‘स्वस्थ नागरिक’ अभियान

पोखरामा योगासहितको खुला व्यायामशाला!

पोखरा – तीव्र सहरीकरणसँगै खुला ठाउँ अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले भने खुला व्यायामशालाको अवधारणा अघि सारेको छ ।

चालु आर्थिक वर्ष २०७५÷०७६ मा ९० लाख रुपैयाँ बजेट विनियोजन भएको पार्कसहितको सुविधायुक्त खुला व्यायामशाला निर्माण अघि बढ्ने भएको छ ।

पोखरा १८ जामुनबोट र लेखनाथ गरी २ ठाउँमा खुला व्यायामशाला निर्माणका लागि टेन्डरमार्फत निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको छ ।

दुवै ठाउँमा बन्ने खुला व्यायामशालाको प्रकृति एउटै हुने महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

पोखरा १८ जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ । कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो ।

१ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए ।

‘जामुनबोटमा बन्ने व्यायामशालाका लागि ठेक्का पाएको कम्पनीसँग महानगरले सम्झौता गरिसकेको छ,’ उनले भने, ‘वैशाख १६ गते सम्झौता भई आउँदो असार २० गतेभित्र निर्माण सक्ने सम्झौता छ ।’

व्यायामशाला निर्माणका लागि स्थानीयले पनि उत्तिकै चासो देखाएका कारण ठाउँको विवाद नहुँदा सम्झौता अनुसार नै काम सकिने मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

पोखरा ३१ बेगनासताल नजिकै निर्माण गर्ने भनिएको व्यायामशालाका लागिसमेत वैशाख २३ गते ठेक्का सम्झौता भएको छ ।

एमएनसी÷लोयल जेभी पोखराकै निर्माण कम्पनीले उक्त योजनाको ठेक्का पाएको हो । उक्त व्यायामशालाका लागि ४९ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न कम्पनीले जिम्मेवारी लिएको छ ।

बेगनास क्षेत्रमा बन्ने ठाउँ भने स्थानीयसँग तालमेल नहुँदा सम्झौता बमोजिम निर्माण सम्पन्न हुनेमा शंका देखिएको छ ।

ठेकेदारसँगसँग लेखनाथ क्षेत्रको जुनै पनि क्षेत्रमा निर्माण गर्नुपर्ने भनिएको हुँदा त्यहाँ उपयुक्त नभए अन्य क्षेत्रमा निर्माण गरिने महानगरपालिकाले जनाएको छ । आउँदो असार २० गतेभित्रै निर्माण सक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

व्यायामशालामा १ सेट शारीरिक व्यायामका सामग्री रहनेछन् । जसमा डबल ब्याक म्यासेजर, राइडिङ मेसिन, डबल ट्विस्टर, सिंगल एब्डोमिनल प्लेट, क्रस ट्रेनर, ट्रेडमिल, कारडियो वाकर, डबल ह्विल ट्विस्टर, सोल्जर जोइन्ट ट्रेनर गरी ९ वटा व्यायाम सामग्री राखिने भएको छ ।

दौडका लागि वरीपरी दौड ट्रयाकसमेत बनाइने भएको छ । योगासनका लागि पार्कभित्रै गार्डेन निर्माण गरी व्यवस्थापन गरिने छ । आकर्षणका लागि बगैँचासहितको आराम गर्ने प्वाइन्टहरुको स्थापना गरिने महानगरले जानकारी दिएको छ । महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय÷बाथरुम निर्माण गरिने छ ।

सोही क्षेत्रमा सवारी पार्किकका लागि समेत व्यवस्थापन गरिएको इन्जिनियर रेग्मीले जानकारी दिए । महानगरको बजेटमा निर्माण भएको खुला व्यायामशाला सञ्चालन र संरक्षणको जिम्मेवारी स्थानीय क्लबलाई दिइने महानगरको योजना छ ।

स्वस्थ्य नागरिक अभियान अन्तर्गत महानगरले खुला व्यायामशालाका लागि योजना बनाएको थियो । दुवै आयोजनामा चालु वर्षको विनियोजित बजेटमा अपुग हुने रकम विषयगत कार्यक्रमका शीर्षकबाट रकमान्तर गरी योजना सम्पन्न गर्ने महानगरले जनाएको छ ।

बैदाम र भण्डारढिकमा १/१ सेट व्यायाम सामग्री


महानगरपालिकाले पोखरा ६, बैदामस्थित तालबाराही स्कुल छेउको पार्कमा र भण्डारढिकमा रहेको खेल मैदानमा खुला व्यायामशालाका स्थापनाका लागि १÷१ सेट व्यायाम सामग्री खरिद गरेको छ ।

झन्डै ४ लाख रुपैयाँ लागतमा पोखरा महानगरले चिनबाट खरिद गरी ल्याइएको व्यायाम सामग्री पोखरा ल्याइएको हो ।

निशुल्क प्रयोग गर्न दिने गरी पार्कमा व्यायाम सामग्री फिट गर्न लागिएको महानगरका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
परीक्षण स्वरुप पहिलो चरणमा २ ठाउँमा प्रयोगमा ल्याइएको भएपनि अरु ठाउँमा समेत महानगरले त्यस्तै सामग्री उपलब्ध गराएर प्रयोगमा ल्याउन सकिने जनाएको छ ।

कम्तीमा १० ठाउँमा स्थापना गर्ने गरी स्थलगत निरीक्षणको काम गरिरहेको मेयरका स्वकीय सचिव तिमिल्सिनाले जानकारी दिए । त्यस्ता व्यायाम सामग्रीको संरक्षणको जिम्मेवारी स्थानीय क्लब वा संघसंस्थालाई दिइने बताइन्छ ।

 

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू