युवा संघ र वाइसीएलले गरे छुट्टाछुट्टै कार्यक्रम, नेकपाका नेतृत्वलाई प्रश्‍न, ‘के जेठ ३ मा एकता हुन्छ ?’

काठमाडौँ- पूर्व एमाले र माओवादी मिलेर नेकपा बनेको एक वर्ष बितिसके पनि आफूहरुको एकतामा विलम्ब भएको भन्दै ती पार्टीका भातृ संगठनका नेताहरूले नेतृत्वसमक्ष व्यंग्यसँगै चिन्ता व्यक्त गरेका छन्।

पार्टी एकताको एक वर्षसम्म पनि आफूहरु विघटनको अवस्थामा रहनु परेको भन्दै पूर्व एमालेको भातृ संगठन युवा संघ नेपाल र वाइसीएलका नेताहरूले सावर्जनिक रुपमै चिन्ता व्यक्त गरेका छन्।

एकता हुन नसकेपछि बुधबार छुट्टाछुट्टै रूपमा आ-आफ्नो स्थापना दिवस मनाउन बाध्य बनेका उनीहरुले नेतृत्वले वचन दिएअनुसार आगामी जेठ ३ सम्म कुर्ने बताएका हुन्।

युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा वाइसीएल नेपालका अध्यक्ष दीप शिखाले कार्यक्रमको निम्तो दिन जाँदा आफूहरुले कहिले एकता हुन्छ भनेर सोधेको र तीन गतेसम्म एकता गर्ने वचन दिएको बताए । ‘मैले नेतृत्वलाई जेठ तीन गते एकता हुन्छ त भनेर सोधेका छु’ उनले भने ।

कार्यक्रममा पार्टीका दुवै अध्यक्ष उपस्थित हुने भनिए पनि एक अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेकाले अध्यक्ष पुष्पकमल दाहालले त्यो ध्यानपूर्वक सुनिरहे। भाषणसँगै भरिभराउ हल भने तालीले गुन्जियो।

यस्तै वाइसीएलका उपाध्यक्ष  किरण पौडेलले पनि एकताबारे चिन्ता व्यक्त गरे। उनले भने, ‘वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीको स्थापना दिवस फरक फरक मनाउनु पर्‍याे। अब संयुक्त रुपमा मनाउने आशा व्यक्त गर्छौँ।’

यता, पार्टीका महासचिव विष्णु पौडेलले पार्टी एकताको दिन जेठ तीन गते युवा संघ नेपाल र वाइसीएलको एकताको घोषणा हुनेमा आफू विश्वस्त रहेको बताए। पार्टीको सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले छिटो भन्दा छिटाे अध्यक्षको मुखबाट एकताको घोषणा सुन्‍ने चाहना रहेको बताए।

तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार। 

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्