हान अध्यक्ष सिर्जना राणासँग अन्तर्वार्ता

नेपालका होटल अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका छैनन्

नेपालका होटल अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका छैनन्

होटल व्यवसायी महासंघ नेपालले गत साता नयाँ नेतृत्व पाएको छ। महासंघको नयाँ नेतृत्वमा पहिलो पटक महिला पुगेकी छन्। होटल अन्नपुर्णकी सञ्चालक सिर्जना राणाले नेपाली होटल व्यवसायीको छाता संगठनको नेतृत्व सम्हालेकी हुन्। सरकारले घोषणा गरेको भ्रमण वर्ष नजिकिँदै जाँदा यसको महत्वपुर्ण पाटो होटल क्षेत्रमा नयाँ नेतृत्व आएको छ। भ्रमण वर्षलाई लक्षित गरी होटलहरुले गरिरहेको तयारी, होटलहरुकाे अवस्था र समस्यासँगै नयाँ नेतृत्वका योजनाका बारेमा होटल व्यवसायी महासंघ नेपालकी अध्यक्ष सिर्जना राणासँग देश सञ्चार संवाददाता उजिर कार्कीले गरेकाे कुराकानी :

नेपाली होटल व्यवसायलाई थप व्यवस्थित गर्न तपाईसँग के छन् योजना ?

विज्ञापन

होटल एशोसियसन मेरो लागि नयाँ प्लेटफर्म होइन। मैले यसमा ८ वर्ष बिताइसकेको छु। बोर्डका साथीहरुले मलाई योग्य ठानेर यो पोजिसनमा ल्याउनुभयो। अब पदमा बसिसकेपछि एउटा प्रभाव छाडेर जानुपर्छ। तीन वटा विषयमा म अलि हेर्न चाहन्छु। होटल व्यवसाय अलिबढि सेवा क्षेत्र भएकाले म सेवामा जोड दिन्छु।

राजनीतिक र विगतको द्वन्द्वकालिन वातावरणले गर्दा हामी अलि खस्किएका छौं सर्भिसमा। त्यो सर्भिस अब हामीले माथी ल्याउनु पर्छ।अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्छ, त्यो होमस्टे होस् वा पाँच तारे। अन्तर्राष्ट्रिय मापदण्ड के हो ? त्यो अनुसार बनाउन हामीले के के गर्नुपर्छ ? कस्ता-कस्ता तालिमको व्यवस्था गर्नुपर्छ ? हामी अब त्यसमा जोड दिनेछौं। हाम्रा १६ वटा विषयगत समितिहरु छन्। मैले विषयगत समितिका साथीहरुसँग छलफल पनि गरिसकेको छु। उहाँहरुको पनि जोड त्यसैमा देखियो।हाम्रो म्यानपावरलाई सेवा र तालिमको जरुरी छ। अलिकति ग्याप छ त्यसलाई हामीले कसरी गर्ने भनेर सोचिरहेका छौं। सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । सेवामा केही कमी नहोस् भनेर हामीले काम गर्न जरुरी छ । त्यसमा प्राथमिकताका साथ हामी काम गर्नेछौं। हामीले सरकारसँग पनि धेरै नजिक भएर काम गर्नुपर्छ। नीति नियममा सरकारले हामीलाई पनि समेटेर लानैपर्छ। किन भने यो विषयमा हामीलाई जति थाहा हुन्छ उहाँहरुलाई त्यति नहोला। त्यही भएर निजी क्षेत्र र सरकार हातेमालो गरेर जानुपर्छ।

अन्तर्राष्ट्रिय स्तरको बनाउन जरुरी छ भने अहिलेचाहिँ हाम्रा होटलहरुको अवस्था कस्तो हो त?

होटलहरुको अहिलेको अवस्था हेर्दा त्यती चित्त बुझ्दाे अवस्था छैन। नेपाल सरकारबाट बनेका पर्यटन सम्बन्धि व्यवस्था, नीति, नियम आदिमा सुधार गर्नुपर्ने देखिन्छ। होटल व्यसायीहरुले पनि आफ्नो कम्पनी अन्तर्गत कार्य गर्ने कर्मचारीहरुको उच्च स्तरको परीक्षण, तालिम जस्ता कुरामा आवश्यकता अनुरुप ध्यान पुर्‍याएको देखिंदैन। साथै देखावटिपना भन्दा बाहिर आई हृदयबाट नै पर्यटकहरुको सेवा र सत्कारमा ध्यान दिन सके यस क्षेत्रमा अझ बढि परिवर्तन ल्याउन सकिन्छ।

नेपाली होटलहरुमा व्यवस्थापनमा अलिकति कमीकमजोरी देखिन थालेको छ। त्यही भएकोले यता प्राथमिकता दिनुपर्छ। अब चेन होटलहरु त थुप्रै आए। चेन होटलहरुको ट्रेनिङदेखि लिएर सिस्टम, स्ट्रक्चर सबै उनीहरुको टेवा आउँछ। तर अब नेपाली व्यवस्थापन पनि सक्षम हुन पर्छ। सक्षम हुन सक्छौं भन्ने मलाई विश्वाछ छ।

होटल व्यवसायीले भोग्नु परेको अहिलेका समस्या के हुन् ?

मुख्यतः नेपाल सरकारबाट यस क्षेत्रमा लगाईएको होटल व्यवसायीको क्षमता भन्दा अत्याधिक कर, देशको प्राय क्षेत्रमा विकासका पूर्वाधारहरुको अभाव, मार्केटिङ्ग प्रभावकारी नहुनु, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्न नसक्नु, उपयुक्त प्रशिक्षण तथा यस सम्बन्धी ज्ञानको अभाव, यस क्षेत्रको मुल्याङ्कन तथा विश्लेषणको कमी, पर्यटकीय क्षेत्रको विकास तथा प्रबद्धनको कमी, माग भए बमोजिमको पर्यटकीय सेवा सुविधाको अभाव जस्ता समस्या छन्।

सरकारको नीति नियममा अलिकति कमजोरी छ। म अहिले पनि भन्छु सरकारले नीति नियम बनाउँदा हामीलाई पनि सहभागी गराएर खाका तयार गर्नुपर्छ। अर्को कुरा २० लाख पर्यटक ल्याउने भनिएको छ। २० लाख पर्यटक थेग्न सक्ने अवस्था छ तर अर्को कुरा सोच्नु पर्ने के छ भने जसरी सरकारले बैंकहरुलाई लाइसेन्स दियो तर पछि समस्या खडा भयो। त्यसले गर्दा उनीहरुले मर्ज गर्नु पर्यो। त्यसले गर्दा होटललाई अनुमति दिँदा सप्लाई र डिमान्ड के हो त्यसलाई पनि मध्यनजर गर्नुपर्छ।

अर्को कुरा होमस्टे भनेको होटल नभएको ठाउँमा हुनु पर्ने हो। तर यहाँ त्यस्तो छैन।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिसकेको छ। अब पर्यटक थेग्ने तपाईहरुले हो, तयारी कस्तो छ?
हामी स्थानीय क्षेत्रको संस्कृती, रितिरिवाज, नृत्य, रहनसहन आदिलाई नेपाल भ्रमण बर्षको मुख्य आकर्षण बनाउने तयारीमा छौं। विशेष गरी हाम्रो स्थानीय खाना तथा परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जमर्को समेत हाम्रो रहेको छ। साथै नेपालको सातै वटा प्रदेशमा रहेको मुख्य विशेषताहरु समेत उजागर गरी यसलाई विश्व सामु चिनाउने तयारी पनि जारी छ।

उनीहरु आउँदा अतिथि सत्कार खाने कुरा सफा सुग्घर यी सबै कुरालाई समेटेर उसले नेपाल छाड्दा मुस्कानसहित छाड्ने वातावरण बनाउनु पर्ने दायीत्व हाम्रो हो। त्यसको लागि हामी गर्न सक्छौं। खालि कमीकमजोरी के देखिन्छ भने सरकारको इन्फास्टक्चरको योजना छ तर इम्प्लिमेन्टसनमाचाहिँ धेरै कमिकमजोरी छ। अबचाहिँ सरकारले कुनै उदेश्य निर्धारण गर्छ भने त्यो पुरा कार्यन्वयन गर्नुपर्छ।
तपाईले पनि कुनै व्यवसाय गर्नु भयो भने त्यसलाई एक एक महिनामा विश्लेषण गनु पर्यो । त्यो मेरो लक्ष्य हो त्यो अनुसार म चलिरहेको छु कि छैन भनेर मुल्यांकन गर्नु पर्यो नि । कमि कमजोरी भए सच्याएर जानु पर्यो।

त्यसका लागि त्यो विषयका विशेषज्ञहरुलाई पनि सहभागी गराएर जानु पर्छ। होइन भने योजना राम्रा छन्, तर कार्यन्वयनमा समस्या रहन्छ। यतातिर पनि सरकारले सोच्नुपर्छ जस्तो लाग्छ मलाई । नहुने भन्ने केही छैन । हामी यस्तो मुलुकमा छौं, विश्वकै सुन्दर मुलुक। जंगल छैन कि, हिमाल छैन कि, पानी छैन कि ! हामीसँग सबै कुरा छ तर योजनाअनुसार कार्यन्वयनमा अलि समस्या छ ।

यदि सरकारले बोलायो भने नीति निर्माणमा के के कुरा सच्याउन माग गर्नुहुन्छ ?

योजना राम्रो छ। तर लक्ष्य हासिल गर्नका लागि सिस्टम हुनपर्छ। तपाईसँग मैले कुनै कन्ट्रायक लिएँ, त्यतिले मात्रै पुग्यो त ? सरकारको तर्फबाट रिपोर्टिङ स्टक्चर हुन पर्यो नि त। मैले महिना महिनामा आएर तपाईलाई बुझाउनु पर्यो नि त मेरो कामको रिपोर्ट। पुर्याउन पर्नेजति मेरो तार्गेट पुगेको छ कि छैन ।तार्गेट पुगेन भने तपाईले मलाई पेनाल्टि लगाउनु पर्यो। आफ्नो पदको औचित्य दिन सक्नु पर्छ। म हानको अध्यक्ष भएँ भने मैले पनि यो पदको औचित्य प्रस्ट्याउने गरी काम गर्नुपर्छ नि। हो सरकारमा भएका व्यक्तिहरुले पनि आफ्नो व्यक्तिगत फाइदाका लागि होइन त्यो पदको भूमिका प्रति प्रस्ट भएर काम गर्न जरुरी छ।

नेपाली होटलहरु सेवामुखीभन्दा नाफामुखी भए भन्ने आरोप लाग्ने गरेको छ नि ?

होटल व्यवसाय एक प्रकारले नाफामुखी होला तर नाफामुखी मात्र नभएर यस व्यवसायले सिर्जना गरेको रोजगारी, पर्यटकीय सेवा तथा सुविधा, यस व्यवसायले राष्ट्रको आर्थिक स्तरमा पुर्याएको योगदान आदि अझ माथि छ।

तपाईको कार्यकालमा नेपाली होटल क्षेत्रले के परिवर्तन पाउँछ?

हाम्रो होटल एशोसियसनमा जुन किसिमको सुमधुर सम्बन्ध छ। लगानीकर्ता र सञ्चालककोबीचमा जुन खालको सम्बन्ध छ। दुईटैको हातेमालोले मात्रै यो व्यवसाय फस्टाउँछ। अब हामी विषयहरुमा छलफल गर्छौं। यो जुन सम्बन्ध छ यसलाई अझै मजवुद बनाउन चाहन्छु। उहाँहरु र हाम्रो आवाज एउटै होस्। काम गर्ने वातावरण राम्रो बनाउन, सर्भिस बृद्धि गर्न र सरकारसँगको सम्बन्ध मजवुद बनाउँन ध्यान दिन्छौं। मलाई विश्वास छ यी कुरामा परिवर्तन आउने गरी काम गर्छु।

तस्बिरहरु–रबिन आचार्य/देश सञ्चार

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्