एन्टोनी ग्रिजम्यानले छोड्ने भए एथ्लेटिको मड्रिड, बार्सिलोना जाने सम्भावना

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका छन् । ग्रिजम्यानले पाँच वर्षको बसाईपछि स्पेनिस क्लब एथ्लेटिको मड्रिड छोड्ने घोषणा गरेका हुन् ।

विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ग्रिजम्यानले गएको जुनमा क्लबसँग पाँच वर्षको सम्झौता गरेका थिए । तर आउँदा शनिबार हुने ला लिगा अन्तर्गत लेभान्टसँगको खेल नै अहिलेका लागि एथ्लेटिको मड्रिडबााट उनको अन्तिम खेल हुने भएको छ ।

ग्रिजम्यानलाई बार्सिलोनाले क्लब भित्र्याउन सक्ने जनाइएको छ । उनलाई भित्र्याउन चाहने क्लबले एथ्लेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नु पर्छ । २८ वर्षका ग्रिजम्यानले ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’

उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया दिएका समर्थकहरुलाई यो जानकारी दिन चाहन्छु कि अहिलेका लागि यो क्लब छोड्दैछु, अरु चिजहरु हेर्नका लागि र अरु चुनातीहरु सामना गर्नका लागि ।’

क्लब छोड्ने निर्णय लिन कठिन भएको तर आफूलाई यहि नै सही जस्तो लागेको उनले उल्लेख गरेका छन् । उनले पाँच वर्षको अवधिमा पाएको मायाका लागि सबैलाई धन्यबाट भनेका छन् ।

रियल सोसिडाडबाट सन् २०१४ मा एथ्लेटिको आएका उनले अहिलेसम्म एथ्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका छन् । यो अवधिमा उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप जितेका छन् । उनी पछिल्ला पाँच सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् ।

उनले गएको सिजन बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका थिए र त्यसको कारण आफ्नो विचार प्रक्रिया रहेको उनले ‘द डिसिजन’ नामक डकुमेन्ट्रीमा उल्लेख गरेका छन् ।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्