एसियाका उत्कृष्ट विश्ववविद्यालयको सूचीमा त्रिवि पनि

काठमाडौं- एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय २५१ औं स्तरमा सूचीकृत भएको छ। ३ सय मध्ये २५१ औँ स्थानमा त्रिवि परेको हो।
बेलायतस्थित द टाइम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाको उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालयले गत वर्षको तुलनामा उल्लेख्य स्थान सुधार गरेको विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि गत वर्ष सोही संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१ औं विश्वविद्यालयहरुको सूचीभित्र त्रिभुवन विश्वविद्यालय परेको थियो। हजार विश्वविद्यालयमध्ये त्रिवि ८०१ स्थानमा परेको थियो।
उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायतका मुख्य सूचकहरुलाई आधार मानी विश्वविद्यालयहरुको मूल्यांकन गर्ने त्रिविको विज्ञप्तिमा उल्लेख छ।
त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा गत वर्षबाट भाग लिएको थियो ।
एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा अग्रणी स्थानमा पर्न सफल भएको भन्दै त्रिभुवन विश्वविद्यालयले खुसी व्यक्त गरेको छ।
त्रिविले जारी गरेको विज्ञप्तिमा छ, ‘यो उपलब्धीबाट हामी थप उत्साही भएका छौं र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाई उपलब्ध गराउन हामी क्रियाशील रहनेछौं । हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगानशिलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हासिल गर्नेछ ।’