एउटा नर्सको जिन्दगी

‘नेपालमा नर्सको कुनै रेस्पेक्ट नै छैन’

काठमाडौँ– ‘एसएलसीको समयमा परीक्षा हलबाट बाहिर निस्कँदा हातभरी ‘ब्रोसर’ समातेका मानिसहरु लाइन लागेर उभिरहेका हुन्थे। परीक्षा सकेर हामी गेट बाहिर निस्कने बित्तिकै उनीहरुले तिनै विभिन्न ब्रोसरहरु हाम्रा हातमा थमाइदिने गर्थे। तिनै ब्रोसरप्रति म आकर्षित भएँ। एसएलसी सकिए लगतै मैले ब्रिज कोर्स सुरु गरेँ,’ शिक्षण अस्पतालमा व्याचलर इन नर्सिङ गरिहेकी सुजना न्यौपानेले भनिन्।

एक महिना मात्र भएको थियो, उनले ब्रिज कोर्स सुरु गरेको। उनको मन परिर्वतन भयो। नर्सिङको साटो उनले साइन्स पढ्ने निधो गरिन्। केही समय पश्चात उनले विज्ञान संकायमा नाम लेखाइन्। तर आफन्त र इन्स्टिट्युटले उनलाई नर्सिङ पढ्न सल्लाह दिए। उनलाई तिमी नाम निकाल्न सक्छौ भनेर हौसला दिन थाले। उनलाई पनि कता–कता आफूप्रति विश्वास बढेर आयो।

‘एसएलसीपछि हाम्रो लागि धेरै बाटोहरु खुल्ने गर्छ, जसरी मेरो लागि पनि खुलेका थिए तर मैले नर्सिङलाई रोजेँ’, उनले भनिन्,‘नर्सिङ पढ्नलाई मेरो परिवारको दवाब पनि होइन। मेरो रहर पनि होइन। नर्स नै बन्न पाए हुन्थ्यो भन्ने भन्दा पनि अस्पताल जाँदा नर्सहरुलाई देख्दा कता–कता नर्स हुन पाए हुन्थ्यो भन्ने कुरा मनमा आउँथ्यो।’ उनले फारम बुझाउने अन्तिम दिनमा फारम भरिन् र अन्त्यमा नाम निकाल्न पनि सफल भइन्।

शिक्षण अस्पतालमा नाम निकाल्नु आफैँमा एउटा चुनौती थियो सुजनाका लागि। नर्सिङमा नाम निकाल्दा आफूले परिवारका अन्य सदस्यहरुले भन्दा पनि ठूलो काम गरेको जस्तो भएको थियो उनलाई।

सुजनाले पीसीएल नर्सिङ सकेको समयमा फ्रेसरले पनि सजिलैसँग काम पाउने गर्थे। तर आजभोलि भने फ्रेसरले काम नपाएर बेरोजगार भइरहेको उनले बताइन्।

अस्पतालको पहिलो अनुभव

सुजनाले काम सुरु गरेको ८ वर्ष भयाे। तर सुरु–सुरुमा काम गर्दा एकै पटक धेरै विरामी देख्दा सुजनाको मन आतिन्थ्यो। उनले भनिन्,‘वार्डमा विरामी देख्दा आत्तिने म सुरुमा अप्रेशन रुममा प्रत्यक्ष अप्रेशन गरेको देख्दा बेहोस भएकी थिएँ।’

यस्तो समस्या सुजनालाई मात्र होइन, पहिलो पटक अस्पतालमा काम गर्दा धेरै नर्सहरुलाई पनि देखापर्छ। किनकि उनीहरुले त्यस्तो परिस्थिति पहिलोपटक देखेका हुन्छन्।

सुजनाले अस्पतालमा विरामीको मृत्यु भएको देख्दा आफ्नै जिन्दगीप्रति नकारात्मक सोच आउन थालेको बताइन्। उनले भनिन्, ‘त्यो समयमा लाग्छ के रैछ र जिन्दगी आखिर यही मृत्यु त रहेछ।’ तर काम गर्दै जाँदा विस्तारै सोचाइ पनि परिर्वतन हुँदै जानुका साथै कामप्रति ध्यान जाने सुजनाले बताइन्।

नर्सहरु आलोचनाका पात्र

नर्सहरु धेरै आलोचनाका पात्र बन्ने गर्छन्। यसमा सबै भन्दा महत्वपूर्ण कुरा सञ्चारले खेल्छ। अर्को महत्वपूर्ण कुरा भनेको कामको लोड धेरै हुनु हो। एक जना नर्सले २०/३० जना विरामी हेर्नु परिरहेको छ तर अन्तर्राष्ट्रिय प्रचलन अनुसार एक जना नर्सले एक दिनमा ८ जना विरामी मात्र हेर्नुपर्छ।

सुजनाले भनिन्, ‘हामी पनि मानिस हौँ, हामीलाई पनि थकाइ लाग्छ, नाइट ड्यूटी त्यसमा पनि एक जनाले २०/३० जना विरामी हेर्दा भार धेरै पर्छ, कुनै बेला सबै तिर हेर्न भ्याइरहेका हुँदैनौँ, जसले गर्दा सधैं त होइन कहिलेकाहिँ झर्को लागेर झर्किन्छौँ पनि।’

विरामीका आफन्त नर्सलाई जे भनेपनि हुन्छ भन्ने तरिकाले आउने गरेको उनले बताइन्। सुजनाका अनुसार विरामीले डाक्टरलाई देख्ने बित्तिकै आफ्नो कुरा खुला भएर राख्न सक्दैनन् तर नर्सलाई भने जुनसुकै कुराको पनि कम्प्लेन गर्ने गर्छन्, चाहे त्यो अन्य वार्डको कुरा नै किन नहोस्। उनले फेरि थपिन्, ‘सबैको कम्प्लेन सुन्दा–सुन्दा नराम्रो रेस्पोन्स पनि दिन दिन सक्छौँ।’

डाक्टर र नर्सको सम्बन्ध

सबै डाक्टरहरुले नर्सहरुलाई भेदभाव गर्छन् भन्न मिल्दैन। कति डाक्टरले नर्सहरुलाई सहयोग गर्ने गर्छन् भने कति डाक्टरलाई नर्सले पनि सहयोग गरिरहेको सुजनाले बताइन्।

‘हामी (डाक्टर र नर्स) ले भन्दा पनि विरामीले हामीलाई भिन्नता देखाएका छन्,’ उनले भनिन्, ‘किनकी उनीहरुले डाक्टरलाई माथिल्लो लेवलमा राखेका छन् भने नर्सहरुलाई तल्लो लेवलमा राखेका छन्।’

सायद विरामीले डाक्टरलाई धेरै रेस्पेक्ट गर्ने भएकाले पनि हुन सक्छ, उनीहरुले डाक्टरसँग आफ्नो समस्याहरु खुलेर भन्न सकिरहेका हुँदैनन्, उनले गुनासो गरिन्।

हेल्थ प्रोफेसन

हेल्थ प्रोफेसन भनेको टिमवर्क हो, जहाँ एक जनाले मात्रै गर्छु भनेर सम्भव नभएको सुजनाले बताइन्। ‘डाक्टरले लेखेको औषधिहरु नर्सले विरामीलाई सही तरिकाले खुवाएन भने विरामी निको हुँदैन नि होइन र?’ उनले प्रश्न गर्दै भनिन्,‘तर कतै भने नर्सलाई सर्पोट नगर्ने डाक्टरहरु पनि भेटिने गर्छन्।’

पढ्दा जति खर्च हुन्छ, पढिसकेपछि नेपालमा त्यसको लगानी उठ्न एकदमै कठिन छ। सरकारी भन्दा पनि कतिपय निजी अस्पतालहरुमा काम धेरै गर्न लगाइरहेका छन् तर काम बापत उनीहरुले पैसा भने एकदमै कम दिने गरेका छन्। कतिपय ठाउँमा भोलेन्टेरिङ गर्न लाएर केही समयपछि उनीहरुलाई कामबाट निस्कासन गरिदिने समेत गरेको पाइएको छ।

‘जब स्याटिस्फ्याक्सन नै नभएपछि कुनै पनि मानिसलाई मेन्टल प्रेसर त पर्छ नै,’ सुजनाले भनिन्, ‘अझ हाम्रो क्षेत्र भनेको त एकदमै संवेदनशिल क्षेत्र हो, हामी नै मेन्टल प्रेसरमा रहेर काम गर्दा त्यसको सिधा असर त विरामीलाई नै पर्ने गर्छ।’

नर्सिङ पढेपछिको सपना

नर्सिङ पढेपछि धेरैको सपना पछिल्लो समय विदेशिने बनेको छ। तर अवसर नेपालमा पनि नभएको भने होइन। उसो त नेपालमा यही वर्षदेखि पुरुषले पनि नर्सिङ पढ्न सुरु गरेका छन् तर पनि अहिलेसम्म महिला मात्रै भएर हुन पनि हुन सक्छ अलि हेप्ने प्रवृति भएको उनले बताइन्।

‘बाहिर जस्तो नेपालमा नर्सलाई न कुनै फ्यासिलिट छ न कुनै रेस्पेक्ट नै, जसले गर्दा धेरै नर्सहरु विदेश जान रुचाउने गरेका छन्,’ उनले भनिन्, ‘आफ्नो पर्सनल र अपर्च्यूनिटी त जसले पनि ग्रोथ गर्न सकिहाल्छ नि होइन र?’

सुजनाले पनि पढाइ सकिएलगतै विदेश जाने निर्णय गरेकी थिइन्। उनले नेपालमा केही छैन, बाहिर जानुपर्छ सबै थोक राम्रो छ भनेर सोच्ने गर्थिन्। पढाइ सकिएपछि काम गर्न अस्पतालमा पसिन्। काम सुरु गरिन्। विस्तारै उनका सोचाइहरु परिर्वतन हुँदै गए। सबैभन्दा खुसी सुजनालाई त्यति बेला लाग्छ, जब विरामीलाई स्याहार गरेर निको पारेर उनले घर पठाउँछिन्। उनले भनिन्,‘त्यो खुशीसँग कुनै पनि खुशीको तुलना गर्नै मिल्दैन।’

‘तर कहिलेकाहिँ भने दुःख लाग्छ। हामी हाम्रो परिवारलाई समय नदिएर विरामीको सेवामा तल्लीन हुन्छौँ तर पनि उनीहरुबाट जस पनि पाइरहेका हुँदैनौँ,’ उनले भनिन्।

सुजनाको नजरमा नर्सिङ

नर्सिङ भन्ने बित्तिकै विरामीको केयर गर्नु हो। यो शब्द नै आमासँग जोडिएको हुुन्छ। जसरी एउटा आमाले आफ्नो बच्चाको केयर गर्ने गर्छिन्, त्यसरी नै नर्सले विरामीको केयर गर्नुपर्छ।

‘हाम्रो मुख्य उद्देश्य भनेकै विरामीलाई केयर गरेर निको बनाएर घर पठाउनु हो’, सुजनाले भनिन्, ‘तर धेरैको सोच के छ भने नर्स भनेको अस्पतालमा विरामीलाई सुई लगाउने अनि बिपी लिने भनेर सोच्ने गर्छन्।’

उनले हाँस्दै भनिन्,‘मानिसहरुको सोचाइ परिर्वतन हुन केही समय अझै लाग्छ।’

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू