इन्जिनियरलाई ज्यान मार्ने धम्की, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ-नेपाल इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएका वडा सदस्यलाई कारवाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।

समितिका सभापति नन्दलाल बन्जाडेको नेतृत्वमा इन्जिनियरहरुको टोलीले गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।

झोलुङ्गे पूल उपभोक्ता समितिसँग गरिएको सम्झौता सम्बन्धी बिषयलाई लिएर अछाम जिल्ला समन्वय समिति सदस्य बेदप्रकाश तिमिल्सिनाले अछामको पुर्वाधार विकास कार्यालय सांफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई अश्लील शब्द प्रयोग गर्नुका साथै काट्ने, मार्ने धम्की समेत दिएका थिए।

तिमिल्सिनाले भने बमोजिम काम नभएपछि इन्जिनियरलाई तथानाम गालीगलौज गरेको अडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भईरहेको बन्जाडेले बताए।

गृहमन्त्रीसँग बन्जाडेले इन्जिनियरहरु माथि यस प्रकारको घटना श्रृखंलावद्ध रुपमा भईरहेको र यसअघि पनि सिन्धुली तथा सिन्धुपाल्चोकमा समेत इन्जिनियर कुटिएको विषयलाई दर्शाएका थिए।

इन्जिनियरहरुको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले सिन्धुली र सिन्धुपाल्चोकको घटनाका विषयमा आफूलाई जानकारी नभएको र अछाममा इन्जिनियर माथि ज्यान मार्ने धम्की आएको बिषयमा आफूले निर्देशन समेत दिईसकेको जानकारी गराएका छन्।

गृहमन्त्रीले भने, ‘अछाममा इन्जिनियरलाई जनप्रतिनिधीले ज्यान मार्ने धम्की दिएको बिषय त्यहाँ सांसदले पनि मलाई अवगत गराउनुभएको थियो, हामीले अनुसन्धानका लागि निर्देशन दिइसकेका छौँ, सरकार नागरिकको सुुरक्षाका लागि सदा संवेदनशील र प्रतिवद्ध भएर आगडि बढिरहेको छ।’

ज्ञापन पत्रमा भनिएको छ, ‘फिल्डको काममा खटिएका प्राविधिक कर्मचारीहरुलाई कुटपिट, धम्की र अभद्र व्यवहार यस अघि पनि सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा भएको र पटक पटक यस्ता घटना दोहोरिएको हुँदा एशोसिएसनले सरकारको ध्यानाकर्षण गर्न गरेको छ।’

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्