तत्काल विधेयक फिर्ता लिनुस् नत्र आन्दोलन चर्कन्छः कांग्रेस

कांग्रेस बैठक।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका सो तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धी विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी पनि दिएको छ ।

ती विधेयक तत्काल फिर्ता नभए सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्ने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँणले बताए ।

नेपाली काग्रेसले सरकार निरंकुशताको यात्रामा निरन्तर अघि बढिरहेको आरोप पनि लगाउँदै आएको छ ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू