पोखरा महानगरमा अब वडाबाटै योजना, त्यही अनुसारको बजेट

फाइल तस्बिर

पोखरा-पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-०७७ को वार्षिक कार्यक्रममा समावेश हुने योजना तथा कार्यक्रम छनोटको जिम्मेवारी वडालाई सुम्पिएको छ।

चालु वर्षको अन्त्य अगावै सार्वजनिक हुने वार्षिक कार्यक्रममा वडा तहबाट प्राप्त योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट कार्यक्रम ल्याउने तयारी महानगरले गरेको हो।

विज्ञापन

पोखराका ३३ वटै वडामा आवश्यक र सम्भावित महत्वपूर्ण योजना छनोट गरी पठाउन पत्रमार्फत सर्कुलर गरिसकिएको छ। योजना छनोटका लागि महानगरले फारम वडामा पठाइ योजना लिस्टिङ गर्न आउँदो जेठ १० गतेसम्मको समयसीमा तोकिएको छ।

एकल वा बहुवर्षीयसम्मका आयोजना तोक्न वडालाई अधिकार दिइएको महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए। ‘यसअघि वडाका योजनालाई सिलिङ तोकेर बजेट दिँदा सबै कार्यक्रम प्रभावकारी हुन सकेनन् भन्ने गुनासो सुनियो,’ उनले भने, ‘अबदेखि महानगरले बजेट अनुसारको योजना/कार्यक्रम नभई, योजना अनुसारको बजेट विनियोजन गर्ने नीति अनुरुप वडालाई महत्व दिने अभ्यास गरिएको हो।’ वडाबाट छनोट भएर आउने योजना संघ, प्रदेश सरकारसम्मलाई सिफारिस गर्न सकिने रणनीति महानगरको छ।

योजनामा बजेट डुप्लिकेसनको समस्याले कतिपय आयोजना कार्यान्वयनमै समस्या देखिरहेको सन्दर्भमा वडाबाट संकलित योजनाको लगतमा आगामी वर्ष त्यस्तो समस्या नदोहो¥याउन सचेतना अपनाइने भएको छ। प्रस्ताव हुने योजनाको पृष्ठभूमि वडाले खुलाई महानगरमा पठाउन निर्देशन दिइएको हो।

योजनाको कार्यान्वयनका लागि बोलपत्र मार्फत, उपभोक्ता समिति वा सहकारी वा गैरसरकारी मार्फत कसरी कार्यान्वयन गराउने सो उल्लेख गरी प्रस्ताव पठाउन निर्देशन दिइएको मेयर जिसीले जानकारी दिए। उनले भने, ‘छनोट हुने योजनाको लागत स्टीमेट गरेर पठाउन भनेका छौँ, त्यसमा बहुवर्षीय प्रणालीमा सम्पन्न गर्न सकिने योजनासमेत पठाउन सक्नेछन्।’

चालु वार्षिक कार्यक्रममा सामान्यतया एउटा वडामा एक देखि डेढ करोडसम्मको योजना अनुसारको बजेट विनियोजन भएको थियो। सिलिङ तोकेर बनाइएका योजनाले समग्र महानगरकै विकासमा गति नलिएको महसुस भएपछि वडाका प्राथमिकतालाई ध्यान दिँदै यस्तो अभ्यास गरिएको मेयर जिसीले बताए। सार्वजनिक हुने बजेटमा योजनाले माग गरेअनुसारको बजेट प्राप्त हुने सक्ने संकेत देखिएको छ।

प्रचलनमा रहेको अभ्यास अत्यन्तै परम्परागत भएकाले वडाध्यक्ष नै फाइल बोकेर दिनहुँ महानगर धाउनुपर्ने अवस्थाको अन्त्य गर्न पनि यस्तो नीति अपनाइएको मेयर जिसीको भनाइ छ।

‘आगामी वर्षको बजेटमा समावेश हुनुपर्ने योजना माग गरिसकेकाले, जति समेटिन्छन् त्यति कार्यान्वयनमा जान्छन्। छुटेकालाई वर्ष दिन नै पर्खनुपर्ने हुन्छ। त्यसपछिको आगामी वर्षमा त्यस्ता योजना वडाबाट नै समावेश हुनेछन्,’ मेयर जिसीले भने।

सानातिना योजनासहित समग्र सबै आयोजना वडाबाटै प्राप्त हुने हुँदा जनताका गुनासा र आवश्यकता उक्त योजनामै समावेश हुने मेयर जिसीले विश्वास व्यक्त गरे ।

योजना छनोटका लागि महानगरले खाका कोरेको छ। जसमा पूर्वाधार निर्माण अन्तर्गत सडक निर्माण तथा मर्मत, ढल तथा नाली निर्माण, पुल तथा झोलुङ्गे पुल निर्माण, भवन निर्माणका कामका योजना छन्।

पूर्वाधार अन्तर्गत नै सार्वजनिक निजी साझेदारी सहमतिमा गर्न सकिने योजना पनि प्रस्ताव गर्न भनिएको छ। ५०-५० को अवधारणमा सञ्‍चालन हुने ‘हामी बनाउँछौ हाम्रो नगर’ कार्यक्रमलाई समावेश छ।

सामाजिक विकास तर्फ स्वास्थ्य, शिक्षा, खानेपानीलाई महत्वका साथ राख्‍न भनिएको छ। आर्थिक विकासतर्फ कृषि, पशु, संस्कृति तथा पर्यटन प्रमुख आधार हुनेछन्।

वातावरण योजना अन्तर्गत पार्क, खुला क्षेत्र संरक्षण तथा सार्वजनिक जग्गा संरक्षणका लागि समेत योजना बनाउन वडालाई आग्रह गरिएको छ। चौतारो तथा पोखरी संरक्षण, जल प्रकोप तथा बस्ती संरक्षणमा समेत वडाले काम थाल्न सक्नेछन्।

सुशासन तथा संस्थागत सेवा प्रवाहमा छरितोपना ल्याउन सूचना तथा प्रविधिको कार्यक्रम प्रस्ताव गर्न भनिएको छ। क्षणिक वा दूरगामी महत्वका योजना महानगरमा समावेश गराउन वडाले प्रस्ताव लेखी पठाउनु पर्नेछ। त्यस्ता योजनालाई महानगरले समग्र मूल्यांकन पश्चात्त वार्षिक कार्यनीतिमा समावेश गर्ने तयारी थालिएको हो।

वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले वडाबाट योजना माग्ने अभ्यासले आगामी वर्ष बन्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले भने, ‘एउटै योजना करोडौँका हुन्छन्, वडालाई निश्चित बजेट तोकिदिँदा भइरहेको अड्चन हट्ने अपेक्षा छ।’

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्