राष्ट्रपति भण्डारी जनकपुर आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी।

जनकपुरधाम – जानकी जन्मोत्सवको अवसरमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार जनकपुरधाम आउन लागेकी छन् ।

जानकी नवमीको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारीको ८ः ४५ मा जनकपुर विमान स्थल पुग्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार बिहान ८ः४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ठ व्यक्तिहरू जनकपुरधाम एयरपोर्ट आउने र एयरपोर्टबाट सिधैँ जानकी मन्दिरमा पूजा तथा दर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

पूजा दर्शन पश्चात विश्रामपछि जानकी महोत्सव विशेष समारोहमा ४५ मिनेट सहभागी हुने समेत कार्यक्रम रहेको जनाइएको छ ।

विशेष कार्यक्रममा सहभागि पछि सिधैँ राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको प्रजिअ कणेलले जानकारी दिए ।

यसैगरी, जानकी मन्दिरले १५ दिवसीय जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश सरकारले जानकी नवमीको अवसरमा शुभकामना दिँदै सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।

बैशाख २२ गतेदेखि मनाइँदै आएको जानकी महोत्सवमा जेष्ठ ४ गतेसम्म चल्ने छ ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्