सिंहदरबारका पहरेदारको कथा

अनि दुर्गाबहादुरले जिम्मा लिन्छन् श्रम मन्त्रालय

घाम अस्ताउने सुरसार गर्न थाल्छ। सिंहदरबारको चहलपहल घट्दै जान्छ । झण्डा फहराउँदै मन्त्रीहरु बाहिरिन थाल्छन्। दिनभरि काम गरेर कर्मचारीहरु पनि बाटो लाग्छन्। तर लमजुङका दुर्गाबहादुर घर्ती भने त्यसपछि थप चनाखो बन्न थाल्छन्।

दुर्गाबहादुर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहरेदार हुन्। दिनभरि मन्त्रालयमा उनको खासै काम हुँदैन। कहिलेकहिँ कार्यक्रम भएको बेला खट्नुपर्छ, नभए जानकारी गराएर उनले फुर्सद लिन सक्छन्। तर राति उनलाई यस्तो छुट् हुँदैन किनकी उनकै भरमा हुन्छ श्रम मन्त्रालय।

दुर्गाबहादुर लमजुङको राइनसटार नगरपालिका ७ बाट जागिरका लागि काठमाडौँ आएको ३० वर्ष भयो।

पञ्चायतकाल थियो। दुर्गाबहादुरका भिनाजुले ‘जागिर म मिलाउँछु’ भनेर दुर्गाबहादुरलाई बोलाएका थिए। भिनाजु ट्रेकिङ व्यवसायी हुन्, उनको काठमाडौँमा घर पनि छ।भिनाजुको ढाडस पाएपछि दुर्गाबहादुर मिठो सपना बोकेर काठमाडौँ आएका थिए। भिनाजुकै भनसुनमा दुर्गाबहादुरले जागिर पाए । तत्कालिन श्रम तथा सामाजिक कल्याण मन्त्रालयको राज्यमन्त्री लिलाराज बिष्टलाई भिनाजुले भनेपछि दुर्गाबहादुरलाई जागिर मिल्यो।

कुरा २०४५ साल जेठतिरको हो। त्यहिबाट सुरु भएको थियो दुर्गाबहादुरको सरकारी जागिरे जीवन। उनले यो ३० वर्षको अवधिमा धेरै मन्त्री र सचिवसँग काम गरे। तर सिंहदरबारले उनका सपना भने पूरा गरेन।

रातको समयमा छ डियुटि। उस्तै जस्तो छ जीवन आजपनि अन्धकार। अहिले पनि काठमाडौँमा बास ठड्याउने सपना अधुरै छ। यो कुराले दुर्गाबहादुरलाई घोचिरहन्छ।

३० वर्ष सरकारी जागिर खाँदा पनि डेरामा बस्नु परेको छ। सँगै काम गरेका साथीहरुले घर घडेरी जोडे। दुर्गाबहादुरका परिवार भने बानेश्वरमा कोठा भाडामा लिएर बस्छन्।

उनका श्रीमती दुई छोरा र दुई छोरी छन्। ‘छोरा छोरी पढाएँ, यहि हो मेरो जागिरको उपलब्धि । अरु केही गर्न सकिन’, दुर्गाबहादुर खिन्न मान्दै भन्छन्। उनले मन्त्रालयको आफू बस्ने कोठाको झ्यालमा राखेको सम्मानसहितको फोटो देखाउँदै भने, ‘मैले कमाएको यही हो।’

तीन वर्ष पहिले सूर्यमान गुरुङ श्रम मन्त्री हुँदा उनले उत्कृष्ठ कर्मचारीको सम्मान पाएका थिए। जागिरको उत्तरार्धमा पुग्दै गर्दा आफ्नो कमाईको हिसावमा यही सम्मान छ सम्झन लायक। अरु बचेन, खर्चै ठिक्क भो।

उनको कमाई २५ हजार हुन्छ। बानेश्वरमा कोठा भाडा १० हजार बुझाउनु पर्छ। उनकै कमाई हो घर खर्चको बाटो। जागिर अब १४ महिना बाँकी छ । त्यसपछि उमेर हदका कारण बिदा लिनुपर्छ दुर्गाबहादुरले।

गाउँतिर र आफन्त नातागोताले देख्नलाई त दुर्गाबहादुरको छुट्टै शान छ, मन्त्रालयको जागिर । धेरैले सोच्दा हुन् मन्त्री, सचिवलाई चिनेको छ, गज्जवको छ ‘लाइफ’।

उनीहरुलाई के थाहा २४ सै घण्टा, बाह्रैमास खट्नु परेको ।

दुर्गाबहादुरले धेरै भयो छुट्टि पनि नपाएको। पहिले एक जना साथी थिए। उनीसँग एक एक महिनाको पालो लगाएर डियुटि गर्थे। तर पछि साथीले जागिर छाडेपछि एक दिन पनि पालो पाएनन् दुर्गाबहादुरले।

छन त बाहिर सेना प्रहरी पनि छन्। श्रम मन्त्रालयको छेउमै छ सेनाको पोष्ट। तर श्रम मन्त्रालयभीत्रको सुरक्षाको जिम्मा दुर्गाबहादुरकै हातमा हुन्छ। रातभरी चनाखो भएर डियुटि गर्छन्। जब कर्मचारीहरु आउन थाल्छन् अनि, बिश्राम लिन्छन् दुर्गाबहादुर।

तर हरेक साँझ उनको डियुटि उसैगरी सुरु हुन्छ जब अरु बाटो लाग्न थाल्छन्।

सबै तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्