प्रदेश-२मा अझै हटेन छुवाछुत र विभेद

सात दिनमा काज-किरिया गर्ने परिवार गाउँबाटै विस्थापित

गाउँबाटै विस्थापित भएका बाराको सुवर्ण गाउँपालिका-६ धरमपुर निवासी बिन्दा देबी र उनका छोराऽ तस्बिर-राम मण्डल/ देश सञ्‍चार

वीरगञ्‍ज- बुवाको काज किरिया छोट्याएको भन्‍दै बारामा एक परिवार गाउँबाट विस्थापित हुनु परेको छ।

बाराको सुवर्ण गाउँपालिका-६ धरमपुर निवासी बिन्दा देबी र उनका छोरा नाति-नातिनीसहित परिवारले ७ दिनमै काज किरिया सम्पन्‍न गरेपछि उनको परिवार विस्थापित हुनु परेको हो।

गत वैशाख १५ गते अवधेश यादवका पिता अनुठा यादवको गएको वैशाख १५ गते उपचारको क्रममा निधन भएको थियो। पिताको निधन भएपछि अनुठा यादवका छोरा अवधेश यादवसहित उनका परिवारले ७ दिनमै काज किरिया सम्पन्न गरेका थिए।

हिन्दु परम्परा अनुसार १३ दिनमा सकिनुपर्ने काज किरिया ७ दिनमै सकाएपछि धरमपुर टोलका स्थानीयहरुले अवधेश तथा उनको परिवार सामाजिक बहिस्कारमा परेको थियो।

गाउँका अगुवाहरुले नै गाउमा पञ्चायती भेला गराएर अवधेशका परिवारसँग कुनै किसिमको घर व्‍यवहार नगर्न तथा गर्नेलाई कारवाही गर्ने चेतावनी दिएपछि अवधेशका परिवार गाउबाटै विस्थापित हुनु परेको थियो।

गाउँका अगुवाहरुले सामाजिक बहिस्कार गरि घर व्‍यवहार कसैसँग पनि चलाउन नदिएपछि अवधेशसहित उनका भाई आमा र छोराछोरीहरु अहिले बिस्थापित भएर हेटौडाको कमानेमा बस्दै आएको छ।

‘गाउँकै १२ र १३ जना अगुवाहरुले भेला भएर सामाजिक रुपमा बहिस्कार गरे। घर व्‍यवहार कसैसँग पनि नचलाउन चेतावनी दिए। त्यसपछि हामीले गाउँ नै छाडयौँ,’अवधेशले भने।

गाउँमा रहेको खेतमा पनि पानी हाल्न कामदार पठाउँदा गाउँका अगुवाहरुले कामदारलाई आफनो खेतमा काम गर्नबाट रोक लगाएर धाक ‍धम्की दिई काम गर्न नदिएको अवधेशको भनाइ छ।

‘गाउँमै रहेको खेतमा कामदार बोलाएर पानी हाल्न लगाउँदा, गाउँका अगुवाहरु आएर रोके,’ अवधेशले भने, ‘पछि ती कामदारलाई माफी माग्न लगाएर अबदेखि मेरो खेतमा काम गर्न नआउने भनेर धम्की दिइयो।’ गाउँमा बस्दा घरमा भएको पानीको धारा उखेलेर फालिदिने भन्दै धाक-धम्की देखाउन खोजेपछि आफुहरु डरले हेटौँडामा बस्दै आएको अवधेशकी आमा बिन्दादेबीको भनाइ छ।

गाउँका अगुवाहरुले अहिले गाउँमा पस्नेबि‍तिक्कै कुटपिट गर्ने भन्दै धम्की दिन थालेको बिन्दा देबीले बताइन्। ‘गाउँमा पस्ने बितिक्कै कुटेर भगाई दिन्छौँ भनेर गाउँलेले भन्दैछन्,’ बिन्दादेबीले भनिन्। ’गाउँमै आफनो धान कुटने मिल सञ्चालनमा रहेको भए पनि गाउँका अगुवाहरुले उक्त मिल पनि चल्न नदिएको तथा त्यहाँ काम गर्ने कामदारलाई पनि कुटपिट गरी भगाइदिएको बिन्दादेबीले बताइन्।

‘गाउँमा धानको मिल पनि चल्थ्यो,अगुवाहरुले त्यो पनि चल्न रोक लगाए’, बिन्दाले भनिन्, ‘मिलमा भएको धान चामल पनि छरेर नष्ट गरिदिए। यसरी आफूहरुलाई गाउँमा बस्नै नदिएपछि अवधेश आफ्नै गाउँका वडाध्यक्ष कहा पनि गएँ। तर वडाध्यक्षले पनि जिल्ला प्रशासन कार्यालयमा सिडिओ कहाँ जान आग्रह गरेको अवधेश यादवले बताए। तर पछि सिडिओ कार्यालयमा जाँदा सिडिओ अफिसबाट समेत केही सहयोग पाउन नसकेको अवधेशले गुनासो गरे।

यता बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले लिखित रुपमा कुनै प्रकारको उजुरी जानकारीमा नआएको बताए। उनले भने, ‘ प्रशासनले प्रशासनले कुनै गुनासो वा उजुरी लिखित रुपमा आएमा त्‍यसमाथि काम कारवाही प्रक्रिया अघि बढाउँछौँ। तर उहाँहरु मौखिक रुपमा दुई/चारजना आउनु भयो। लिखित केही पनि छैन।’

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्