बिहान फोनमा कुरा गर्दा हतारमा सुनिएका उनले बेलुका आउन भनेका थिए । भनेकै समयमा गएर पर्खिँदा पनि उनी आइपुगेनन् । साँझ पर्नै लाग्दा उनी गेटबाट छिरे । आँगन र पिँढीमा उनलाई पर्खिरहेकाहरुको जमात थियो ।

अभिवादन गर्दै छेवैको सोफामा बसे । सुस्केरा हाले । दौरा–सुरुवालसँग मिलेको रंगको टोपी फुकाले । निधारको पसिना पुछे । अनि बल्ल यताउता आँखा डुलाए । सबैलाई मुस्कुराएर अभिवादन फर्काए । दिनभरिको दौडधुपको थकाई बिसाए साँझ साढे ६ बजेतिर वाङ्मय शताब्दी पुरुषका रुपमा परिचित सत्यमोहन जोशीले ।

सोमबार जीवनको ९९ वर्ष पूरा गरेर १०० औँ वर्षमा प्रवेश गरेका सत्यमोहनलाई दुई दिनअघि भेट्न जाँदा देखिएको दृश्य हो यो ।

पिता १०० वर्ष लाग्दै गरेको हर्षोत्सवमा सामेल हुन अमेरिकाबाट आएकी कान्छी छोरी खड्गलक्ष्मी शाक्यले पिताको दर्शन पाएकी थिइनन् । सोफामा बसेर दुई–चार सुस्केरा मारेपछि सत्यमोहनले छोरीलाई देखे । पानी पिउँदै गर्दा आँखाको सारमा हालखबर सोधे । छोरी खड्गलक्ष्मीको अनुहारभरि पितृस्नेह भरियो ।

खुट्टा खापेर बसेका सत्यमोहनले बिस्तारै जुत्ताको तुना फुकाले । तुना लत्र्याउँदै सिँढी उक्लेर पिँढी हुँदै ढोका भित्र पसे । सत्यमोहन केहीबेर भित्रै हराए ।

चार बिसदेखि बाटो हेरिरहेका आँखाहरु

सत्यमोहन जोशीकी धर्मपत्नि राधादेवी जोशी । ९६ वर्षकी उनी हिँडडुल गर्न त्यति सक्दिनन् ।

पिँढीमा पर्खिरहेका मध्ये थिइन् विगत ८२ वर्षदेखि उनको बाटो यसैगरि हेरिरहेकी राधादेवी जोशी अर्थात उनकी धर्मपत्नी । बिहे हुँदा उनी १४ वर्षकी थिइन् ।

पति भन्दा चार वर्षले कान्छी राधादेवी हिँडडुल गर्न सक्दिनन् । आँखा र कान भने तगडा छन् । अघिपट्टिकाे एउटा दाँत बाँकी छ । अरु अधिकांश झरेको धेरै भो ।

पतिको व्यस्ततासँग झण्डै एक जुगको साक्षात्कार संगालेकी राधादेवीलाई घर भरिभराउ हुँदा रमाइलो लागेको छ । त्यसमाथि पति आएपछि बाँकी रहेको सुनो पन सकियो ।

सत्यमोहनले ढोकाबाट पस्दै गर्दा राधादेवीतिर आँखा पारेनन्, राधादेवी भने उनैतिर हेरिरहेकी थिइन् ।

१४ वर्षको हुँदा बिहे भयो १९ वर्षका सत्यमोहनसँग, त्यहाँदेखि सुरु भएको साथमा नमिठो अनुभव शायदै होला राधादेवीसँग । केहीबेर हामीसँग बातचित गर्दा उनले सत्यमोहनसँग साटेको जीवनको विगत सम्झिइन् ।

तीन वर्ष भएछ उनी घरको आँगन कटेर बाहिर ननिस्केको । यहि आँगन, पिँढी र घर उनका साथी मात्र हैन उनको संसार पनि बनेका छन् । अरु समय व्यस्त रहने पति अहिले व्यस्त नहुने त कुरै भएन ।

