विपदका साथी–एक

एउटा गोताखोरको पीडा र हर्ष

थप्रेक गाउँलाई काखमा पारेर बगी रहेको तादी खोलामा पौडी खेल्दै हुर्किएका हुन् उनी। पौडिनु रहरभन्दा पनि बाध्यता थियो।

गाउँ खोलावारि, स्कूल पारीपट्टि। तादी खोला वारिपारि गरे बालापाना बित्यो।

विज्ञापन

पुल तर्नुभन्दा पौडिनु छिटो हुने भएपछि अधिकांश दिनहरु लिखुको पानीसँग बिताए पुरुषोत्तम भण्डारी र उनका अरु साथीहरुले।

यसरी पौडेर पढेका नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ थप्रेकका थप्रेक दुई दशक अर्थात २० वर्षअघि काठमाडौँ पसे।

२०५६ सालमा एसएलसीपछिको अध्ययनका लागि काठमाडौँ छिरेपछि पुरुषोत्तमको तादी खोलासँगको नाता पातलियो। तर त्यही खोलाको पानीले बालखमै सिकाएका गुणहरु परख्दै अहिले उनको परियचयले आकार लिएको छ, ‘गोताखोर’ पुरुषोत्तमका रुपमा।

पुरुषोत्तम सशस्त्र प्रहरीको विपद व्यवस्थापन कार्यदलमा छन् । सशस्त्र प्रहरी निरीक्षक पदमा रहेका ३६ वर्षे उनले तादी खोलबाट बालखैमा सुरु गरेको पानीको यात्रा अहिले विपदमा परेकाहरुको उद्धार गर्ने माध्यम बनेको छ पेशाका रुपमा ।

तादी हुँदै अधिकांश खोलासम्म


विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उनले संकटमा गर्ने उद्धारको कला सिके । २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका पुरुषोत्तमले २०६८ सालमा विपद व्यवस्थापनको तालिम लिए । त्यसपछि गोताखोरको थप तालिमका लागि बंगलादेश गए, अरु २४ जनासहित । त्यसमध्ये अहिले १९ जना सक्रिय छन् ।

गोताखोर, अर्थात पानी मुनि गएर डुबेकाहरुको उद्धार गर्ने व्यक्ति । पुरुषोत्तमले तादीमा पौडेर स्कूल आउजाउ गर्दा यहि पानीसँग पेशा जोडिन्छ भन्ने सोचेका थिएनन् । पौडेर हुर्केका पुरुषोत्तम अहिले अधिकांश समय खोला, ताल वा इनारहरुमा डुबेकाको उद्धारका लागि खटिने गर्छन् । नभए त्यसका लाग चाँजोपाँजो मिलाइरहेका भेटिन्छन् ।

‘तादीबाट सुरु भएको यो सीपले मलाई अहिले देशका अधिकांश खोलाहरुको भित्री सतहमा पु¥याएको छ’ पुरुषोत्तमले आफैले गर्दै आएको काममा पत्यार नलागे जस्तोगरि भनेका हुन् ।

निकै हतारमा ‘दौडिने’ खोलाहरु र प्रायः स्थिर जस्तै लाग्ने तालहरु अनि आवाज हराउने इनारहरुमा पनि उनले डुबुल्की मारेका छन् ।

शोकसँगको नाता


पुरुषोत्तमसहित २५ जना गोताखोर तालिम लिएर स्वदेश फर्केपछि पानीमुनिको खोजी तथा उद्धारका लागि विदेशबाट टोली ल्याउनु पर्ने बाध्यता हटेको छ ।

गोताखोरहरुलाई त्यो बेला बोलाइन्छ, जब पानीमा डुबेकाहरुलाई सहजै फेला पार्न सकिँदैन । अर्थात पानीमा डुबेकाहरुको जीवित उद्धारको सम्भावना सकिएपछि र प्रारम्भीक टोलीले फेला पार्न नसकेपछि गोताखोरहरु बोलाइन्छन् ।

उनीहरुले पानीमुनि गएर डुबेकाहरुको शव खोज्छन् । निकालेर आफन्तको जिम्मा लगाउँछन् । सास नभए पनि लाशसम्म देख्न पाउँछन् आफन्तहरुले पुरुषोत्तम जस्ता गोताखोरहरुका कारण । संस्कार अनुसार अन्त्यष्टि, अर्थात आफन्तको अन्तिम बिदाई गर्न पाउने माध्यम बन्दै आएका छन् उनीहरु ।

‘हामीलाई शव खोजेर निकाल्नका लागि नै बोलाइन्छ । सजिलो हुँदैन वातावरण । आफन्तहरुको मलिन अनुहार । लाश भए पनि हेर्ने रहरमा एकोहोरो टोलाएका आँखाहरुलाई नियाल्दै पानीभित्र पस्छौँ । खोजेर निकाल्दा काम फत्ते गरेको खुशी हुन्छ ।’

गोताखोरको कर्मबारे पुरुषोत्तमले बताउँदै गर्दा पनि आफूले देखेका परिवेशहरुको प्रभाव उनको अनुहारमा प्रष्ट थियो ।

जीवन युक्त या जीवितहरुलाई बाहिर निकाल्न पाएको भए अवस्था अर्कै हुन्थ्यो जस्तो लाग्छ । तर जीवनपछिको कर्मको बाटो खोल्नका लागि आफन्तलाई शवसम्म भए पनि दिन सक्यौँ भन्ने सन्तोष भने रहन्छ । सन्तोष पनि शोकसँग जोडिएको हुन्छ ।

गएको मंसिरमा पुरुषोत्तमसहितको टोलीले सप्तरीका रामबाबु मुखियाको शव निकालेको थियो, कोशी नदीसँगैको नहरबाट । माछा मार्न साथीसँगै गएका रामबाबु कोशी नदीको छेउमा रहेको नहरको टनेलमा छिरेका निस्कन सकेनन् ।

लगभग तीन दिनपछि गोताखोरलाई बोलाइयो । पुरुषोत्तसहितको टोली टनेलमा छिरेर शव निकाले । साँघुरो टनेलमा छिरेर निस्कनु नै सजिलो हुँदैन, त्यसमाथि शव लिएर निस्कनु पर्ने ।

अर्को घटना कैलालीको मोहना नदीको हो । गएको कात्तिकमा अरु दुई साथीसँग पौडी खेल्न गएका कृष्णबहादुर ओली बेपत्ता भए । स्थानीयले धेरै खोजे । भेट्टाएनन् ।

पुरुषोत्तमसहितको गोताखोरको टोलीले पनि धेरै खोज्यो । साँझ पर्न लाग्दा पनि फेला नपरेपछि फर्किने तरखर गर्दै गर्दा दिनभरिको मेहनत काम लाग्यो । कृष्णबहादुरको शव भेटियो । सामान्यतया डेढ दुई घण्टामा शव भेटिन्छ, तर कहिले काहिँ कृष्णबहादुरको जस्तो अवस्था पनि आउँछ ।

शव त भेटिन्छ, तर त्यसले छोड्ने मनोवैज्ञानिक असर ठूलो छ । अहिले पनि मन चिमोट्ने घटना छ । काभ्रेको तिमालका ९ कक्षामा अध्ययन गर्ने सुमन तामाङ गएको होलीमा गर्मी छल्न सुनकोशी नदीमा साथीहरुसँगै पौडिन गएका फर्किएनन् ।

पाँच दिदीबहिनी मुनिका भाइ थिए सुमन । छोराको आशमा पाँच छोरी पछि जन्मिएका सुमनको निधनले उनका मातापितामा परेको आघातको आकार आँकलन गर्न पक्कै सकिन्न । र शव निकालेपछि उनीहरुले गरेको विलापका विरक्त लाग्दो याद अझै पनि छ पुरुषोत्तमको मानसपटलमा ।

अप्ठ्यारो छ काम


जमिनकै काम त अप्ठ्यारो हुन्छ । त्यसमाथि अभ्यस्त नभएको या खासमा परिवेश बारे जानकारी नै नभएको पानीमुनि गएर त्यहाँका खोँचहरुमा पुगेर शव खोज्नु र त्यसलाई बाहिर ल्याउने काम झन सजिलो हुने कुरै भएन ।

पानीमुनिको काम भएकाले पौडिन जान्नु त अत्यावश्यक गुण नै भयो । पुरुषोत्तममा हुर्किँदै गर्दा लिखु खोलाले दिएको थियो त्यो गुण । तर गोताखोर बन्ने परख सशस्त्र प्रहरी (एपिएफ) मा जोडिएपछि मात्र पाएका हुन् उनले ।

तालिमले उनीसहितकालाई परिवेशको आँकलन गर्न सक्ने बनाएको छ र अरुलाई सहयोग गर्न सक्ने पनि । तर तालिम भए पनि पानीमुनिको काम सजिलो भने छैन । अलिकति तलबितल प¥यो भने आफ्नै ज्यान जोखिममा पर्छ ।

ज्यान धरापममा राखेर पानीमुनि पस्ने काम गर्न डर त लाग्छ । तर त्यही डरले नै सुरक्षित रहनु पर्छ भन्ने ज्ञान पनि दिने गरेको पुरुषोत्तमले सुनाए । सुरक्षात्मक उपायहरु र बेलाबेलामा भइरहने तालिम तथा एपिएफभित्रको लगनशीलताले काममा लागि रहने वातावरण बनाएको बताउने पुरुषोत्तमलाई आफ्नो प्रयासमा गर्व छ ।

आफूले गर्ने कामबारे परिवारलाई स्पष्ट बनाउने आँट भने गरेका छैनन् अझै । बुवाआमालाई छोराले पानीमा पौडेर मान्छे निकाल्छ भन्ने थाहा छ । जीवन संगीनिलाई केही बढि जानकारी छ, तर काममा आइलाग्ने चुनौति र डर बारे भनेका छैनन् । उनलाई बतायो भने परिवारमा अनावश्यक पीर हुन्छ भन्ने लाग्दो रहेछ ।

पुरुषोत्तमकी छोरी हुर्किँदै छिन्, साढे चार वर्षकी भइन् । उनी पनि पौडिन औधी रुचाउँछिन् । उनलाई पनि बुवाले पौडिनु हुन्छ भन्ने थाहा छ । शायद कामबारे जानकारी छैन । परिवारलाई थाहा नभए पनि आफ्नो ‘कर्म परिवार’ एपिएफलाई थाहा भएको र आफूले शव निकालेकाका परिवारलाई थाहा छ उनको कर्मको मर्म । त्यसैले उनलाई सहयोगको कर्ममा अनवरत लागिरहन उर्जा दिने गरेको छ ।

उनी भन्छन्, ‘सजिलो छैन र काम आँसुसँग जोडिएको छ । यसबाट अन्तिम बिदाई गर्न मिल्ने माध्यम भने दिन सकेका छौँ, यसैमा सन्तुष्टि छ ।’

(प्राकृतिक विपद तथा विभिन्न घटना–दुर्घटनामा समस्यामा परेकाहरुलाई जोखिमका बिच उद्धार गर्नेहरुको कर्मलाई सम्मान गर्दै देश सञ्चारले विशेष शृङ्खला ‘विपदका साथी’ तयार पारेको हो । यो शृङ्खला अन्तर्गतका स्टोरीहरु हरेक दिन क्रमैसँग प्रस्तुत गर्दै जाने छौँ ।)

तस्बिर तथा भिडियो : मन्दिरा राउत/देश सञ्चार