नक्कली माेही खडा गरी जग्गा बाँडफाँट गर्ने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज– भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकृतसहित कार्यालयका तामेलदार विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकृत गमबहादुर विक र तामेलदार प्राणनाथ कसजु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा अभियोग–पत्र दायर गरेको हो।

विकले मोहियानी हकको नक्कली लगत खडागरी मोही बाँडफाँट निर्णय गरेको उजुरीको आधारमा उनीसहित तामेलदार कसुजु विरुद्ध विशेष अदालतमा मुदा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिए।

बाराको साविक नकटुवा गाविस–२ को कित्ता नं. ५६ को १० कठ्ठा, वडा नं. ५ को कित्तानं. ११२ को ९ कठ्ठा १० धुर, कित्ता नं. २१३ को ५ कठ्ठा ५ धुर जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडागरी मोही बाँडफाँट निर्णय गरेको भनी आयोगमा उजुरी परेको थियो।

यस्तै भूमिसुधार अधिकृत विक र तामेलदार कसुजुले साविक नगवा गाउँपालिका वडा नं. ५ को कित्ता नं.११२ र ११३ जग्गाको मोहीको लगत सम्बन्धी ३ नं. अनुसूची साथै वडा नं. २ कित्ता नं. ५६ को जग्गाको मोहीको लगत सम्बन्धी १,२ र ३ नं. अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरेको आरोप रहेको छ।

यस्तै नक्कली मोही बनेर बाँडफाँटको लागि निवेदन दिने नगेश्वर राउत कुर्मी विरुद्ध पनि अख्तियारले मुदा दर्ता गराएको छ। राउतले भूमिसुधार कार्यालय, पर्साका कर्मचारीहरूलाई प्रलोभनमा पारी मोहीका अभिलेखहरूमा थपघट तथा सच्याउने कार्यमा प्रपञ्च मिलाउने काम गरेको आरोपमा उनी विरुद्ध विशेष अदालतमा मुदा दायर गराइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्