त्रिवि शिक्षा आयोगको परीक्षा फेरि किन विवादमा फस्यो?

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र राजनीतिक दलको स्वार्थका कारण त्यसको शिक्षा सेवा आयोगको परीक्षा पुनः विवादमा फसेको छ।

आयोगले लिने खुल्ला प्रतिष्पर्धा नाम मात्रैको भएको र त्यसबाट लाभान्वित त्रिविमै आवद्ध उच्च पदाधिकारीहरुका नातेदार र विभिन्न राजनीतिक दलका नेताहरुका आफन्तहरुको नाम निकाल्ने प्रवति केही वर्षयता देखिने गरी बढेको त्रिविकै भित्रियाहरु बताउँछन्।

त्यसको उदाहरण हो वैशाख १३ गते सार्वजनिक भएको आयोगको नतिजा । नतिजा सार्वजनिक भएलगत्तै झस्किएका पीडितहरु अहिले आक्रामक हुन थालेका छन्।

आयोगको यसपल्टको नतिजालाई लिएर पीडित मात्रै होइन, अन्य कर्मचारीहरु समेत अचम्मित बनेका छन्।

आयोगले मनोमानी ढंगबाट सार्वजनिक गरेको नतिजाको विरोध जनाउँदै आइतबार नेपाल विद्यार्थी संघ र नयाँ शक्ति युनियनले आयोग प्रमुखको कुर्सी जलाए।

कुलपति, उपकुलपति मात्रै होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रमा समेत उजुरी परेको  छ।

आयोगका अध्यक्ष चैतन्य शर्मा, त्यसका प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य कृष्ण आचार्य, त्रिविका पूर्व रजिष्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनालका आफन्तलाई पास गराएको भन्दै त्यसविरुद्ध आयोगमा उजुरी परेको छ।

स्रोतले भन्यो, ‘यी सबै पदाधिकारी फरकफरक पार्टीबाट नियुक्त भएका थिए। तर अहिले मिलेमतोमा नातेदारको नाम निकालेका छन्। मेहेनत गर्ने र इमान्दार मानिसलाई उनीहरुले पन्छाएका छन्।’

परीक्षाको नतिजामा कसैका ज्वाइँ, कसैका भतिजी, कसैकी बहिनी, त कसैकी छोरीका नाम उनीहरुले मिलेमतोमा निकालेको स्रोतको दावी छ।

‘यो परीक्षा पुन: लिनुको विकल्प छैन। यसमा निकै ठूलो सेटिङ भएको छ आफन्तका लागि। कम्तीमा पनि ३० जना त्रिवि पदाधिकारीकै नातेदारको नाम निकालिएको छ। यसमा नेकपा, कांग्रेस सबै मिलेर काम गरेका छन्। यसको छानविन हुनुपर्छ,’ स्रोतले भन्यो।

उक्त नतिजालाई लिएर विद्यार्थीहरुले आन्दोलन सुरु गरिसके पनि सरकार मौन छ। विद्यार्थीको आन्दोलनका कारण आइतबार हुने भनिएको त्यसको अन्तवार्ता स्थगित भएको स्रोतको दावी छ।

स्रोतका अनुसार आयोगका अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम त्यहाँको शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा छ भने आयोग प्रमुख कोइरालाकी छोरी नमिता कोइरालाको नाम अधिकृतमा निकालिएको छ।

यस्तै त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य आचार्यकी छोरी कल्पना आचार्यको नाम सहायक लेखापाल पदमा नाम निकालिएको छ। पूर्व रजिष्ट्रार पौडेलकी छोरी सन्ध्या थापा पौडेलेको सहायक लेखा र ज्वाइँ प्रकाश थापाको मुख्य कार्यालय सहायकमा नाम निकालिएको छ।

नतिजा पारदर्शी नभएको र त्यो सच्याउनुपर्ने माग सहित नेपाल राष्ट्रिय कर्मचार संगठन र प्रगतिशील कर्मचारी संगठनले पनि आन्दोलन सुरु गरेको छ। त्यसका अध्यक्ष यादव पोखरेलले आयोगका पदाधिकारीले खेल्ने थलोको रुपमा त्रिवि र शिक्षा आयोग भएको बताए ।

उनले भने,’ यो नतिजामा हामीलाई विश्वास छैन । त्यसबारे हामीले अनौपचारिक र औपचारिकरुपमा जानकारी गराइसकेका छौँ।’

त्रिवि शिक्षा आयोगको परीक्षाको अनियमितता राजनीतिक दलको मिलोमतो रहेकोले पनि त्यसबारे छानविन गर्न सरकार मौन बस्ने गरेको स्रोतको दावी छ ।

आयोगका अध्यक्ष चैतन्य शर्मा भने यस मामिलामा आफुले अहिले बोल्न नचाहेको बताए । उनले भने,’ आरोप सत्य हुँदैन । म यस मामिलामा अहिले बोल्न चाहन्न।’

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्