राति अबेर कुरा गर्ने मेसो मिल्छ ।

हुर्केर आफ्नो गुँड र बचेराको तारतम्य मिलाउन व्यस्त सन्तानका कुरा सुनाउँछिन् केहीबेर । दिनभरि कसले फोन गरे, के भने भनेर बताउँछिन् । के खान्छौ भनेर सोध्छिन् । आफै बनाउन नसके पनि सहयोगीलाई निर्देशनबाट सन्तुष्टि अनुकुल खाना प्राप्त हुन्ट सत्यमोहनलाई ।

८ सन्तान जन्माएकी उनका तीन छोरा र तीन छोरी बाँकी छन् । बस्दै आएको घरमा भने बुढाबुढी र एक सहयोगीको मात्रै बास छ । अरु सबै आ–आफ्नै जीविकामा मग्न छन् । कैलेकसो भेट्न आउँछन्, दिनकैजसो फोन गर्छन् ।

सम्झिँदै जाँदा हातगोडा बलिया हुँदै कुरा मनमा आएछ, पलेँटी कसेर बसेकी उनी मज्जाले हाँसिन् । कारण रहेछ, उ बेला पनि त यस्तै थिए यी । यी अर्थात पति सत्यमोहन ।

उनलाई स्पष्ट याद छ सत्यमोहनले कहिल्यै टोकसो गरेनन् । पति–पत्नीबिच ठाकठुक त परेका थिए, तर छिनभर पनि नबोली बसेनन् उनीहरु । ‘नबोली बस्न सक्दैनथ्यौँ’, केहीबेर विगतले दिएको मुस्कान बाँचेर राधादेवीले भनेकी हुन् ।

ढोकाबाट बाहिर पिँढीमा निस्कने प्रयासमा राधादेवी जोशी ।

दिनभरि काममा व्यस्त हुने उनी घरको, सत्यमोहन बाहिर हुन्थे । घर आएपछि पनि लेखपढमै व्यस्त । खानपिन गरेर सुत्नु पर्दैन भन्दा ‘यति लेखिसकेर सुत्छु’ भन्थे । अहिले पनि उस्तै छ दैनिकी । मात्रै फेरिएको छ, उमेर र त्यसले दिएका अनुभवहरु ।

जीवनको लामो साथले राधादेवीलाई सत्यमोहनप्रति गुनासो गर्न होइन सम्मान गर्न सिकायो । र सत्यमोहनले पनि उनलाई उसै गरे । लेखपढ आउँदैनथ्यो । बिहेपछि नै सिकेकी हुन् उनले बाह्रखरी । तर घरव्यवहार उनैले सम्हालिन् । सत्यमोहनले कहिले प्रश्न गरेनन् मात्रै साथ दिए ।

पतिले गरेको कर्म र उनले बाँचेको यति लामो उमेरको साथी र साक्षी हुन पाएकोमा उनी औधी खुशी छन् । पतिले आराम गरुन् भन्ने मनमा त लाग्छ । तर उनको जीवन नै यसरी बित्यो भने अबको बाँकी समय पनि उसै गरि चलोस् भन्ने सतकामना छ राधादेवीको ।

दशकौँ लामो पृतिस्नेह

सत्यमोहनकी कान्छी छोरी खड्गदेवी शाक्य ।

अघि भित्र पसेका सत्यमोहन हातमा केही खाम लिएर बाहिरिन खोज्दै थिए ढोकाबाट । उनलाई पर्खिरहेका मध्ये केही पिँढीमा थिए, भित्रैबाट सत्यमोहनले उनीहरुका हातमा थमाए ती खामहरु । खाम थमाउने क्रममा अड्कल गरिरहेका थिए ।

त्यसपछि आँगनमा आएका उनले अर्को कुनामा बसेका एक आगन्तुकलाई बल्ल देखेछन् । नेवारी भाषामा कुरा गरे, हावभावले बुझिन्थ्यो हालचाल सोधेका थिए । छिनभरको भलाकुसारीपछि उनले कोटको खल्तीबाट कालो ‘वालेट निकाले’ ।

पत्रिका ल्याउन दिने खुद्रा पैसा खोज्दै थिए । केहीबेरमा उनकी एक नातिनी आफूसँग भएको खुद्रा पैसा लिएर पत्रिका लिन बाहिरिइन् । अर्की एक आगन्तुकले सिसाको गिलासमा पानी दिइन् । उनले आधा खाएर टेबुलमा राखे ।

