका केही दिनका अनुभव सुनाइन्। ‘हिमाली क्षेत्रबाट एकजान बिरामी आएका थिए। चिसो हुने भएका कारण उनीहरुको तिर धेरै लामो समय पछि मात्रै नुहाउँदो हरेछन्।’ अस्पतालमा बिरामीलाई बेडमै राखेर नुहान्दिने स्टिम हुन्छ, जसलाई उनीहरु बेड बाथ भन्ने गर्छन्। ती बिरामीलाई नुहाइदिन उनीसहित चारजना नर्स लागेका थिए। उनले भनिन्, ‘उनको शरीरबाट यति मैला निसक्यो कि यति मैला निसक्यो, उनलाई निर्खान डेढ घण्टा लगाएका थियौँ।’

त्यो समयमा उनलाई यस्ता कुराहरु अचम्म लाग्ने गरे पनि अहिले सबै कुराहरु सामन्य लाग्ने गर्छन्, उनी आफ्नो दायित्वप्रति दिनानु दिन परिपक्क हुँदै गइरहेकी छिन्।

उनले उनै दिनका कुराहरु एक–एक गर्दै सम्झिरहेकी थिइन्। हाँस्दै उनले भनिन् ‘एकजना बिरामी तीन दिनदेखि बेहोस थिए, उनको एकदमै लामो दाह्री थियो। हामीले उनको दाह्री काट्दियौँ।’ जब ती बिरामीको होस् खुल्यो। उनी एकाएक हामी माथि खनिए। हामी डरायौँ। तर पछि थाहा भयो उनी दाह्री काट्न नहुने बाबाजी रहेछन्।’ रमा र उनका साथीले नसोधेरै कटिदिएका थिए। अहिले उनलाई ती पुराना घटनाहरुले बेला बालामा हसाउने गर्छन्।

डेलिभरि र ड्रेसिङपछि उनले कति पटक खाना नखाएको कुरालाई अहिले सम्झिँदा उनी के नै थियो र जास्तो लाग्छ रे। डेलिभरी गर्दा हातमा पञ्जा लगाउँथिन्। हातमा पञ्जा भएपनि कति रगतका छिटा मुखमै परे। उनले भनिन्, ‘पहिला–पहिला घिन लागे पनि बिस्तारै बानी परिँदो रैछ।’ उनले थपिन ‘रगत भन्दा पनि पिप देख्दा धेरै नै धिन लाग्ने।’ पिप निकालेको दिन त खान पनि खाइनन् उनले।

शिक्षण अस्पताल, मनमोहनको आइसियूमा कार्यरत रमाले डाक्टरहरु सँगसँगै अहिले पनि आइसियूमा राखिएका बिरामीलाई बचाउने हर कोशिश गर्छिन्। बिरामीले प्राण छोड्न थालेको थाहा पाउने बितिकै सुनपानी समेत राखिदने गरेको उनीले स्मरण गरिन्। उनले भनिन्, ‘उमेर पुगेका बिरामीको मृत्यु हुँदा कठै भन्ने भए पनि सा–साना बालबालिका तथा उमेर नपुगेका बिरामीको मृत्यु हुँदा त्यो दिनभर राम्रोसँग काम गर्न मन लाग्दैन।’

‘अहिले त पुरुषहरुले पनि नर्सिङ पढ्न पाउने भएका छन्’ उनले जोडिन्, ‘वार्डका कहिले काही महिला मात्रै हुँदा कुनै पनि कुराको डिसिजन लिनलाई अलि गाह्रो हुन्छ, यस्तो समयमा उनीहरुले हामीलाई सहयोग गर्छन्।’ कुनै समयमा आफूलाई थाहा भएको कुरा बोल्न नसकिने उनले बताइन्। बोल्यो भने जान्ने भई भन्ने सोच्लान् भन्ने लाग्छ। तर पहिलेको तुलनामा भने पछिल्लो समय धेरै परिर्वतन भएको उनले बताइन्।

काम गर्दा कामसँग इन्जोय गर्ने गर्छिन् उनी। काममा इन्जोय गर्ने भएकाले काम गर्न सहज भएको समेत उनले बताइन्। उनले थपिन ‘तर कहिले काही इन्जोय गर्दा गर्दै पनि आफैलाई अप्ठ्यारो परेको छ।’ तर पनि बिरामी प्रतिको जिम्मेवारीदेखि कहिल्यै पछि हटिनन् उनी। बिस्तारै बिरामी प्रतिको जिम्मेवारी पनि थपिँदै गयो।

