नेपालगञ्‍ज विमानस्थललाई ‘सुरक्षित’को प्रमाणपत्र

नेपालगञ्‍ज-नेपालगञ्ज विमानस्थलले ‘सुरक्षित’ को प्रमाणपत्र पाएको छ।

विमानस्थलले सोमबार ‘सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको’ प्रमाणपत्र पाएको हो। एक वर्षदेखिको अथक मेहनतले गर्दा विमानस्थलले सुरक्षितको प्रमाणपत्र पाएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले सोमबार नेपालगञ्जमा आएर प्रमाणपत्र दिए। काठमाडौं र विराटनगरपछि सुरक्षित विमानस्थलको प्रमाणपत्र पाउने नेपालगञ्ज तेस्रो भएको छ।

विमानस्थल सुरक्षित हुनका लागि ६ महिने, एक वर्षे, पाँच वर्षे शर्तहरु राखिएका थिए। ती सबै शर्तहरु नेपालगञ्ज विमानस्थलले पुर्‍याउँदै अघि बढेको छ। विमानस्थलका प्रमुख ठाकुरका अनुसार, ती शर्तमा रनवे, मार्किङलगायत धेरै बुँदा पर्छन्।

‘नेपालगञ्ज विमानस्थलले धेरै मापदण्ड पूरा गरेको छ। सबै ठिक छ। सुरक्षाको दृष्टिकोणले उपयुक्त भएको छ, विमानस्थलका प्रमुख ठाकुरले भने, हामीले प्रमाणपत्र पनि पायो। अब अझ राम्रो गरेर अघि बढ्छौं।’

नेपालगञ्ज विमानस्थललाई वि.सं. २०४० सम्ममा अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ‘मास्टर प्लान’ बनिसकेको छ।

अहिले विमानस्थल १ सय ६६ विगाहमा छ। त्यसमा सय विगाह जमिन थप्ने, तत्काल नै दुई सय मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६ सय मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोललाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लान बनिसकेको हो।

त्यसका लागि १२ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ। विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने हो भने अहिले नै जग्गा खाली गराएर मुअब्जा दिनु पर्ने कुरा भइरहेका छन्।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू