‘भाग्ने होइन, आफ्नो स्थान बनाउने छु’

म्यानचेस्टर सिटीमा खुशी रहेको रियाद महरेजको दाबी

म्यानचेस्टर सिटीले क्लबको कीर्तिमानी मूल्यमा अनुबन्धित गरेका रियाद महरेजले आफू क्लबमा खुशी रहेको बताएका छन् । म्यानचेस्टर सिटी लगातार दोस्रो सिजन इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ ।

अनुबन्धित भएको पहिलो वर्षमै लिग च्याम्पियन बन्ने मौका पाएका महरेजले खेल्न भने सीमित खेल वा समय मात्रै पाए । त्यसका बाबजुद पनि आफू म्यानचेस्टर सिटीमा खुशी रहेको बताएका हुन्।

२८ वर्षका महरेजले आइतबार राति भएको लिगको अन्तिम खेलमा ब्राइटनलाई ४–१ ले हराउँदै लिग विजेता बन्ने क्रममा टिमका लागि तेस्रो गोल गरेका थिए ।

गएको समरमा लेस्टर सिटीबाट ६० मिलियन पाउण्डमा च्याम्पियन क्लब आएका अल्जेरियाका महरेजले यो सिजन लिगका मात्रै १४ खेलमा सुरुबाटै खेल्न पाए ।

उनले भनेका छन्, ‘म निकै खुशी छु यहाँ । अन्त जानका लागि नखेलिरहेको होइन । यो खेलको एक अंश हो र म बलियो बनिरहनु पर्छ भन्ने थाहा छ ।’

उनले अघि भनेका छन्, ‘छोडेर नयाँ विकल्पको खोजी गर्न सजिलो छ, तर म त्यस्तो व्यक्ति होइन । मलाई मेरो क्षमतामा विश्वास छ र आउँदो तथा त्यसपछिका सिजनमा अवस्था थप राम्रो पक्कै हुनेछ।’

सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको वर्ष उनी पिएफए वर्ष खेलाडी बनेका थिए । उनले गएको जुलाईमा म्यानचेस्टर सिटीसँग पाँच वर्षको सम्झौता गरेका हुन् ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्