सिड्नीमा तेश्रो ओसेनिया क्षेत्रीय सम्मेलन

सिड्नी– ‘सबैका लागि, सधैँ गैरआवासीय नेपालीहरू समृद्ध नेपालका लागि’ नाराका साथ सिड्नीमा आयोजित तेश्रो ओसेनिया क्षेत्रीय सम्मेलन सम्पन्‍न भएको छ।

गैरआवासीय नेपाली संघको आयोजनामा मे ११ र १२ तारिखमा सिड्नीको डार्लिङ हार्बरस्थित हायात रिजेन्सीमा सम्पन्न उक्त सम्मेलनले नेपालमा लगानी, खोज तथा पर्यटनका विषयमा विज्ञहरूद्वारा प्रस्तुत विभिन्‍न कार्यपत्रहरूमाथि विमर्श भएको थियो।

औपचारिक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपालका कानुनमन्त्री भानुभक्त ढकालले गैरआवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आव्हान गरे।

नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकहरूको सूचीमा पुर्‍याउने लक्ष्य वर्तमान सरकारले लिएको बताउँदै उनले यस उद्देश्य प्राप्तिमा एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताए। उनले भने, ‘एक-पटकको नेपाली सधैँको नेपाली भन्‍ने गैरआवासीय नेपालीहरूको मागलाई पूरा गर्न वर्तमान सरकार लागिरहेको छ।’

प्रमुख अतिथि अस्ट्रेलियाका अध्यागमन,नागरिकता तथा बहुसांस्कृतिक मन्त्री तथा लिवरल पार्टीका नेता डेभिड कोलम्यानले आफ्नो पार्टीले पुनः जित हासिल गरेको खण्डमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरे।

मन्त्री कोलम्यानले सो सामुदायिक भवनमार्फत् अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना सांस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथा यसले समग्र समुदायको एकतामा थप टेवा पुग्‍ने समेत बताए।

एनआरएनए आइसिसी अध्यक्ष भवन भट्टले संस्थाले गरिरहेको कामहरूका बारेमा जानकारी दिँदै नेपालको विकासमा हाइड्रो, कृषि तथा पर्यटनको क्षेत्रमा व्यापक कार्यहरू गरिरहेको बताए।

कार्यक्रममा लेबर पार्टीकी सिनेटर क्लेयर मुरले मातृभूमिको विकास र प्रवर्द्धनका लागि एकजुट भएर लाग्नु खुशीको कुरा भएको बताउँदै लेबर पार्टीले आगामी सरकार बनाए नेपाललाई दिने सहयोगमा हरेक वर्ष वृद्धि गर्ने र अभिभावक भिसा शुल्कमा सहुलियत प्रदान गर्ने घोषणा गरिन्।

एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले संसारका करिब ८० देशमा फैलिएको एनआरएनएको सञ्जाललाई बलियो बनाउनका लागि ती देशका एनसिसीहरूलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।

ओसेनिया संयोजक धर्मराज अधिकारीले सबैको सहयोग र सद्भावले कार्यक्रम सफल भएको बताए। ‘यहाँ उठेका विविध विषयहरूलाई नेपालमा कार्यान्वयन गराउनेतर्फ यो कार्यक्रमले सकारात्मक भूमिका खेल्ने कुरामा हामी विश्वस्त छौँ’, अधिकारीको भनाइ थियो।

ओसेनिया क्षेत्रीय सम्मेलनमा नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरपदा सापकोटा, एनआरएनए आइसिसी अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, उपाध्यक्षयहरू कुमार पन्त र कुल आचार्य, पूर्व अध्यक्ष शेष घले, ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, न्यूसाउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दीपक धमला, एनआरएनएकी संरक्षक इन्द्रा वन, विभिन्न देशका एनआरएन प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति थियो।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू