अपराध महाशाखा र काठमाडौं परिसरको ‘लभ-हेट’ रिलेसन

काठमाडौं- एउटा राजधानीका प्रमुख। अर्को राजधानीसहित उपत्यकाका तीनवटा जिल्लामा हुने जघन्य र ठुला आपराधिक घटनाको अनुसन्धान गर्ने युनिटको प्रमुख। दुवैलाई आ-आफ्नो काम देखाउने तनाव। यो तनाव भोलिका दिनमा प्रहरी नेतृत्व सम्हाल्न सक्ने क्षमता भएको प्रहरी अधिकृतमा अझ बढी देखिन्छ।

त्यसैले महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको प्रमुख बन्न प्रहरीबीच ठूलै रस्साकस्सी हुन्छ। यी दुई युनिटमा पुग्न सके कम्तीमा काम देखाउन सकिने, कामको चर्चा हुने र सम्बन्ध बढ्ने अपेक्षा प्रहरी अधिकृतको हुन्छ। हुन पनि आईजी वा एआईजी बन्ने प्रहरी अधिकृत प्रायले महाशाखा र परिसरमध्ये एकको नेतृत्व सम्हालेकै हुन्छन्।

विज्ञापन

काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाले भर्खरै नयाँ नेतृत्व पायो। दुवै नेतृत्वले आइतबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरे। महाशाखाका नयाँ  प्रमुख एसएसपी सहकुल थापाले सुरुमै भने- हामी दुवैले जागिर पनि एकैदिन सुरु गरेको। सँगसँगै अगाडि बढ्यौँ। एसएसपीमा म उहाँभन्दा केही ढिला बढुवा भएँ। यी दुवै निकायको काम शान्ति सुरक्षा कायम गर्ने हो। देशभरका अपराधीहरु एकै ठाउँ बसेर अपराध गर्ने अनि त्यही अपराध नियन्त्रण गर्न हामी किन मिलेर काम नगर्ने ? ‘ काभ्रे र चितवनजस्ता जिल्लाको प्रमुख भइसकेका थापा केही कुरा स्पष्ट पार्न खोज्दै थिए।

प्रश्न स्वभाविक थियो- उनले यो किन भने वा के यो भन्नैपर्ने थियो ?

काठमाडौंको परिधिमा महाशाखाले कुनै ठूलो अनुसन्धानमा सफलता हात पारे परिसरको चित्त दुख्ने र काठमाडौं प्रहरीले त्यस्तै कुनै ठुलो घटनामा सफलता हात पारे महाशाखाले मुख बंग्याउने चलन नयाँ होइन। ‘ हामीले उहाँहरुले गर्ने काममा आफ्नो क्षेत्रमा ठुलै सफलता हात पार्‍यौँ भने धेरै दिनसम्म उहाँहरु नबोल्ने अवस्था पनि हुन्थ्यौं’, परिसरमा केही समय बसेर सरुवा भएका एक डीएसपी भन्छन्।

यसमा उल्लेखनीय के छ भने महाशाखा आफैँले मुद्धा चलाउँदैन । महाशाखाले गरेका अनुसन्धानमा मुद्धा चलाउने काम काठमाडौं परिसरले गर्छ। कतिपय अवस्थामा परिसरले मुद्धाको प्रक्रियामा पर्याप्त सहयोग नगरेको महाशाखाका अधिकारीले गुनासो गर्ने गरेका छन्। अनुसन्धान र मुद्धाबीच तालमेल भएन भने प्रहरीलाई त्यसमा सफलता पाउन सजिलो हुँदैन। त्यस्ता असफलतामा परिसरमाथि महाशाखाले दोष थोपर्ने गरेको छ। ‘हामीले त्यत्रो प्रमाण दिँदा पनि अनुसन्धान राम्रो भएन’, महाशाखाका अधिकारीहरु गुनासो गर्छन्। तर पनि महाशाखाका लागि परिसरको विकल्प छैन यी प्रकृयामा।

पत्रकार सम्मेलनमा एसएसपी थापाले भने- मेरो २५/२६ वर्षको प्रहरी करियरमा यसरी यी दुई यूनिटका प्रहरी प्रमुखले यसरी संयुक्त पत्रकार सम्मेलन गरेको पहिलोपटक हुनुपर्छ।