अघिदेखि पितालाई हेरिरहेकी छोरी खड्गलक्ष्मीलाई शायद प्यास मेटिएन जस्तो लाग्यो पूरै पानी पिउन भनिन् ।

उनी दिउँसो मात्रै आइपुगेकी अमेरिकाबाट । पितासँग बसेर हाल सुनाउने मौका पाएकी थिइनन् । आफ्ना पिताले गरेको काम र त्यसले नेपाली भाषा, साहित्य एवम् कला संस्कृतिमा दिएको योगदानको ख्याल छ उनलाई । त्यहि भएर देशैले मनाउन लागेको आफ्ना पिताको सयौँ जन्मोत्सवमा सामेल हुन सात समुद्र पारीबाट हानिएकी उनी यो माइती देश ।

आफै ६० वर्ष पुगेकी उनलाई अब अवकाशपछिको जीवन बिताउने समय आयो जस्तो लाग्छ । तर १०० वर्षका पिताको सक्रियता र जाँगरले होइन जस्तो लाग्छ । अमेरिकामा कार्यरत उनलाई पितासँग बोल्ने मौका मुश्किलले जुर्ने रहेछ फोनमा पनि । बिहान भेट होला भनेर पर्खेर बस्यो १५–२० दिनमा एक पटक मेसो मिल्छ हालखबर बुझ्ने अनि आफ्नो बताउने ।

आफ्नो पाक्दै गरेको केश र उकालो चढ्दै गरेको उमेरमा पनि सक्रिय पिताको स्नेह पाउनु सौभाग्यको कुरा लाग्छ उनलाई ।

सजिलो छ खुशी पार्न


दिनभरिको व्यस्तताले थाकेका सत्यमोहनको सक्रियता घरमा आएर पनि उस्तै थियो । भन्न त उनलाई भेट्न पर्खिरहेकाहरुले ‘थाक्नु भएको छ’ भनिरहेका थिए । तर बोल्ने र शुभकामना दिने रहर भने कहाँ मार्न सकिन्थ्यो र उनीहरु त्यसमै व्यस्त थिए ।

यी सबै भिडभाडको बिचमा सक्रिय एक बृद्धा थिइन् । उमेर कतिभयो भन्दा, ‘जंकु गर्ने बेला भयो’ भन्ने जवाफ दिएकी थिइन् उनले । अर्थात ७७ वर्ष पुग्ने बेला भएको रैछ ।

उनी अर्थात चिरुमाया अवाले । उनको नाता केही छैन रगतको सत्यमोहनसँग तर उनी सबैभन्दा नजिक छन् र आफन्त हुन् सत्यमोहन र उनकी श्रीमती राधादेवीकी ।

पर पिँढिमा रहेकी राधादेवीले उनको परिचय दिइन् ‘हाम्री सहयोगी हुन्, हेरविचार गर्ने ।’

चिरुमाया अवालेले सत्यमोहन दम्पतीको ख्याल राख्न थालेको ३० वर्ष नाघ्यो । दिनभरि घर भरिभराउ हुन्छ । बेलुका उनीसहित तीनजना मात्रै हुन्छन् । आउने पाहुनाहरुका लागि चिया पानीको व्यवस्था र बिहान बेलुकाको खानाको जोहो गर्दै बित्छ उनको दैनिकी ।

चिरुमायालाई अचम्म लाग्छ, अझै पनि सत्यमोहन फुलउठेको मकै खान खुब चाख गर्छन् ।

खसीको मासु विशेष स्वादले खान्छन् ।

चिउरा, गुन्द्रुक खाने रहर गरिरहन्छन् । यस्तो खान्न, यो मिठो भएन भनेको या खानामा खोट लगाएको अहिलेसम्म यादै छैन । र त उनलाई हरेक पटक भान्छा तयार गर्न उस्तै जाँगर लाग्छ ।

बिहान पाँच नबज्दै उढ्ने र राति अबेर सुत्ने । दिनभरि व्यस्त हुने सत्यमोहनको सक्रिय जीवनको राज खोट नलगाइ खाने बानी नै हो जस्तो लाग्छ उनलाई । खाना अलिक गिलो भयो भने हुन्छ । अरु खासै केही ‘डिमाण्ड’ हुँदैन ।

