हड्ताल भएको ४५ दिनमा चिया बगान तथा उद्योग खुले

बिर्तामोड – चिया उद्यमीले श्रम ऐन कार्यान्वयन गर्ने सहमति गरेपछि मंगलबारदेखि पूर्वी नेपालका चिया बगान तथा उद्योग खुलेका छन्।

हड्ताल भएको ४४ दिनमा सोमबार मजदुर संगठन तथा चिया उद्योगीका बीचमा श्रम ऐन कार्यान्वयन गर्ने सहमति भएको हो।

सोमबार बिहानदेखि छलफलमा बसेका उद्यमी र मजदुरबीच सहमति भएपछि चिया उद्योग खुलेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम ऐन कार्यान्वयन गर्न नसक्ने भए बगान सञ्चालकलाई लिखित रूपमा पत्र बुझाउन निर्देशन दिए पश्चात चिया बगान खुलेका छन् ।

मजदुर आन्दोलनका कारण गत चैत १७ गतेदेखि बन्द रहेका पूर्वका चिया बगान उद्योग मन्त्री विष्टको चेतावनीपछि खुलेका हुन् ।

छलफलमा नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ, अखिल नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष सिता सापकोटा, मजदुर नेताहरु भुपाल सापकोटा, सन्तकुमार राई, सइकुमार राई, उद्योगीहरु चण्डी पराजुली, चिया उत्पादक संघका महासचिब शिबकुमार गुप्ता, छत्र गिरी, कुमार गिरी लगायतको सहभागिता रहेको थियो ।

सहमतिसँगै लामो समयदेखि आन्दोलन भइरहने चिया क्षेत्रको समस्या समाधान भएको छ ।

नेपाल चिया विकास निगम अन्तर्गत झापाको दमक नगरपालिकामा रहेको हिमालय महालक्ष्मी टी गार्डेनले शनिबारदेखि काम सुरु गरेको थियो ।

त्यस्तै टोकला चिया कमान मेचीनगर नगरपालिका, बर्ने चिया कमान बुद्धशान्ति गाउँपालिका र बाह्रदशी चिया कमान बाह्रदशी गाउँपालिका आइतबारदेखि सञ्चालनमा आएका थिए ।

श्रम ऐन अनुसार २०७५ साउन १ देखि ऐनमा उल्लेख भएको दैनिक ज्याला उपलब्ध गराउने सहमति भएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए ।

साउनदेखि नै ३ सय ८५ रुपैंया दिनुपर्नेमा ९ महिनासम्म उद्योगले २ सय ७८ मात्रै दिँदै आएका थिए । साउनदेखि नै कामदार तथा कर्मचारीले पाउने सबै बाँकी ज्याला किस्ता बन्दीमा भुक्तानी गर्ने सहमति समेत भएको तामाङले बताए ।

नेपाल चिया बगान श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघ र नेपाल कृषि तथा चिया बगान श्रमिक संघसँग चिया कमानको व्यवस्थापन पक्षले लिखित सहमति गरेको हो ।

श्रम ऐनमा चिया क्षेत्रमा कार्यारत मजदुरलाई दैनिक ३ सय ८५ रुपैंयाँ ज्याला दिनुपर्ने व्वस्था छ ।

जसमा ‘२ सय ३१ रुपैयाँ ज्याला र १ सय ५४ रुपैयाँ महङ्गी भत्ता’ भनेर व्याख्या गरिएको छ । मजदुरले सामाजिक सुरक्षाकोषमा ज्याला रकमको १० प्रतिशत अनिवार्य रुपमा जम्मा गर्नुपर्ने हुन्छ । उद्योगीले सञ्चयकोष बापत १० प्रतिशत, उपदान बापत ८ दशमलब ३३ प्रतिशत र सामाजिक सुरक्षा भत्ता शिर्षकमा १ दशमलब ६७ प्रतिशत रकम थपेर सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने हुन्छ ।

उद्योगले मजदुरलाई २ सय ७८ रुपैयाँ दैनिक ज्याला दिदै आएका थिए । अब उद्योग र दैनिक ज्यालादारी मजदुरले प्रत्येक दिन ६९ रुपैयाँ सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने छ । उद्योगीले ३ सय ८५ रुपैयाँ ज्याला र ४६ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा एकजना मजदुरको हकमा ४ सय ३१ रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त ६ महिना सुत्केरी बिदा, अंगभंग हुँदा उपचार गर्नुपर्ने उल्लेख छ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्