बसाईसराईले रित्तिँदै नाका

दाङ– दाङको नेपाल र भारत सीमा क्षेत्रमा पर्ने नेपाली बस्ती बसाई सराईका कारण रित्तिँदै जान थालेको छ ।

का क्षेत्रको कष्टकर बसाईका कारण यहाँका नागरिक बसाईसराई सरेर सुगम क्षेत्रमा जान थालेका हुन् ।

जसका कारण गाउँ रित्तिन थालेका छन भने विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा ६५ घरधुरीको बसोवास थियो । तर, बितेको पाँच वर्षमा ३५ घरधुरीमा झरेको छ ।

अधिकांशको दोहोरो बसाई छ । नाका क्षेत्रमा घर रहेकाहरुले सुगम क्षेत्र बेला, गढवा, लमही, घोराहीसम्म घर बनाएका छन् ।

आर्थिक रुपमा केही सम्पन्नहरुले नाका क्षेत्र छाडेर अन्यत्र घर बनाएका छन् ।

तर, आर्थिक रुपमा विपन्न परिवार बसाई सर्न सकेका छैनन् । ‘धन, पैसा कमाएकाहरु नाका छाडेर सहर पसेका छन’पटौली नाका निवासी डिल्लीबहादुर कवरले भने–‘मेरा छिमेकी, आफन्त नाका छाडेर बजार पसे । म त यहीँ बस्छु । सधैँ पिछडिएको बस्ती त हुँदैन होला नि नाका ।’

बाल बिसौनी प्राथमिक विद्यालय पटौलीमा अहिले १२५ जना मात्रै विद्यार्थी छन् ।

पाँच वर्ष अघि सम्म विद्यार्थीको चाप रहेको यस विद्यालयमा विद्यार्थीको संख्या घट्न पुग्नुको मुख्य कारण बसाईसराई रहेको शिक्षक खमिसरा घर्तीले बताइन् ।

‘विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या घटेको छ’उनले भनिन्–‘नाकाबाट बसाईसराई गरेर अन्यत्र गएपछि विद्यार्थी घट्न पुगेका हुन् ।’

दाङ क्षेत्रमा २२ ओटा नाका छन् । यी नाकामा २ हजार घरधुरी छन् । तर, विकासबाट पिछडिएको छ । फोनको नेटवर्क छैन । नेपाली भूमिमा भारतीय सिम प्रयोग गरेर कुराकानी गर्नुपर्ने बाध्यता छ । ‘राम्रो बाटो छैन । खानेपानीको दुःख भनि साध्य छैन् । सामान्य सिटामोल समेत पाउन मुस्किल छ’अनमोल कवरले भने–‘विकासबाट पछाडि परेकै कारण नाकाबाट बसाईसराई बढेको हो ।’ बसाईसराई बढेपछि स्थानीय स्तरबाट नाकामा पुनः फर्काउन पत्र लेखेर जानकारी दिने अभियान थाल्ने सोचमा रहेको अनमोलले बताए ।

‘पत्र लेखेर नाकामा फर्काउन सन्देश दिने कार्यक्रम गर्ने सोंचमा छौं’उनले भने–‘धेरैको दोहोरो बसाई छ । नाकामा पनि घर छ । अन्यत्र पनि घर छ ।’

सरकारले नाका क्षेत्रमा विकासको पूर्वाधार पुर्‍याउन र राज्यको उपस्थिति देखाउन प्राथमिकतामा राख्न थालेको अवस्थामा नाका क्षेत्रमा बसोवास झन पातलो हुँदै गएको छ ।‘बाटो घाटो आउन थालेको छ । तर, हाम्रो बस्तीको पुर्जा छैन’स्थानीय वीरबहादुर घर्तीले भने–‘पटौली नाका सम्म बाटो पुगेको छ । अब बाटो सँगै अन्य सुविधा आएमा नाका क्षेत्रको विकास हुने थियो । बसाईसराई गर्ने दर घट्ने थियो ।’

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू