म्यान सिटी प्रिमियर लिग च्याम्पियन, लिभरपुल एक अंकले पछाडि

लन्डन- म्यानचेस्टर सिटिले  इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गरेको छ।

सिजनको आफ्नो अन्तिम लिग खेलमा आइतबार ब्रिघ्टनलाई ४-१ गोलले हराएको म्यान सिटीले निकटतम प्रतिद्धन्द्धी लिभरपुललाई एक अंकले पछाडि पार्‍यो। म्यान सिटीले ३८ खेलबाट ९८ अंक जोड्यो।

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको लिभरपुल ३८ खेलबाट ९७ अंक जोडेर दोस्रो स्थानमा रह्यो। लिभरपुलले अन्तिम खेलमा आईतबार उल्भ्सलाई २-०  गोलले हरायो। म्यान सिटी लगातार दोस्रो सिजन घरेलु लिग च्याम्पियन बनेको हो।

ब्रिघ्टनविरुद्ध म्यान सिटीका सर्जियो एगुएरो,रियाद माहरेज, इके गुन्डोगान र  आयमेरिक लापोर्टेले एक एक गोल गरे। खेलमा सुरुवाती अग्रता भने ब्रिघ्टनले लिएको थियो २७ औँ मिनेटमा। तर एगुएरोले एक मिनेट पनि वित्न नपाउँदै खेल बराबरीमा ल्याए।

लापोर्टेले ३८ औँ मिनेटमा माहरेजको पासमा गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाए। माहरेजले ६३ औँ मिनेटमा गोल थपेपछि म्यान सिटी उपाधि नजिक पुगेको थियो। इके गुन्डोगानले ७२ औँ मिनेटमा अर्को गोल थपे।  दुई गोलमा डेभिड सिल्भाले पास उपलब्ध गराए। अर्को खेलमा सेडियो मानेले लिभरपुलका दुवै गोल गरे।

लिगको यो सिजन म्यान सिटीले ३२ जित,दुई बराबरी र चार हारको नतिजा निकाल्यो। लिभरपुलले ३० खेलमा जित र सात खेलमा बराबरी खेल्यो भने केवल एक खेलमा हार ब्यहोरेको थियो। लिभरपुलको उक्त हार म्यान सिटीसँग नै रहेको थियो।

म्यान सिटी र लिभरपुलसँगै चेल्सी र टोट्टनहाम आगामी युरोपियन च्याम्पियन्स लिगको लागि छनोट भएका छन्। कार्डिफ,हडर्सफिल्ड र फुलहाम रेलिगेसनमा परे। टोट्टनहाम ३८ खेलबाट ७१ अंक जोडेर तेस्रो भयो। समान अंक भएको चेल्सी चौथो स्थानमा रह्यो। टोट्टनहाम युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ।

लिगको अन्तिम दिन टोट्टनहामले एभर्टनसँग २-२ गोलको बराबरी खेल्यो भने चेल्सी लेसेस्टरसँग गोलरहित बराबरीमा रोकियो। ३८ खेलबाट ७० अंक भएको आर्सनल पाँचौँ स्थानमा रह्यो। लिगको शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ।

लिभरपुलका मोहम्मद सलाह र आर्सनलका औबामेयाङ  यो सिजन प्रिमियर लिगको  सर्वाधिक गोलकर्ता बने। दुवैले समान २२ गोल गरे। तर असिस्टका आधारमा सलाह शीर्षस्थानमा रहे। सलाहले ८ र औबामेयाङले ५ असिस्ट गरेका थिए। सलाह लगातार दोस्रो सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका हुन्।

 

 

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्