थापाले भनेजस्तो ठ्याक्कै नभएपनि दुर्लभ भने हो। अन्तिपटक काठमाडौंमा छविलाल जोशी र महाशाखामा दिनेश अमात्य आउँदा यस्तो भएको थियो। उनीहरु सुरुदेखि नै सँगसँगै देखिए पत्रकार सम्मेलनमा। ठूला अप्रेसनको सफलतापछि आयोजना हुने पत्रकार सम्मेलनमा पनि उनीहरु सँगसँगै देखिन्थे। उनिहरु पनि त्यही भन्थे जुन अहिले महाशाखा प्रमुख भनिरहेका छन्।

उल्लेखनीय के छ भने त्यतिबेला छविलाल जोशी प्रहरी नेतृत्वमा जाने सम्भावना सकिईसकेको थियो भने महाशाखाको आएको केही महिनापछि अमात्य पनि त्यो सम्भावनाबाट बाहिरिए। उनिहरुपछि महाशाखामा आएका दिवेश लोहनी र परिसरमा आएका रविन्द्र धानुक आफु-आफु काम देखाउन थाले। उनिहरु प्रहरी निरिक्षकबाट एसएसपीसम्म सँगसँगै आएका हुन्। दुवैको आईजिपी बन्ने सपना थियो र त्यो सम्भावना कायमै थियो।

काम देखाउने नाममै लोहनी ३३ केजी सुन बेपत्ता र शनम शाक्य हत्या प्रकरणमा फसेको एकथरी प्रहरी अधिकारीहरु बताउँछन्। लोहनी निलम्बनपछि महाशाखामा धिरजप्रताप सिंह आए। काठमाडौंमा विश्वराज पोखरेल प्रमुख बने। यी दुवै एउटै ब्याचका प्रहरी अधिकृत हुन्। दुवै आफु-आफु काम देखाउन थाले।

भक्तपुरमा बालकको अपहरणपछि हत्या र प्रहरी इनकाउन्टरमा अपहरणकारी मारिएको घटनामा परिसर र महाशाखा दुवै विवादमा आउनुलाई  दुई युनिटबीचको जुँगाको लडाँई मान्ने जमात पनि ठुलो छ। यहि विवादमा पोखरेलको सरुवा भयो। ३३ केजी सुन बेपत्ता प्रकरणको छानबिन गर्न गठित समितीमा रहेका एसएसपी वसन्त लामा काठमाडौं प्रमुख भए। लामा पनि धिरजप्रताप सिंहकै ब्याजी हुन्। भर्खरै दुवैको सरुवा हुनुअघि यी दुई युनिटबीच खास राम्रो सम्बन्ध नरहेको बताइन्छ।

यो सरुवा निकाल्नु केही दिनअघि मात्र डीआईजीमा रिक्त रहेको एउटा मात्र दरबन्दीमा पोखरेलको बढुवा भयो। ३० वर्षे सेवा अवधि कायम रहे आफ्नो ब्याचबाट पोखरेल नेपाल प्रहरीको प्रमुख बन्ने सम्भावना बलियो छ। यसअघि नेपाल प्रहरीको प्रवक्ता रहेका उत्तमराज सुवेदीलाई डीआईजीमा पोखरेलको बढुवापछि निकालिएको सरुवामा काठमाडौं प्रमुखका रुपमा सरुवा गरिएको छ।

‘ कुनैपनि प्रहरी सेलिब्रेटी हुँदैन। उसलाई सेलिब्रेटी भन्ने र बनाउने भनेको मिडियाले हो। प्रहरीले कुनै एक्स्ट्रा काम गरेको हुँदैन यदी गरेको हुन्छ भने नियम कानुनको अधिनमा रहेर जिम्मेवारीलाई पुरा गर्ने मात्र हो। हाम्रो बुद्धी र विवेकले भ्याएसम्म हामी प्रहरीको इमेजलाई उच्च बनाउने प्रयाश गर्छौँ’, पत्रकार सम्मेलनमा एसएसपी सुवेदीले भने।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू