गर्मी हुने रुपन्देहीमा फल्यो स्याउ !

बुटवल-सामान्यतया स्याउलाई आवश्यक पर्ने हावापानी हिमालमा पाइन्छ। पहाडमा पनि यदाकदा स्याउ फलेको सुनिन्छ। तर हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ प्रचण्ड गर्मी हुने तराईमा समेत फलेको छ।

रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले बताए। उनका अनुसार यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो।

उनले दुईवर्ष अघिदेखि यसको परीक्षणका रुपमा सो जातको स्याउको बिरुवा लगाएका थिए। ‘गत वर्ष ४/५ वटा मात्रै फल लागेका थिए, यो वर्ष भने स्याउको बोटमा लटरम्म फल लागेका छन्’, उनले देशसञ्चारसँग भने।

जंगली प्रजातिको मिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमेबाट यो स्याउको बोट तयार गरिएको हो।
चिसो मौसम नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ। जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको हो।

‘५० वटा विरुवाको ग्रासिङ गरी लो मिलिङ्ग जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले पूरा भएको छ’, उनले भने। उनको नर्सरीबाट बिरुवा लगेकाहरुको घरमा समेत स्याउले लटरम्म फल हालेको छ। गुल्मी र पाल्पामा समेत एकैसाथ बिरुवा रोपिएको थियो। ती सबै वोटले फल दिएका छन्।

सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ। तर गर्मी मौसमका कारण तराईमा वैशाखमै फल देखिएको उनले बताए। गत वर्ष फलेको फल गुलियो रहेको पाण्डेले बताए। ‘स्याउ हरियोबाट रातो हुँदै पाक्यो’, उनले भने– ‘बजारमा पाइने जस्तै गुलियो स्वादको छ।’

गत वर्ष आधा दर्जन फलमात्रै पाकेको थियो। यो वर्ष फल नझरे एक क्विन्टल स्याउ उत्पादन हुने पाण्डेले बताए। उनकै नर्सरीबाट बिरुवा लगेका मणिग्रामका रमेश पराजुलीको घरमा समेत स्याउ फलेको छ।

‘गोल नभई लामो आकारको फल लागेको छ’, उनले भने। बोट उन्नत र स्वस्थ रुपमै हुर्किएकाले फल पाक्ने विश्वास गरिएको छ। स्याउको बोटमा कुनै प्रकृतिको किटनाषक औषधि राखिएको छैन। सामान्य मल र पानीमात्रै राखिएको छ। किराको आक्रमण समेत अहिलेसम्म देखिएको छैन।

कृषि विज्ञहरु भने तराईमा फल्ने स्याउको स्वाद नहुने दावी गर्छन्। तर यसको परीक्षण नै भने अहिलेसम्म भएको छैन। तराईमा समेत स्याउ फल्छ भन्ने सुनेका पराजुलीकै आग्रहमा नर्सरी व्यवसायी पाण्डेले बोट ल्याएका थिए।

भारतका कतिपय क्षेत्रमा उच्च तपक्रममा समेत स्याउ फलाउने गरिएको छ। सोही जातको बोट भएमा यसको उत्पादन हुने विश्वास गरिएको छ। पाण्डेले बोटमा रहेका सबै फल पाकेमा अर्काे वर्ष व्यवसायिक खेती नै शुरु गर्ने योजना बनाएका छन्। ‘यो सिजन अध्ययन गर्छाैं, राम्रो भयो भने व्यवसायिक उत्पादन गर्ने योजना बनाएका छौँ।’ उनले भने।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्