चिरुमायाले मुस्कुराउँदै, अघिल्तिरको दाँत फुत्केको गिँजा छोप्दै भनिन्, ‘खुशी पार्न सजिलो छ ।’

बल्ल जुर्यो समय


झमक्क साँझ परेको थियो । बेलुकाको साढे सात हुनै लाग्दा सत्यमोहन आँगनको दक्षिण तर्फको कोठामा छिरे । उनीसँग बाँकी रहेका केही आगन्तुक पनि पसे । उनीहरु निम्तो कार्ड लिन पसेका थिए । उनको जन्मोत्सव समारोहको कार्ड थियो त्यो ।

अघि कुनामा बसेका एक आगन्तुक जसलाई सत्यमोहनले ढिलो गरि देखेका थिए, उनले हालचाल बुझ्ने मौका पाएका थिए । केहीबेर उनीसँग अल्झिएपछि बल्ल हामीतिर हेरे सत्यमोहनले ।

घर पस्दै गर्दा देखेका उनलाई थाहा थियो केही समय लिने छौँ भन्ने । केहीबेर पछि भनेको घण्टापछि मिल्यो समय ।

‘लौ अब कुरा गरौँ, थाकेको छु, लामो नगरौँ है’, भन्दै थिए उनी ।

कुराको सुरुवात उनले बाँचेको उमेरबाटै भयो । उनलाई आफूले पूरा गर्दै गरेको ९९ वर्ष र टेक्दै गरेको १०० औँ अर्थात उमेरको शताब्दीसँग लगाव छ तर भयंकर भने लागेको छैन ।

अंकहरुमा बाँचेको वर्षले शताब्दी लागे पनि कर्मले त्यसको छिनो अंश पनि पूरा गरेको छैन जस्तो ठान्छन् उनी । हुन त उनले आफ्नो जीवनको अधिकांश समय भाषा, साहित्य तथा कला–संस्कृतिकै सेवामा लगाएका छन् ।

उनलाई आफूले नापेका हरेक पदचापको ख्याल छ र ती पदचापहरुमा गर्न सकिने अझै धेरै बाँकी थियो जस्तो पनि लागि रहन्छ । काटेको समय र बिताएको उमेर भन्दा पनि गरेका काम र अझ गर्न सकिने के थियो भन्ने ख्यालहरु बढि आँउदा रहेछन् ।

तर कमैले मात्रै यति लामो समयसम्म सक्रिय कर्म गर्न, आफ्नो कर्मलाई केलाउन र त्यसलाई थप परिस्कृत गर्ने मौका पाउँछन् भन्ने थाहा छ उनलाई । त्यसका लागि भने उनलाई आफू भाग्यमानी छु जस्तो लाग्छ ।

बुढ्यौली उत्सव जस्तो


कोठाका भित्ताभरि सम्मान पत्रहरु छन् । वरिपरि पुस्तकको चाङ छ । बिचभागको छेउतिरको सोफामा बसेका सत्यमोहनले आफूलाई बुढ्यौली उत्सव जस्तो लागेको बताए । उत्सव यो अर्थमा कि अझै पनि सक्रिय हुन सकेकोमा । आफनो रुचिको काम जारी राख्न सकेकोमा ।

तर दिनभरि व्यस्त भइरहँदा अरुले जस्तो बुढ्यौली बाँच्न पाइनकी जस्तो पनि लाग्छ । बिहान उदाएको सूर्य बेलुका अस्ताउँछ र फेरि भोलिपल्ट उसै गरि उदाउँछ । उनलाई यसको रहस्य के होला ? भन्ने गमेर बस्ने मन छ ।

मोह र लोभ त छैन । तर त्यसबाट पूर्णरुपमा मुक्त हुने रहर छ । र पनि कला–संस्कृतिको काममा सक्रिय हुन पाएकोमा उनलाई आफ्नो जीवन त्यसमाथि अहिले बाँचिरहेको बुढ्यौली उत्सव जस्तो लागेको छ ।

