लुम्बिनीमा प्रधानमन्त्रीले बुद्ध पूर्णिमा प्रार्थना र ध्यान गर्ने

बुद्ध पूर्णिमाको तयारी तीव्र, यस्ता छन् लुम्बिनीमा हुने कार्यक्रम

बुटवल – २५६३ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनाका रुपमा मनाउने गरिन्छ । बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी दिवसको रुपमा पनि मनाईँदै आएको छ ।

जेठ ४ गते परेको बुद्ध पूर्णिमालाई भव्य बनाउन लुम्बिनी विकास कोष र प्रदेश ५ सरकारले विभिन्न समिति, उपसमितिहरु गठन गरेर काम गरिरहेको छ ।

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियामा पुगेर लुम्बिनी भ्रमणको निम्तो दिएर बुधबार स्वदेश फर्किँदैछन् ।

यस्ता छन् बुद्ध पूर्णिमाका कार्यक्रम

बुद्ध पूर्णिमा नजिकिँदै गर्दा लुम्बिनीमा निरन्तर सरसफाई गरिएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा सरसफाई गरिरहेका छन् भने लुम्बिनी वरिपरिका सडकहरु सरसफाई गर्ने काम पनि तीव्र भएको छ ।

बुद्ध पूर्णिमा मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्धमार्गीहरु, भिक्षुभिक्षुणीहरुलगायत लुम्बिनी आउनेछन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बुद्धपूर्णिमा मनाउन अघिल्लो दिन नै बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्ने छन् ।

जेठ ३ गते शुक्रबार दिउँसो लुम्बिनी आउने प्रधानमन्त्री ओली कपिलवस्तुस्थित शुद्धोधनको दरबार रहेको तिलौराकोट र अन्य बुद्धस्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका मायादेवी मन्दिरअघिल्तिर बसेर बुद्ध पूर्णिमा प्रार्थना र ध्यान गर्नेछन् ।

त्यसपछि उनले अर्को दिन बिहान बुद्ध पूजा र शान्ति र्‍यालीमा सहभागी हुनेछन् । भिक्षुहरुलाई चिवर दान दिने कार्यक्रम पनि रहेको छ ।
यस्तै सोही दिन लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नेछन् ।

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्ध पूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए । त्यसपछि बिहान ११ बजे मुल समारोह सुरु हुनेछ ।

बुद्ध पूर्णिमाको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई ५–५ हजारका दरले छात्रवृत्ति वितरण गरिने छ ।

बुद्ध जयन्तीको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५ सय ६३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको संयोजकत्वमा पुरस्कार तथा सम्मान व्यवस्था समिति, निमित्त सदस्य सचिव सरोज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।

यस्तै पूजा परित्राण उपसमिति, विहार गुम्बा उपसमिति, लुम्बिनी भ्रमण वर्ष समन्वय उपसमिति, देबदह, रामग्राम, कपिलवस्तु उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकूद, मञ्च व्यवस्थापन, यातायात, भोजन तथा प्रसाद, शान्ति र्‍याली व्यवस्थापन, सरसफाइ, वृक्षारोपण तथा स्वास्थ्य व्यवस्था उपसमिति गठन गरिएका छन् ।

वर्षभरि नै चल्नेछन् प्रवर्द्धनका कार्यक्रम

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्‍याउने उद्देश्यले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने घोषणा गरेको छ । यसको औपचारिक घोषणा बुद्ध पूर्णिमामा लुम्बिनीबाट हुनेछ ।

भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने प्रचारप्रसार उपसमितिका संयोजक भरत केसीले जानकारी दिए ।

प्रचारप्रसार उपसमितिले ७ वटै प्रदेशका राजधानी र संघीय राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लुम्बिनी घुम्न आउन निम्तो दिइसकेको छ ।

भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।

के हो मायादेवी प्रसुति उत्सव ?

महारानी मायादेवी सुत्केरी हुने बेला नजिकिँदै गएपछि पहिलो सन्तानको जन्म दिन माइती जानुपर्ने त्यतिबेलाको परम्पराअनुसार उनी कपिलवस्तुको राजधानी तिलौराकोटबाट सुसारे, सेनासहित माइती देवदह प्रस्थान गरिन् ।

बाटोमा पर्ने मनमोहक लुम्बिनी बगैचामा विश्राम गरिन् । सोही क्रममा उनलाई बेथा लाग्यो । बगैँचामा साल वृक्षको हाँगा समातेर सिद्धार्थलाई जन्म दिइन् । महारानी मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको खबर सुनेर राजा शुद्धोधनले कपिलवस्तु राज्यमा महाउत्सव मनाउने घोषणा गरे ।

सोही अनुसार लुम्बिनीमा कोलिय र शाक्य राज्यका भद्रभलाद्मीहरुको उपस्थिति भयो । कपिलवस्तु राज्यभरि सरसफाई गरियो, तुलब्यानर टाँगियो, बाजागाजा लगाउन लगाइयो, प्रत्येक घरअघि घडा राख्न लगाइयो, स्वागतद्वारहरु निर्माण भए ।

महारानी शिशु सिद्धार्थलाई लिएर लुम्बिनीबाट कपिलवस्तु फर्किदा हजारौँ नागरिकहरु उत्सवमा सहभागी भए । त्यही महाउत्सवको झल्को दिने गरि बुद्धपूर्णिमाको अर्को दिन जेठ ५ गते प्रसुति उत्सव मनाइनेछ ।

के हो सुजाता खिर उत्सव ?

सिद्धार्थले गृहत्याग गरेपछि ६ वर्षसम्म महातपस्या गरे । धेरै गुरुको आश्रममा गएर सेवा गरे । एकपछि अर्को साधना गर्दै गए । तर अहंकारको तृप्त अर्थात दुःखको संसार समाप्त भएन । एक दिन गुरुले भने–‘दिन–प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ ।’

सिद्धार्थले त्यही अनुसार गर्दै गए । छ महिनामा एउटा चामलको दानामात्र भोजन भयो । ज्ञान त प्राप्त भएन, तर शरीर पूर्णतया विनाश भयो । हड्डी र छालामात्र बाँकी रह्यो । उरुवेलको निरन्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो । नदी तर्न सकेनन्, बाटोमै ढले । हातखुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो, ‘मलाई यो के भयो ? भवसागर तर्ने उद्देश्यले सन्यास लिएको हुँ । तर आज यो सानो नदी पनि तर्न सकिन ?’

एक बिहान निरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खिर भोजन गरे । निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामक युवतीले खीर खुवाएपछि सोही राति ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाइनेछ ।

आन्तरिक पर्यटकका लागि जोड

बुद्ध जन्मस्थल लुम्बिनी र अरु बुद्धस्थलहरुमा आन्तरिक पर्यटक बढाउने लक्ष्य लुम्बिनी विकास कोषको छ । जसमा यसपटक प्रदेश ५ सरकारले पनि लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै लुम्बिनीमा पर्यटक आगमन बढाउनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको छ ।

आन्तरिक पर्यटकलाई वृद्धि गर्ने लक्ष्यमा केन्द्रित भएर यस पटकको बुद्धपूर्णिमा मनाउने तयारी गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेका कारण यसपटकको बुद्ध पूर्णिमा विशेष हुने उनले बताए ।

के हो बुद्ध पूर्णिमा ?


गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोग दिन हो बुद्धपूर्णिमा । इसापूर्व ६२३ वर्ष अघि वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।

पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार महारानी मायादेवी कपिलवस्तु राजदरबार तिलौराकोटबाट आफ्नो माइती देवदह जादै गर्दा लुम्बिनी उद्यानमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।

लुम्बिनीमा जन्म भएपछि सिद्धार्थको जन्मको खुशीयालीमा तिलौराकोटबाट बाजागाजासहितका लावालस्कर आएर विजय उत्सव मनाउँदै तिलौराकोट दरबारमा प्रवेश गराएका थिए ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थ मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए । तपस्या गर्न निस्किएका सिद्धार्थले पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेका थिए । त्यसपछि सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो ।

वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बोधगयास्थित बोधीवृक्षमुनि ध्यान गरिरहेको समयमा बुद्धत्व प्राप्त गरेका थिए । वैशाख शुक्ल पूर्णिमाकै दिन उनको ८० वर्षको उमेरमा महापरिनिर्वाण (निधन) भएको थियो ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू