नेपाल आँखा अस्पतालले उपत्यका बाहिर शाखा विस्तार गर्ने

काठमाडौँ– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले उपत्यका बाहिर आफ्नो शाखा स्थापना गर्ने भएको छ।

अस्पतालले आफ्नो सेवा बिस्तार गर्ने सोचका साथ बारा जिल्लाको सिमरामा दोस्रो तहको आँखा अस्पताल स्थापना गर्ने भएको हो।

अस्पतालको निर्माण कार्य सम्पन्न भएसँगै अत्याधुनिक प्रविधिसहित नयाँ अस्पताल संचालनमा आउने अस्पतालले जनाएको छ।

तराईका जिल्लाहरुमा मोतिबिन्दुको समस्या बढ्दै गएपछि सिमरामा नयाँ अस्पताल स्थापना गर्न लागिएको नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेले बताए। उनले भने, ‘हामीले मोतिबिन्दुका विरामीलाई लक्षित गरेर अस्पतालको स्थापना गर्न लागेका हौँ, जहाँ मोतिबिन्दुका धेरै भन्दा धेरै विरामीको शल्यक्रिया गरिने छ।’

अस्पताल स्थापनाका लागि सिमरा उपमहानगरपालीका वडा नं. ४ का कासिस मियाँले दुई करोड मूल्य बराबरको पाँच कठ्ठा जग्गा अस्पताललाई निःशुल्क उपलब्ध गराएका छन्।

नयाँ आँखा अस्पतालको स्थापनाका लागि पूर्वाधार विकास गर्न नेपाल आँखा अस्पताल लागि परेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत घलेले बताए।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्