ढुवानीकर्तालाई भुक्तानी नदिँदा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित

बुटवल– राष्ट्रिय गौरवको आयोजना गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम प्रभावित भएको छ। नदीजन्य पदार्थको अभाव र ढुवानीकर्तालाई भुक्तानी नदिँदा काम रोकिएको हो।

विमानस्थल टर्मिनल भवन अगाडिको पार्किङ र धावनमार्गको कालोपत्रेको काम नै रोकिएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ।

निर्माणको मुख्य ठेक्का लिएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले भुक्तानी नपाएको भन्दै काम रोकेको छ। नदीजन्य पदार्थबारे बुटवल उपमहानगरपालिकाले मूल्य वृद्धि गरेपछि विवाद छ भने डिजेल अभावका कारण धावनमार्ग कालोपत्रे गर्ने मेसिन लगायतका उपकरण चलेका छैनन्।

‘दैनिक २० लाख रुपैयाँको डिजेल खर्च हुन्छ, गौतमवुद्ध विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘त्यसको भुक्तानी हुन सकेको छैन, त्यसको प्रक्रियामा केही ढिलाई भएको छ।’

भुक्तानीका लागि आयोजनाले पठाएको फाईल पर्यटन मन्त्रालयमै रोकिएको छ। मन्त्रालयले एडीबीलाई पठाउनुपर्ने फाईल नपठाउँदा भुक्तानी हुन सकेको छैन। एडीबीले निर्माणपक्षलाई १० करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ। भुक्तानी नहुँदासम्म विमानस्थल निर्माणको काम अघि नबढ्ने संकेत निर्माण पक्षले गरेको छ।

जसका कारण विमानस्थल पूरा हुन ४ देखि ६ महिनासम्म बढी समय लाग्‍ने विमानस्थल निर्माण आयोजनाका एक अधिकारीले बताए। उनका अनुसार वर्षायाम शुरु भएसँगै नदीजन्य पदार्थ निकाल्न सकिँदैन र आयोजनाको काम पूर्णरुपमा प्रभावित हुनसक्छ।

निर्माणपक्षलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजनाको लागतको ३७.४ प्रतिशत रकम भुक्तानी गरे पनि एडीबीमार्फत पर्यटन मन्त्रालयले दिने रकम पटक–पटक रोकिँदै आएको छ।

आयोजना प्रमुख अधिकारीका अनुसार धावनमार्ग कालोपत्रे गर्ने काम अन्तिम चरण पुगेको थियो। कालोपत्रे गर्ने काम ५ सय मिटरमात्रै बाँकी रहेको छ।

धावनमार्ग बाहिर वरिपरिको सडक, पार्किङ, प्रवेश र निकास लगायतका धेरै संरचना बनाउनु पर्ने भएकोले विमानस्थलमा नदीजन्य पदार्थ आवश्यक छ।

विमानस्थलको काम सन् २०१९ भित्रै सम्पन्न गरेर विमानस्थल सञ्चालनमा ल्याउने भनिएको थियो।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू