झन्झटिलो सेवा प्रवाहले घुस लिने-दिने कामलाई संस्थागत गर्‍यो-मुख्यमन्त्री राउत

वीरगञ्ज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको बताएका छन्।

उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा मंगलबार सम्पन्‍न प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको बताएका हुन्।

उनले सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेको भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमूखी र व्यवहारिक बनाउनु पर्ने बताए।

मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथिबाटै हुनु पर्ने उल्लेख गर्दै भने, ‘भ्रष्टाचार अन्त्यको शुरुवात आफैबाट गरिनुपर्छ, त्यो पनि माथिल्लो निकायबाट। अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ।’

नियम र कानुन बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दावी गर्दै उनले यसका लागि आफ्नै छातिमा हात राखेर अघि बढनु पर्ने बताए।

यस्तै उनले नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएका कर्मचारीहरुमा आतङ्क सृजना गर्ने कार्य गरेको बताए।

जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहाल, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी प्रदिप कनेललगायतले सम्बोधन गरेका थिए।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू