पोखरादेखि भारतको देहरादुनसम्म सिधा बस सेवा सञ्चालन हुने

पोखरा– पोखरादेखि भारतको उत्तराखण्ड राज्यमा पर्ने देहरादुनसम्म सिधा बस सञ्चालन हुने भएको छ।

पृथ्वीराजमार्ग बस सञ्चालक समिति अन्तर्गतको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले जेठ ८ गतेदेखि एक क्यू सिधा बस सञ्चालन गर्ने भएको हो। हरेक हप्ताको बुधबार एक क्यू पोखराबाट बिहान ११ः३० बजे बस छुट्ने समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए।

पोखरादेखि छुटेको बस नारायणगढ–बुटवल–महेन्द्रनगर–वनवाँसा–रुद्रपुर–हरिद्वार–ऋषिकेश हुँदै देहरादुन पुग्ने समितिका अध्यक्ष एनकुमार साईले बताए।

मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले यसअघि पोखरा–दिल्लीसम्मको सिधा बस सञ्चालन गर्दै आइरहेको छ। थप सेवा विस्तार गर्ने क्रममा देहरादुनलाई पहिलो चरणमा १ क्यु सञ्चालन हुने कम्पनीका प्रबन्ध सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए।

पोखराबाट बुधबार छुटेको बस बिहीबार साँझमात्रै गन्तव्यमा पुग्ने छ। देहरादुनबाट शनिबार बिहान ८ बजे पोखराका लागि उक्त बस फिर्ता आउनेछ। वातानुकुलित (एसी) जडित बस सञ्चालनका लागि तयारी अवस्थामा राखिएको अधिकारीले बताए।

देहरादुनसम्मको एकतर्फी भाडा हाललाई २ हजार ७ सय भारतीय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। परिक्षण स्वरुप भएपनि देहरादुनका लागि बस सेवा सञ्चालन गर्न लागिएको कम्पनीका प्रबन्ध सञ्चालक अधिकारीले बताए। आवश्यकता अनुसारको मागलाई मध्यनजर गर्दै आगामी दिनमा बस संख्या थप गर्न सकिने तयारी रहेको उनले बताए।

कम्पनी मार्फत नै पोखरादेखि भारतको बिहार राज्यमा पर्ने  पटनासम्म बस सेवा सञ्चालन गर्ने समेत तयारी रहेको बताइएको छ। पृथ्वीराजमार्ग समितिले निर्णय गरिसकेको भएपनि व्यवस्थापनको कामले गर्दा केही समय लाग्ने समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए।

भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्र्याउन सिधा बस सेवा सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ।

भारतको हरिद्वार, ऋषिकेश हुँदै पर्यटक मुक्तिनाथसम्म पुग्ने गर्छन। स्तरीय बस सेवा सञ्चालनले पर्यटक आवागमनमा सहजता पुग्ने विश्वास लिइएको छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्