प्रदेश–५ का १२ जिल्लामा टुंगियो नेकपाको पार्टी एकता

   

दाङ– प्रदेश–५ का मुख्यमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–५ का इञ्चार्ज शंकर पोखरेलले नेकपा दाङ जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाइ सपथग्रहण गराएका छन्।

केन्द्रमा पार्टी एकता भएपनि जिल्ला तथा स्थानीय तहमा एकता विस्तारै टुंगिन थालेको छ। पार्टीको एकता भएको झण्डै एक वर्षपछि जिल्ला तहको एकता टुंगिएको हो।

नेकपा दाङका १५५ सदस्यलाई सपथग्रहण गराइएको हो। पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ७० गरि १५५ सदस्यलाई सपथ ग्रहण गराइएको हो।

नेकपा प्रदेश कमिटीको वैशाख २८ गते बसेको पूर्ण बैठकले प्रदेशका १२ जिल्लामा एकता टुंग्याउने निर्णय गरेको थियो। प्रदेशका १२ जिल्ला मध्ये दाङमा पहिलो पटक सपथग्रहण गराइएको हो।

सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले पार्टी एकता लामो समयसम्म सरकार चलाउने उदेश्य मात्रै नभएको भन्दै समाजलाई बदल्ने मुख्य उदेश्य रहेको बताए।

‘बलियो पार्टी र स्थिर सरकारको माध्यमबाट जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हो’, उनले भने, ‘अबको लडाईँ राष्ट्रको गरिबि, पछौटेपनलाई पराजित गर्नु रहेको छ।’

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्