नाइट डिउटी त्यसमा पनि कराउने किचकिच गर्ने बिरामी भयो भने त्यस्तो बिरामीलाई सम्हाल्न गाह्रो हुने उनले बताइन्। ‘हामी त बानी परिसकेका हुन्छौँ, तर त्यस्ता बिरामीका कारण वरिपरीका बिरामीलाई समेत डिस्टब भइरहेको हुन्छ।’

‘हामीलाई पनि उभिएर काम गरिरहँदा थाकाइ लागिरहेको हुन्छ। बिरामी त्यसरी कराइरहँदा कहिले काँही रिस त उठ्छ नै तर पनि बिरामीलाई रिस देखाउन मिल्दैन। सबै बिरामीलाई सम्मान व्यवहार गर्नु पर्छ, हाम्रो काम नै त्यही हो’ रमाले थपिन्।

बिरामीलाई राम्रो व्यवहार गर्दा गर्दै पनि धेरैले यो नर्स त कति छुच्ची छ भन्ने गर्छन्। ‘कुरै बुझदैनन् बिरामीका आफन्तहरु पनि’ उनले वाक्क लागेको भावमा भनिन्, ‘उनीहरुको आफन्तलाई आईसियूमा भर्ना गरेको छ भने उनीहरु जुन सकै समयमा पनि भेट्न खोज्छन्, जुन हामी दिदैनौँ।’ आईसियूको बिरामी भेट्ने समय अस्पतालले बिहान र बेलुका गरि दुई टाइम मात्रै छुट्याएका हुन्छ। बिरामीलाई उनको आफन्तहरुले भनेको समयमा भेट्न नदिँदा कति रिसाएर गाली समेत गर्ने गरेको उनले बताइन्।

काम गर्दा गर्दै बिचमा उनलाई विदेश जाने रहर चल्यो। उनकाअनुसार अन्य नर्सको जस्तै उनको पनि विदेश जाने प्लान थियो। विदेश जानका लागि उनले आइएलटिएसको परीक्षाको डेट लिइन्। २०७२ साल वैशाख १२ गते आइएलटिएसको परीक्षा दिनका लागि परीक्षा हलमा बसिरकी थिइन्।

परीक्षार्थीको फिङ्गर प्रिन्ट लिँइदै थियो। एक्कासी सबै हल्लिन थाल्यो। भूकम्प आएको भन्दै सबै परीक्षार्थीहरु भागाभाग गर्न थाले। रमा पनि उनीहरुसँगै भागिन्। त्यो दिनको परीक्षा क्यान्सिल भयो। त्यस दिनको परीक्षा भने केही महिनापछि सारियो। अर्को पटक सारिएको परीक्षामा उनले भाग लिइनन्। उनले त्यस दिनलाई स्मरण गर्दै भनिन्, ‘त्यो दिन आएको भूकम्पले मेरो जीवनमा चेन्ज ल्यायो, शायद वैशाखको १२ गते भूकम्प नआएको भए म अहिले विदेशमा हुन्थे।’

त्यो दिन जे भयो राम्रो कै लागि भयाे भन्ने लाग्छ रमालाई। ‘विदेश नगएर पनि मलाई राम्रो छ यहाँ’ रमाले भनिन्, ‘हामी भनेको बिरामीहरुको शरीरसँग सिधै टचमा हुने गर्छौँ। बिरामीका लागि खटिरहेका हुन्छौँ। डाक्टरहरु आउनुहुन्छन् केही समय चेकजाँच गरेर निस्कनु हुन्छ।’ बिरामीको रेखदेखमा नर्सहरुले निकै महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘फलानो डाक्टरले यस्तो गरेर ठीक परिदिए उस्तो गरेर ठीक पारिदिए भनेर बिरामी डाक्टरको मात्रै गुनगान गाउने गर्छन्। तर नर्सले यस्तो सिहार सुसार गरे भनेर हामीलाई कहिल्यै पनि सम्झिँदैनन्, हुन त पछिल्लो समय भने बिस्तारै बिरामीहरुको सोचाई परिर्वतन हुँदै गइरहेको छ।’ कतिपय बिरामीहरु सेतो एप्रोन लगाएका डाक्टरलाई देख्ने बित्तिकै दङ्ग पर्ने आफ्नो समस्या उनीहरुलाई नभन्ने हुन्छन्। तर आफूहरुलाई देख्ने बित्तिकै धेरै किचकिच गर्ने गरेको उनले बताइन्।

