सेजमा उद्योगले उत्पादन थाल्‍यो, असारअघि नै निर्यात गर्ने तयारी

बुटवल-देशको पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापित उद्योगले उत्पादन सुरु गरेको छ। गत वर्ष असार महिनामा भैरहवा सेजमा पहिलो उद्योगको रुपमा स्थापना भएको शक्ति मिनरल्स प्रालिले उत्पादन सुरु गरेको हो।

पहिलो उद्योगको शुभारम्भ संघीय सरकारका उद्योग मन्त्री मातृका यादवले गरेका छन्। उद्योगबाट अहिले परीक्षणको रुपमा उत्पादन भैरहेको र छिटै सेज ऐनमा तोकिएअनुसार भारत र तेश्रो मुलुकमा निर्यात गर्ने गरी उत्पादन शुरु गर्ने शक्ति मिनरल्स प्रालिका सञ्चालक एवं अध्यक्ष विनोद कुमार श्रेष्ठले बताए।

‘सबै प्रक्रिया पूरा गरी असार भित्रै निर्यात गर्छौ, अहिले परीक्षण उत्पादन भैरहेको छ, उत्पत्तिको प्रमाणपत्र प्राप्ति (सिओ) र अन्य सरकारी प्रशासनिक काम पूरा भएपछि असार भित्रै निर्यातमा लाग्छौं’, श्रेष्ठले भने।

शक्ति मिनरल्स उद्योग खनिज, उत्खनन् तथा अन्वेषणमा आधारित उद्योग हो र यसले खनिज पदार्थ (चुन ढुंगा, डोलामाईट प्रशोधन गरी पाउडर र फ्ल्क्स (टुक्रा) उत्पादन गर्छ। उद्योगबाट उत्पादित माईल स्टोन र डोलामाईट पाउडर र फ्ल्क्सका टुक्रा गरी वार्षिक १ अर्ब रुपैयाँ बराबरको उत्पादन भारत निर्यात गर्ने उद्योगका लक्ष्य रहेको श्रेष्ठले बताए। त्यस्तैगरी यो उद्योगका कारण वार्षिक २० करोड बराबरको आयात प्रतिस्थापन हुने उनले बताए।

भारतमा लाईमस्टोन र डोलामाईटको पाउडर तथा फ्ल्क्सहरु फलाम बनाउन (छड, स्टिल बनाउने प्राईम ब्लेड) प्रयोग हुन्छ। भारतले पनि टर्की, ईरान, मलेशिया लगायतका देशबाट यी सामान आयात गर्छ। छिमेकी देशमा उत्पादित वस्तु भारतीय उद्योगलाई सस्तो र दुरीको हिसाबले नजिक पनि पर्ने भएकाले बजार राम्रो हुने अपेक्षा रहेको श्रेष्ठले बताए।

४० करोडको लगानी रहेको यो उद्योगको दैनिक क्षमता १५ सय टन प्रशोधन गर्ने रहेको उद्योगका निर्देशक दीपकुमार झाले बताए। उद्योगले २० करोड रुपैयाँ बराबरको आयात प्रतिस्थापन गर्न सकिने निर्देशक झाले बताए। उद्योगको उत्पादन मध्ये ६० प्रतिशत भारत अथवा तेश्रो मुलुकमा निर्यात गर्नुपर्नेछ भने ४० प्रतिशत स्वदेशमै बिक्री गर्न पाउनेछन्। उद्योगबाट प्रत्यक्ष रुपमा १ सय ३० जनाले रोजगारी पाएका छन्। यो उद्योगको मुख्य कच्चा पदार्थ चुनढुङ्गाा खानी पाल्पा जिल्लामा रहेको छ।

भैरहवा सेजमा उद्योग स्थापनाका लागि निवेदन दिएकामध्ये अन्य १० वटाले उद्योग स्थापनाका लागि आवश्यक काम शुरु गरिसकेको र बाँकी ९ वटा उद्योग पनि नक्शांकन लगायत प्रशासनिक काममा रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका निर्देशक चन्द्रिका प्रसाद भट्टले बताए।

अन्य बाँकी १० उद्योगहरुका लागि साउनसम्म म्याद दिईएको छ। सो समयसीमासम्म नआए पुनः सूचना प्रकाशन गरी अन्यलाई अवसर दिईने उनको भनाई छ।

विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योग, खनिज पदार्थ प्रशोधनलाई प्राथमिकता दिइन्छ। ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान रहेकोमा पछि संशोधन गरी ६० प्रतिशत बनाईएको छ।

सेजका उद्योगले व्यापार घाटा कम गर्नेछन्ः मन्त्री यादव

उद्योगमन्त्री मातृका यादवले मंगलबार भैरहवा सेजमा उद्योग शुभारम्भ गर्दै सेजमा स्थापित उद्योगहरुका कारण वैदेशिक व्यापार घाटामा कमी आउने बताए। उनले अहिले आयात र निर्यात बीचको दुरी बढ्दै गएको भन्दै निर्यातमूखी उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्ने बताए।

उनले उद्योगीहरुलाई वातावरण प्रदुषणमा विशेष ध्यान दिन र रोजगारमा स्थानीयहरुलाई प्राथमिकता दिन आग्रह गरे। ‘वातावरण र जनतामैत्री उद्योग हुनुपर्छ, प्रदूषण फैलाउने उद्योग स्वीकार्य छैन, प्रदूषण नियन्त्रणका लागि प्रविधिहरु लगाउनुहोस्, उद्योग क्षेत्रमा कसरी हुन्छ राज्य सहयोग गर्न तयार छ।’ मन्त्री यादवले भने।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीले प्रदेश ५ चुनढुङ्गाको खानीकै रुपमा रहेको भन्दै उत्खनन् गर्दा अपनाउनु पर्ने प्रक्रियाहरु, वातावरण प्रदूषण, स्थानीय जनतालाई ध्यान दिनु पर्ने भन्दै उद्योगको संरक्षणमा प्रदेश सरकार पनि प्रतिवद्ध रहेको जनाए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव याम कुमारी खतिवडाले विशेष आर्थिक क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सरकार सदैव लागिरहने भन्दै देशको पहिलो विशेष आर्थिक क्षेत्रमा उद्योग सुरुवात हुनु सकारात्मक सन्देश भएको बताईन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले भैरहवा विशेष आर्थिक क्षेत्र देशकै गौरवको विषय रहेको भन्दै उद्योग व्यवस्थापकहरुले वातावरण प्रदुषणमा ध्यान दिनुपर्ने बताउँदै ढिलै भएपनि उद्योग सञ्चालनमा आउनु राम्रो संकेत रहेको र रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने बताए।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्