काठलाई कलात्मक मूर्तिको आकार दिने पूर्णालक्ष्मीकाे कथा

काठलाई कलात्मक मूर्तिको आकार दिने पूर्णालक्ष्मीकाे कथा

काठमाडौँ – घ्यार…घ्यार, ठक..ठक… भित्रबाट आवाज आइरहेको थियो। एक महिला करौतीले काठ काटिरहेकी थिइन्। वरिपरी काठबाट बनेका विभिन्न कलात्मक मूर्तिका सामग्रीहरु थिए भने भित्तामा तस्बिर र सम्मानका प्रमाणपत्र।

उनी ती मूर्तिको बीचमा बसेर करौतीले काठलाई काटिरहेकी थिइन्, नयाँ मूर्तिलाई आकार दिन। उनी अर्थात् ४१ वर्षीया पूर्णालक्ष्मी शाक्य। उनले यसरी मूर्तिलाई आकार दिन लागेको ३५ वर्ष पुग्यो ।

पूर्णालक्ष्मीले काठका मूर्ति बनाउन लागेको १७ वर्षको उमेर देखि नै हो। उनलाई काष्ठकलाको काम उनका बुबा (कुलेराज तुलाधर) सिकाएका हुन्।
जबदेखि उनले चेत बसालिन् तबदेखि आफ्ना बुवाको काममा सहयोग गर्न थालिन्।

विस्तारै उनलाई पनि काष्ठकलाप्रति इच्छा लाग्न थाल्यो। उनले बुबालाई आफूले पनि काष्ठकला सिक्न चाहेको कुरा बताइन् । छोरीको इच्छा बुबाले नकारेनन् ।
उनी भन्छिन् ‘मेरो बुबा छोराछोरीमा विभेद गर्नुहुन्न। छोरीले घरको काममा मात्र सिमीत नभई छोरा सरह काम गर्न सक्नु पर्छ भन्ने धारणा भएको व्यक्ति हुनुहुन्छ।’ मैले काम सिक्छु भन्दा बुबा निकै खुशी हुनु भो ।’

उनले थपिन् ‘यो हाम्रो पुख्र्यौली गहना हो। यसलाई जोगाएर पुस्तौँ पुस्ता सम्म निरन्तरता दिनुपर्छ भन्ने मान्यता बुबाको थियो ।’

काम सिक्दै गइन् उमेर पनि बढ्दै गइरहेको थियो। हरेक बुबाआमा जस्तै उनका बुबाआमा उनको विवाहको चिन्ता लाग्न थाल्यो। २०४९ सालमा उनले पनि अरु छोरी जस्तै माइती घरलाई विदाइ गर्न पर्यो।

विवाहपछि पनि उनलाई त्यति अप्ठेरो भएन। श्रीमानको पनि हस्तकलाको नै काम भएकाले उनले पनि आफ्नो कामलाई निरन्तरता दिने अवसर पाइन्। उनी र उनका श्रीमान् मिलेर घर व्यवहार राम्रो सँग चलाइरहेका थिए।

विहे गरेको केहि वर्ष पछि पूर्णाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिइन्। बच्चा जन्मिएपछि उनले आफ्नो कामलाई केहि वर्षका लागि थाति राखेर बच्चा र घर व्यवहारमा लागिन्। छोरी स्कुल जाने भएपछि पुनः काम सुरु गरिन्।

‘धेरै समयसम्म काम नगर्दा काम बिर्सिछ र काम गर्न गाह्रो हुन्छ। के गर्ने घर र परिवारको जिम्मेवारी पनि निभाउनु पर्ने यो त प्रकृतिको नियम नै हो’, पूर्णाले सुनाइन्।
काम सुरु गरेको केहि वर्ष पछि फेरि उनले अर्को सन्तान छोरा जन्माइन्। पुनः कामलाई रोक्नु पर्यो। दोस्रो सन्तानलाई हुर्काएपछि पुनः कामको थालनी गरिन्।

छोराछोरीलाई स्कुल पठाएर, घरको सबै काम भ्याएर खाली समयमा मूर्ति बनाउँछिन्।


घरको काम सँगै मूर्ति बनाउँदा तीन दिन लाग्छ यदि घरको काम नगरी काम गर्ने हो भने दुई दिन लाग्ने सुनाइन्। उनले गौतम बुद्ध, गणेश भगवान, लोगो र अन्य विभिन्न किसिमका काठका मूर्ति बनाउँछिन्।

उनी मूर्तिका लागि काठ पाटनबाट ल्याउछिन्। आफूलाई चाहिने नापका काठ आफै चिरेर र चिर्न नमिल्ने चाहि घरमा ल्याएर नाप अनुसारका बनाउँछिन्।

सुरु सुरुमा करौती र हतौडाले काठमा ठोक्दा हातमा ठेला पर्थे। तर काम गर्दै जाँदा विस्तारै बानि बस्छ। आफूलाई मन परेको काम भएर पनि होला दुखाइको महसुस हुँदैन थियो। आफूले चाहेको काम गर्न पाउँदा निकै रमाइलो लाग्छ।

तर रमाइलोले मात्र जीवन चलाउन नसकिदो रहेछ। काम अनुसारको माम भएपछि काम गर्नुको बेग्लै मजा छ। राम्रो काम सँगै राम्रो आम्दानीले काम गर्ने उर्जा हौसला थपिँदै जान्छ।

४ वर्ष अगाडिको भूकम्पले अरुलाई जस्तै उनलाई पनि दुःख दिएको छ। भूकम्पका कारण उनको घर, व्यापार ठप्प भयो। जसोतसो घर बनाए। तर व्यापारलाई भने राम्रो बनाउन सकेनन्।

भूकम्पपछि नेपालमा पयर्टकको संख्यामा कमी आएपछि पूर्णाको मूर्र्तिकला व्यवसाय पनि ओरालो लागेको छ । हस्तकलाका मूर्तिहरु विदेशीहरुले धेरै मन पराउने गरेको पुर्नाको भनाई छ ।

उनी भन्छिन् ‘कपुरको काठबाट बन्ने भएर कलर लाउँदैनौ। पालिस पर्यो भने यसको बास्ना मर्छ र विदेशी पयर्टकहरुले किन्दैनन्। उनीहरुले बास्ना आउने नै खोज्छन्। मूर्ति तयार भएपछि खाल्सी लगाएर प्लास्टिक भित्र प्याक गरेर राख्छौँ।’

कपुरका काठबाट बनेका मूर्तिहरु दुई हजार देखि ८० हजार सम्म बिक्री हुन्छ। तर राम्रो आम्दानी भएपनि अहिले मूर्तिको व्यापार घटिरहेको छ।

पर्यटक घटेसँगे हस्तकलाका मूर्तिको व्यापार घटेपछि पूर्णालक्ष्मी अहिले घरका झ्याल, ढोका र मन्दिरहरुको काम ठेक्कामा लिने गर्छिन् । मन्दिरका झ्याल ढोकामा कलात्मक बुट्टा भर्न पनि पुर्ना पोख्त छिन् ।

आम्दानी राम्रै भइरहेपनि पूर्णालक्ष्मीलाई आफ्नो पेशा लोप हुन थालेकोमा चिन्ता छ ।

‘मैले त मेरो बुबाबाट यो सीप सिकेँ तर नयाँ पुस्तामा यो कला हस्तान्तरण हुन सकिरहेको छैन’ उनले भनिन् ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू