फुटबलर प्रकाश बुढाथोकीको इसाई यात्रा

‘म कुनै लोभले क्रिश्चियन बनेको होइन’

इसाई बन्ने क्रममा फुटबलर प्रकाश बुढाथोकी।

विराटनगर- हिजो हिन्दू धर्मलाई आत्मसात गर्दै अघि बढेकाहरु कतिपय धार्मिक स्वतन्त्रताको अनुसरणमा आफूलाई विभिन्न धर्ममा रुपान्तरण गर्दै आएका छन्। सुनसरी धरानका २५ वर्षीय प्रकाश बुढाथोकी नेपाली फुटबलका राष्ट्रिय खेलाडी हुन् जो ‍हाल लिग मनाङ मर्स्याङ्दी क्लबमा आवद्ध छन्। गत वैशाख १३ गते उनले औपचारिक रुपमा ब्याटिज्म गरी इसाई धर्मलाई आत्मसात गरेका छन्।

त्यही दिन लण्डनमा रहँदै आएका खेलाडी  निराजन खड्काले प्रकाश बास्तविक यात्रा सुरु भएको र त्यसको शुभेच्छाका लागि तयार रहेको विचार समाजिक सञ्जालमा पोष्ट गरेका थिए।

२०७० सालदेखि नै यस धर्ममा निकट रही अनुसन्धान गर्दै गएको बताएका प्रकाशले किन धार्मिक विश्वास परिवर्तन गरियो भन्ने यसै सम्झाउन नसकिने प्रस्टाए। ‘गएको पाँचवर्ष यसमा बिताउँदा मलाई निकै आनन्द आएको थियो। आखिर यसले पूर्णता पाएको छ। म र मेरो परिवार खुशी छ,” उनले भने।

ग्रामीण क्षेत्रमा उपचार, आर्थिक समस्याका कारण धर्म परिवर्तनमा लाग्ने गरेको पाइन्छ। धरान १९ मा रहेको सियोन चर्चमा प्रार्थना गर्दै आएका प्रकाशले फुटबल खेल्दै गर्दा यसतर्फ आकर्षित भएको स्पस्ट पारे।

फुटबलर प्रकाश बुढाथोकी।

‘म कुनै घाइते भएर, उपचारका लागि, आर्थिक अभाव भएर, वा कुनै लोभका लागि विश्वास पात्र भएको होइन। मैले धेरै लामोसमय यस विषयमा अनुसन्धान गरे, चित्त बुझ्दो लाग्यो,’ उनी बताउँछन्।

अर्कोतर्फ खेलकुद क्षेत्रलाई जातपात धर्मले नरोक्ने अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले बताए। प्रवक्ता राईले भने,’खेलाडीको क्षमता, प्रदर्शन र योग्यता राष्ट्रको आवश्यक्ता हो। यसमा कुन धर्म, कुन लिङ्ग भन्नेले कुनै असर गर्दैन।’

प्रकाशका अनुसार थ्रीस्टारका निराजन खड्का र मनाङ मर्स्याङ्दीका युवा खेलाडी डोना थापालगायत छन्।

घरमा आमाबुबा, दुई दिदी, एक बहिनीसहित प्रकाश एक्ला छोरा हुन्। धर्म र विश्वास परिवर्तन गरे पनि उनको परिवारमा अरु सबै हिन्दू नै छन्। बुबा नेपाली सेनामा कार्य गरिसकेको र आमा परिवारले पनि मलाई आर्मी नै हुनुपर्छ भन्ने कुरा नगरेको बताएका प्रकाशले फुटबल जीवन भने‍ पट्नालीस्थित जनमुखी बिद्यालयबाट सुरु गरेका हुन्। यसक्रममा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष एवं धरान फुटबल क्लबका अध्यक्ष किशोर राईको सहयोग भुल्न नसकिने उनले बताए।

धरान फुटबल क्लब आफ्नो खेल जीवनको पहिलो खुड्किलो भएको बताएका प्रकाश २०६८ सालमा मा ए डिभिजन क्लब फ्रेण्डस क्लबमा आवद्ध भएका थिए। फ्रेण्डस् क्लबमा दुई सिजन बिताएका प्रकाशले क्लबको हाइ स्कोरर भएका थिए। त्यसपछि उनी २०७० सालमा थ्रीस्टार क्लबमा आवद्ध भएका थिए। त्यसपछि एकसिजन प्रकाशले संकटा क्लबबाट समेत खेले। त्यसपछि उनी भुटानको पारो एफसीमा राइट विङगरका रुपमा एकसिजन बिताएका थिए।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्