जब बालाजुको जंगलबाट प्रहरीलाई फोन आयो- मलाई अपहरणकारीले रुखमा बाँधेका छन्

साङ्केतिक तस्बिर

काठमाडौं- मंगलबार अपरान्ह काठमाडौं प्रहरी परिसर र  महानगरीय प्रहरी परिसरको सिभिल टोली अचानक बालाजु ज‌‌गलतर्फ ‘मुभ’ भयो।

प्रहरी कन्ट्रोलमा कसैले फोन गरी आफुलाई ८/१० जनाको समूहले अपहरण गरी बालाजु जंगलमा रुखमा बाँधेको खबर गरेपछि परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटी नेतृत्वको टोली त्यसतर्फ लागेको थियो।

कन्ट्रोलमा टिपाएको सुचनाअनुसार प्रहरी टोली बालाजुभन्दा केही माथि मुड्कुमा पुग्यो जहाँ खोज्दै जाँदा ३०/३१ वर्षका एक युवक रुखमा बाँधिएको अवस्थामा थिए। उनको हात बाँधिएको र डोरी घाँटीमा बेरेर हाँगामा अड्काइएको अवस्थामा थियो। ती युवकको मुखबाट मदिराको गन्ध आइरहेको थियो। त्यहाँ अरु कोही थिएन। प्रहरी अचम्मित भए।

प्रहरीसँग ती व्यक्तिले भने- मलाई केही मान्छेले कुरा गर्नु छ भन्दै यहाँ बोलाए। अनि रक्सी खुवाएर कुटपिट गरे। रुखमा बाँध्नुअघि अन्तिम इच्छा के छ भनी सोधे। मैले श्रीमतीसँग कुरा गर्छु भन्दै उनीसँग कुरा गरेँ।

प्रहरीले पत्याउने आधार थिएनन्। बाँधिएको अवस्थामा उनले कसरी प्रहरीमा फोन गरे भन्नेमा प्रहरीको आशंका थियो। उनको हातमा दुई वटा मोबाइल पनि थिए। प्रारम्भिक अनुसन्धानका अनुसार सिनामंगलको एक म्यानपावर कम्पनीमा एजेन्टका रुपमा काम गर्ने स्याङ्जाका यी युवकले विदेश पठाइदिन्छु भन्दै करिब ३६ लाख रुपैयाँ उठाएका थिए। तर विदेश पठाउन नसकेपछि पीडित युवकहरुले उनलाई लगातार दबाब दिँदै आएका थिए।

प्रहरीसँग उनले आफुले उठाएको सबै रकम अर्कैलाई बुझाइसकेको र एक लाख रुपैयाँमात्र कमिसन लिएको बताएका छन्। ‘ सबै नाटक रहेछ’, काठमाडौं परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने। अपहृत भनिएका ती युवकलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ। प्रहरीका अनुसार पीडित भनिएका युवकहरुको मंगलबार साँझ बालाजु वृत्तमा बाक्लो उपस्थिति थियो।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्