लिभरपुल पछि पर्‍यो

म्यानचेस्टर सिटी बन्यो लगातार दोस्रो सिजन प्रिमियर लिग च्याम्पियन

अति प्रतिस्पर्धात्मक सिजन बिट म्यानचेस्टर सिटीले उपाधिसहित मारेको छ । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजन इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको सिजनको अन्तिम खेल उपाधिका लागि महत्वपूर्ण थियो । यो खेलमा सुरुमा पछि परेर पनि सिटीले जित निकाल्दै उपाधि रक्षा गरेको हो ।

अवे मैदानमा भएको खेलमा ब्राइटनलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि पक्का गरेको हो । २७ औँ मिनेटमा ग्लेन मुरेले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए ।

तर त्यसको एक मिनेटपछि नै सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि बराबरी गोल गरे । ३८ औँ मिनेटमा इमरिक लेपोर्टले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लियो ।

दोस्रो हाफमा सिटीले थप दुई गोल गरेको हो । उसका लागि रियाद महरेजले ६३ तथा इल्कायी गुन्डोगानले ७२ औँ मिनेटमा गोल गरे र टिम ४–१ ले विजयी भयो । यो जित लिभरपुललाई पछि पारेर जित निकाल्न पर्याप्त भयो ।

लिभरपुललाई एक अंकले पछि पार्दै सिटीले उपाधि जितेको हो । सिटीको ९८ तथा लिभरपुलको ९७ अंक भयो ।

पछिल्लो १० वर्षमा लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जित्ने म्यानचेस्टर सिटी पहिलो टिम हो । १० वर्षअघि म्यानचेस्टर युनाइटेडले लगातार उपाधि जितेको थियो ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्