कुराकानीमा उनले कात्तिक नाचको वियोगान्त पक्षको कुरा उप्काए । ‘संसारमा वियोगान्त नाचहरु विख्यात थिए, अधिकांश देशमा हराउँदै गए । हामीले जीवित राखेका छौँ ।’ यसो भन्दा उनको अनुहारको उज्यालो अर्कै भयो ।

इतिहासको कुरा गरे । मुर्तिकलाको प्रामाणिक इतिहास पाँचौँ शताब्दीबाट दोस्रो शताब्दीमा पुगेको छ नेपालको । उनले पछिल्लोपटक लेखेको मुर्तिकला सम्बन्धी पुस्तकका ती पुराना मुर्ति र तिनका कलाबारे उल्लेख गरेका छन् ।

सबै कर्महरुले उनलाई अहिले बाँचीरहेको पाको उमेर भव्य उत्सव लागेको छ । तर पाको हुँदा हड्डीहरु पहिले जस्तो बलिया छैनन्, चाँडै थाक्छन् । यत्ति मात्रै हो कमजोरी, तर यो पनि त उमेरको विशेषता हो भनेर बुझेका छन् उनले ।

गुनासो नगरौँ भन्छन् र व्यक्तिगत सपनाहरु छैनन् पनि


फेरिएका विभिन्न व्यवस्थाहरुको साझी बनेका सत्यमोहनलाई भिन्न परिवेशहरुसँग खासै गुनासो छैन । समयसँगै व्यवस्थाहरु फेरिन्छन् । राजनीतिक परिवर्तनहरुसँग खासै गुनासो छैन भन्ने कुरालाई नकारात्मक पाटोबाट नहेरौँ भन्छन् पनि ।

तर राजनीतिक वा आर्थिक परिवर्तनले मात्रै देशको इज्जतको आकार फराकिलो बन्दैन । यसका लागि भाषा–साहित्य तथा कला–संस्कृतिको पक्ष बलियो बन्नु पर्छ । सानो भूगोलमा अनेक जाति र तिनका आफ्नै भाषा, साहित्य, संस्कृति र जीवनशैलीले नेपाली परिवेशलाई भरिपूर्ण बनाएको छ भन्छन् । तर यहि विविधताको संरक्षणका लागि चाहिने जति काम हुन नसकेकोमा उनलाई गुनासो छ । तर होला की भन्ने आशसँग पनि मिसिएको छ त्यो गुनासो ।

‘काम गर्नलाई कानूनले रोक्दैन । संस्कृति सम्बन्धी कानून छ, गर्ने हो भने सबै काम गर्न त्यसले बाटो खोलेको छ । तर राज्य सत्तामा समृद्धिको आधार संस्कृति पनि हो भन्ने ख्याल हुनु पर्छ ।’ यति भनेका उनले आफ्ना व्यक्तिगत सपनाहरु भने नरहेको बताए ।

‘केही छैन व्यक्तिगत चाह र सपनाहरु । मात्रै यो संस्कृतिको सेवालाई काम राख्न सकुँ ।’

केहीबेरको कुराकानीमा उनले भाषा, साहित्य, र कला संस्कृतिकै कुरालाई जोड दिए । फेरिएका व्यवस्थाहरुसँगै नफेरिएको सांस्कृतिक व्यवस्थापन प्रतिको चासोप्रति केही मन साँघुरो बनाए । अनि व्याप्त विविधतामाथि गर्वले छाती फुलाए ।

अँध्यारो चिर्न बालिएको बिजुली बत्तिको प्रकाशमा प्रकाशित पत्रिकाहरु नियाल्न थाले, अघि नातिनीले ल्याइदिएकी थिइन् प्रकाशित अधिकांश पत्रिकाहरु ।

उनी पत्रिकाका पाना पल्दाउँदै थिए । आँखाहरु त्यहाँबाट हटेका थिएनन् । शताब्दी बाच्दै गरेका सत्यमोहनले आफूलाई व्यस्त बनाइरहे ।

हामी निस्कँदै गर्दा ढोका बन्द गरिदिन भनेका उनी पत्रिकाहरुमा घोत्लिरहे ।

सबै तस्बिर तथा भिडियो : रविन आचार्य/देश सञ्चार

बैशाख ३०, २०७६ मा प्रकाशित