कयौँ पटक नर्सले गलत औषधि दिँदा बिरामीको मृत्यु भन्ने खबरहरु पनि सुन्नमा नआउने गरेको पनि होइनन्। धेरै जसो बिरामीले नराम्रो हुने बित्तिकै नर्सलाई नै दोष लगाउने परेको पाइन्छ। कमैलाई मात्रै थाहा हुन्छ। बिरामीको मृत्यु हुनुमा नर्सको कुनै होष हुँदैन। उनीहरुले डाक्टरले रिकमेन्ड गरेको औषधिहरु बिरामीलाई दिने गर्छन्। रमाले भनिन्, ‘कहिले काँही बिरामीलाई धेरै गाह्रो भएको अवस्थामा भने डाक्टरलाई फोन गरेर मात्रै औषधि दिने गर्छौँ, फेरि फोनको के भर हुन्छ र डाक्टर वार्डमा आउने बित्तिकै औषधि लेख्न पाठाइहाल्छौँ।’

उनले भनिन्, ‘अहिले म आफ्नो पेशा प्रति फ्रस्टेसन चाहिँ छैन, सबै कुरा आफूले मिलाएर लैजानु पर्छ, जिन्दगीलाई ब्यालेन्स गर्न सकियो भने मात्रै खुशी हुन सकिन्छ।’

‘तर पनि म अरुलाई स्वास्थ्य क्षेत्रमा नआन सल्लाह दिने गर्छु’ रमाले भनिन्,‘डाक्टर नर्स कसैले पनि नपढ्न्, बिरामी डिउटी भनेर हिँड्दा हिँड्दै, आफ्नो कर्तव्यबाट पन्छिएको जस्ता हुन्छ। कहाँ नेर चुकिन्छ थाहै हुँदैन।’

उनले आफ्नो विगतलाई सम्झिइन्। अनि भावुक भइन्। आफू सुत्केरी हुँदाको त्यो दिन उनको मनसपटलमा सरसर्ती घुम्ने गर्छ। उनका ७ वर्ष र साढे दुई वर्षका दुई छोरा छन्। छोरा हुर्काउन कठिन भएको उनले बताइन्। रमाले भनिन्, ‘दुःख धेरै भयो, अहिले सुत्केरी बिदा बढेको छ, म सुत्केरी हुँदा जम्मा ४५ दिन मात्र बिदा पाइन्थ्यो।’ रमा सानो बच्चा छोडेर डिउटी जान्थिन्। त्यो समयमा उनलाई बेक्कारको जागिर गर्न थालिए छ जस्तो महसुस हुन्थ्यो।

उनले थपिन्, ‘हामी आफैले अरुलाई ६ महिनासम्म दूध बाहेक केही पनि खुवाउनु हुँदैन भनेर सिकाउछौँ तर त्यही कुरा आफूले प्रयोगमा ल्याउदैनौँ।’

४६ दिनको बच्चालाई अरुको भरमा छोडेर रातिको डिउटी जाने गर्थिन् उनी। रमाले काम गरिरहँदा मन काममा भन्दा पनि बढि बच्चा तिर जान्थ्यो। बच्चालाई दूध चुसाउन नपाएर शरीरभरी दूध बगेर जाने गरेको बताइन् रमाले। ‘कहीले काँही त डिउटीमा हुँदा बाबुहरुलाई सम्झेर रोए पनि’, उनले फेरि थपिन्, ‘यो कस्तो पेशा खै आफू बिरामी हुँदा बिरामी छु भनेर भन्न नपाइने, सानो बच्चालाई दूध चुसाउन नपाइने बिरामीको स्याहार गर्दा गर्दै आफ्नो ख्याल राख्न नपाइने।’

नेपामा धेरै नर्सहरु समस्यामा झेलिएका छन्। उनीहरुको श्रम शोसन भइरहेको छ। अस्पतालहरुले उनीहरुलाई तीन चार महिना भोलेन्टेरिङ गराउँदै जागिरको प्रलोभन देखाउने गरेको पाइन्छ। नर्सहरुलाई त्यसरी काममा राखेको तीन–चार महिना पुगेपछि कामबाट निकाल्ने यदि कामबाट निकालेनन् भने ५–६ हजार दिएर काम लगाउने गरेको समेत उदाहरणहरु धेरै नै छन्।

नर्सिङ काउन्सिलले विभिन्न नाराहरु बनाएता पनि अहिलेसम्म लागु गर्न सकेको छैन। नर्सलाई लाइसेन्स दिइसके पनि उनीहरुको अवस्थाको बारेमा सोच्न सकेको छैन।

नेपालमा ८७ हजार लाइसेन्स प्राप्त नर्स छन्। तर ती मध्य करिब ४८ हजार नर्सहरु बेरोजगार रहेको नेपाल नर्सिङ् संघले बताएको छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू