कैलालीको ओलानीमा एचआइभी संक्रमित बढे, १० जनाको मृत्यु

सांकेतिक तस्बिर

धनगढी – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १०,११ र १२ मा पर्ने साविकको ओलानी गाविसमा थप एचआइभी संक्रमित फेला परेका छन् । यस अघि करिब २ सय ५० जना सम्म एच.आई.भि संक्रमित रहेको सो क्षेत्रमा पछिल्लो समय थप संक्रमित पत्ता लागे संगै संख्या थपिएको छ ।

ओलानीमा एक वर्षको अवधीमा थप १० जना एच.आई.भि पीडित फेला परेको तथ्याङ्क छ ।

विज्ञापन

एचआईभि संक्रमितको तथ्याङ्क राख्ने तथा उनीहरुको पोषणमा सघाउँदै आएको गोदावरी प्लसकी उपाध्यक्ष पार्वती विकका अनुसार गत माघमा गरिएको स्वास्थ्य परीक्षणमा थप १० जना एच.आइं.भि संक्रमित देखा परेका हुन् ।

१० जना नयाँ संक्रमित मध्य दुई जना बालबालिका पनि रहेका उनले बताइन् । ओलानीमा मात्रै नयाँ र पुराना गरी २५ जना बालबालिका एच.आई.भि संक्रमित रहेका छन् ।

उनीहरु वडा नम्बर–११ स्थित सरस्वती उमावि र जानकी प्राविमा अध्यन गरिरहेका छन् । जम्मा संक्रमित मध्ये ८० जना भन्दा बढी एकल महिला रहेको तथ्याङ्क छ ।

विकका अनुसार सो क्षेत्रमा थप संक्रमित हुन सक्ने आशंका समेत गरिएको छ । ‘धेरै मानिसले आफ्नो इज्जत जाने डरले रगत परीक्षण समेत गर्दैनन्’ उनले भनिन्–‘केही मानिस रगत परीक्षण गर्ने समयमा रोजगारीको सिलसिलामा भारत गएका कारण संक्रमितको वास्तविक तथ्याङ्क अझै बढ्ने देखिन्छ ।’

ओलानीमा रहेका संक्रमित मध्य अधिकांसको पारिवारिक आर्थिक अवस्था दयनीय हुँदा पीडितलाई समस्या हुने गरेको उनले बताइन् ।

‘स्वास्थ्यकर्मिले एच.आई.भि पीडितलाई पोसिलो खानेकुरा खान सुझाव दिने गर्दछन्’ उनले भनिन्–‘तर पारिवारिक आर्थिक अवस्था कम्जोर हुँदा पीडितले बिहान वेलुकाको छाक पनि पेट भरेर खान पाउँदैनन्, जसका कारण संक्रमित कुपोषण, कुष्ठरोग जस्ता रोगले ग्रसित हुन थालेका छन् ।’

घरमा बसेर खान समेत नपाउँदा केही संक्रमित भने रोजगारीको सिलसिलामा पुनः भारत गएका उनले बताइन् ।

गाउँमा बसेर रोगले च्याप्न थालेपनि उपचार गर्ने पैशा नहुँदा एच.आई.भि संक्रमित रोजगारी गर्न भारत जाने गरेको उनको भनाई छ ।
दलित परिवारको बाहुल्यता रहेको ओलानीमा एच.आइ.भि संक्रमण बढ्नुको प्रमुख कारण अशिक्षा रहेको गोदावरी प्लसका टिम लिडर सुरेश कुँवरले बताए ।

‘देशमा रोजगारी नहुँदा ओलानी क्षेत्रका धेरै मानिस रोजगारीको सिलसिलामा भारत जाने गर्दछन्’ उनले भने–‘भारतमा विभिन्न कारणले एच.आई.भि संक्रमित भएर फर्कने मानिसले समयमै स्वास्थ्य परीक्षण नगर्दा परिवारका सदस्य र संक्रमित दम्पतिबाट जन्मने बालबालिका पनि संक्रमित हुने गरेका छन् ।’

उनका अनुसार पीडित मध्य महिलाको संख्या पुरुषको तुलनामा बढी रहेको छ । त्यसमा पनि एकल महिलाको संख्या अझ बढी रहेको उनले बताए । संक्रमित पुरुषहरु छिटो मर्ने गरेका कारण एच.आई.भि पीडित एकल महिलाको संख्या बढी देखिने गरेको उनले बताए ।

१० जनाको मृत्यु


ओलानीमा रहेको एच.आई.भि पीडित मध्य दुई वर्षको अवधीमा १० जनाको मृत्यु भएको पाइएको छ । मालाखेती स्थित एच.आई.भि संक्रमितको अभिलेख राख्दै आएको ए.आर.टि सेन्टरका कर्मचारी राजेन्द्र मल्लका अनुसार पछिल्लो दुई वर्षको अवधीमा १० जना संक्रमितको मृत्यु भएको तथ्याङ्क छ ।

धेरै संक्रमित रोजगारीका लागि भारत गएका कारण मृत्यु हुनेको संख्या अझै थपिन सक्ने उनले बताए । गोदावरी प्लसका टिम लिडर सुरेश कुँवरका अनुसार संक्रमितले पोसिलो खानेकुरा नपाउँदा उनिहरुको छिटो मृत्यु हुने गरेको छ ।

‘पीडितले प्रयोग गर्ने ए.आर.टि औषधी सरकारले उपलब्ध गराएपनि अन्य औषधी किन्नु पर्ने बाध्यता रहेको छ’ उनले भने–‘तर अधिकांस पीडितले औषधी नै किन्न सक्दैनन्, अन्य पोसिलो खानेकुरा पनि नपाउँदा बिरामीको छिटो मृत्यु हुने गरेको छ ।’

पहिला केही संघ संस्थाले पीडितको पोषणका लागि सहयोग गर्ने गरेको भए पनि दुई वर्ष यता भने कुनै पनि सरकारी तथा गैर सरकारी संघ, संस्थाबाट सहयोग नभएको उनले बताए ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू