जानकी मन्दिरमा पूजा गर्न पाउँदा प्रशन्‍न भएँ-राष्ट्रपति भण्डारी

जानकी नवमी उत्सवमा सहभागी हुन जानकी मन्दिर आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी पूजापछि टीका लगाउँदै। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम-राष्ट्रपति विद्या भण्डारीले जानकी नवमीमा जानकी मन्दिरको अवलोकनसँगै पूजागर्न पाउँदा खुसी व्यक्त गरेकी छन्।

उनले मौलिक मिथिला कला र संस्कृतिको उत्कृष्ट नमुनाको रुपमा विश्वविख्यात जानकी मन्दिरमा पुजाअर्चना तथा अवलोकन गर्न पाएकोमा मन प्रसन्न भएको बताएकी छन्।

नौलखा मन्दिरले समेत प्रसिद्ध यस परिसरमा अयोजित यस कार्यक्रमले नेपालको समाजिक, सांस्कृतिक सरोवर, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुद्धृढ पुर्‍याउन मद्यत पुग्ने विश्‍वास लिएको बताएकी छिन्।

यस्तै,उनले हाम्रो संस्कृति र परम्पराको संरक्षण संवद्र्धन गर्नु हामी सबैको कर्तव्य रहेको भन्दै यो हाम्रो पुर्खाले सुम्पेको सम्पत्ति समेत रहेको बताइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले जारी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको प्रशंसा समेत गरेकी छन्।उनले प्रदेश सरकारले शुरु गरेको बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रभावकारी रुपमा अघि बढेकोमा प्रशंसा गरेकी हुन्।

अर्को प्रसँगमा राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिको लागि कृषिलाई आधुनिकीकरण एवं व्यावसायीकरण गरी मिथिलाको उर्वर भूमिलाई सदुपयोग गर्न सबैमा आग्रह गरिन्।

‘विदेहका राजा जनकले कृषिकरण महायज्ञ आयोजन गर्दा सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले अहिले यही भूमिमा कृषि क्षेत्रमा उत्पादनमा कमि आउनु दुखद रहेको बताएकी थिइन्।

उनले भने, ‘चुरे क्षेत्रको संरक्षणमा ध्यान दिइ पर्यावरण सन्तुलन कायम गरी दिगोग विकासको अवधारण सहित कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण गर्न यस भूमिको प्रचुर उपयोग गर्नु पर्दछ।’ यस्तै, यहाँ अवस्थित अपार प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्दै आर्थिक समृद्धिमा अग्रसर हुन मेरो आग्रह छ । ’

यता, जानकी नवमीमा महत्वपूर्ण अवसर मिलाई दिएको भन्दै राष्ट्रपति भण्डारीले नेपाल सरकार र प्रदेश २ सरकार सहित जानकी मन्दिरलाई समेत धन्यवाद ज्ञापन गरेका छन्।

उनले भने, ‘नेपालको प्रसिद्ध सांस्कृतिक सम्पदा जानकी मन्दिर, जनकपुरधाममा जानकी नवमी मुल समारोह समितिद्वारा नवमीको महोत्सवमा निमन्त्रणा दिई बोलाएकोले धन्यवाद ज्ञापन गर्दछु।’

उनले प्राचीन मिथिलाको राजधानी, सिताको जन्मभूमि एतिहासिक पुरातत्विक नगरी जनकपुरमा समृद्ध मिथिला परम्परा अनुरुप सञ्‍चालित यस उत्सवले भक्तजन र समग्र सबैमा उत्साह एवम् उमङ्ग छर्ने अपेक्षा गर्दै कार्यक्रमको सफलताको शुभकामना समेत दिइन्।

यता, राष्ट्रपतिलाई नवमीको समारोहमा जानकी मन्दिर व्यवस्थापन पक्ष, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सम्मानसहित मायाको चिनो समेत प्रदान गरेको छ।

राष्ट्रपति भण्डारीको यो दोस्रो पटक जनकपुर भ्रमण रहेको थियो। पछिल्लो पटक मधेश आन्दोलनपश्चात २०७२ सालको विवाह पञ्‍चमीका दिन उनी जानकी मन्दिर आउँदा चर्को विरोधको सामना गर्नु परेको थियो।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्