प्रदेश-३ बैठकमा कांग्रेसको अवरोध

हैटौडा-प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश नम्बर-३ को संसद बैठक अबरुद्ध गरेको छ।

कांग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठक अवरोध गरेका हुन्।

बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोईरालाले पठाएको पत्र पढेर सुनाएका थिए।

अधिवेशन सुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन्।

प्रतिपक्षी दल नेपाली काग्रेसका प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने बताए।

कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए। अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्